शताब्दी व्यक्त्तित्व इन्द्रमाया पौडेलको १०२ वर्षको उमेरमा निधन, एउटा इतिहासको अवसान

शताब्दी व्यक्तित्व इन्द्रमाया पौडेलको भाद्र ३ गते दुखद निधन भएको छ स्वर्गीय आमाको चिर शान्तिको लागि कामना गर्दै उहाँको सङ्क्षिप्त जीवनी यहाँ प्रकाशित छ l
एउटा आमा शिक्षित हुनु भनेको घर र समाज शिक्षित हुनु हो l यो उक्ति इन्द्रमाया पौड्यालको जीवनीमा ठ्याक्कै लागू भएको पाइन्छ l शिक्षाको उज्यालोले इन्द्रमाया पौड्यालका असहज दिनहरूमा सहज बनाउने काम गर्यो भने त्यही शिक्षाकै कारण गीता पाठ गर्दा झन्डै गाउँ निकाला हुनु पर्यो l यद्दपि शिक्षारूपी चेतनाको ज्योतिले इन्द्रमायाको आफ्नो जीवनमात्र उज्यालो बनेन परिवार र समाजलाई पनि परोक्ष लाभ दियो l
आफ्ना पिताजी दामोदर पण्डितको हिंडिरहने डुलिरहने बानी भएको कारण कसैले तेह्रथुममा जन्मेको भन्छन् त कसैले भारतको मणिपुरमा ? तर म आफूले थाहा पाउँदा चैं वर्मामा थिएँ भन्नु हुन्छ इन्द्रमाया पौड्याल l आफ्नो पाँच वर्षमा र दिदीको सात वर्षमा गुन्यूचोलीको स्मरण सहित ९ वर्षको उमेरमा १६ वर्षका कृष्णलाल पौड्यालसँग बैशाख महिनामा बिहे भएको सम्झना धुमिल रूपमा छ l
बिहे गरेको तीन चार दिन पछि माइत ल्याएर छोडेको र १५ वर्षको उमेरसम्म माइत नै बसेर संस्कृत, कर्मकाण्ड र ज्योतिष विधा पढेको उहाँको भनाई छ l इन्द्रमाया आफू पढेलेखेको भए पनि श्रीमान् औंठा छापे तर एकदम व्यवहारिक हुनुहुन्थ्यो रे इन्द्रमाया आफ्ना स्वर्गीय पतिको स्मरण गर्नुहन्छ l
जीवन सङ्घर्ष
आजभन्दा एकसय दुई वर्ष अर्थात् १९७९ मा जन्मेर वर्मा र नेपाललाई कर्मथलो बनाएकी इन्द्रमाया पौड्यालले भारतबाट बसाई सर्दै बर्मा र पछि नेपाल आउने क्रममा नेपाली, हिन्दी र बङ्गाली र बर्मेली भाषामा लेखपढ गर्न जान्नु भएको हो l २०२६ सालमा नेपाल आगमन जतिबेला युवराजधिरज वीरेन्द्रको बिहेको धुमधाम थियो l जन्मेका ८ छोराछोरीमा तीन छोराछोरी वर्मामै बिते भने भने दुई छोरा तीन छोरी लिएर ४७ वर्षको उमेरमा पति वियोग खप्दै नेपाल प्रवेश गरेर मोरङको कल्याणपुरमा सङ्घर्षपूर्ण जीवनयापन गर्दै आउनु भएकी एक संघर्षशील नारी हुनुहुन्छ l
मोरङमा महिनाको दुई रुपियाँ लिएर केटाकेटी पढाउने काम गर्दा २० जनाको ४० रुपियाँ कमाउन थालेपछि सहज हुँदै थियो व्यावहारिक जीवन तर त्यतिबेला एउटा ठग साहु आइलाग्यो l हराएको छोरो धर्मराजले साथीको उपचारको लागि घरजग्गा बन्धकी राखेर ऋण लिएको छ भनेर पाँच कठ्ठा जमिन, दुहुनो गाई साइकल, भाँडाकुँडा सबै उठाएर लग्यो र घर दुई हजार रुपियाँमा लिलामीमा चडाए प्रमाण माग्दा कुनै प्रमाण दिएनन् जबर्जस्ती गरेर उठिबास लगाए l गाउँमा एका दुई खराब मान्छे भए पनि सहयोगी र मर्का बुझ्ने मान्छेहरू प्रसस्त थिए l आपदमा सहयोग गर्ने थुप्रै मान्छे पाइयो l घरखेत उठिबास लागेर अर्को घरमा आश्रय लिन गएको बेला त्यो घर पनि आगलागी भयो l आगलागी भएको घर छोडेर अर्का छिमेकीको घर जाँदा त्यो घरको पनि छानो हावाहुरीले उडाएर लग्यो l ती दिनहरूमा आपद र विपत्ति पनि एकपछि अर्को गर्दै आइरह्यो l त्यसैले जिन्दगी सङ्घर्षको अर्को नाम जस्तो लाग्छ उहाँलाई l असहज जिन्दगीमा अनेक मोड छोडेर आज सहज र सम्मानित जीवन बाँचिरहनु भएको छ l
जनै,माला र सिलाइ- बुनाइबाट आम्दानी
पढाउने कामको अतिरिक्त अन्य काम पनि गर्नु भयो l हिन्दु संस्कृतिमा पूजापाठ गर्दा शुभ कार्य गर्दा धार्मिक अनुष्ठानका जुनसुकै कार्य गर्दा पनि जनै अपरिहार्य मानिन्छ त्यस समयमा कल्याणपूर चुनिबारीमा जनै बनाउने मान्छे थिएनन् l उहाँले जनैको धागो बनाउने काम गर्नु भयो त्यस्तै कागजको फूल, बनाउने हातले स्वेटर बुन्ने पन्जा मोजा बनाउने काम गरेर पनि आय आर्जन गर्नु भएको थियो l
तपाईले संस्कृत पढ्नु भएको छ रे हो ?
सबै संस्कृत व्यासले पढे, त्यसको आधा सुकदेवले पढे l अनि एक दुई पाना अरूहरूले पढे l एक-दुई श्लोक चाहिँ मैले पढें l त्यसलाई पनि पढेको भन्ने होला र ? यो सवाल र जवाफ उहाँको आत्मकथामा पाइन्छ l यसबाट के थाहा लाग्छ भने उहाँ एकदम साधारण र घमण्ड रहित महिला हुनुहन्छ l त्यो बेला धर्मशास्त्र पढेको,संस्कृत जानेको, व्याकरण पढेको,कर्मकाण्ड गर्न जान्ने नारी एकदमै अभिमानी हुनुपर्ने हो तर उहाँमा विनयी र सामान्य भाव पाइन्छ l ज्ञानको गहिराई बुझ्ने मान्छेमा हुने गुण शायद यही हो l पढेलेखेका आजका मान्छेलाई उहाँको यो दृष्टान्तले पक्कै केही सिकाउँछ l विद्यमा घमण्ड होइन सलीनता खोजिन्छ l
गीता पढ्दा झन्डै गाउँ निकाला
सूर्यग्रहण लागेको दिन नुहाइधुवाइ गरेर चिसै लुगा लगाएर तुलसीको मठमा बस्रेर गीता पाठ गर्दा पोथी बास्यो भनेर गाउँमा ठूलो हल्ला खल्ला भयो र अनिष्ट हुने सबै सखाप हुने हल्ला चलाइयो l पञ्चायत बस्यो l गाउँले सारै डराएका थिए उपद्रो हुन्छ कि भनेर ? त्यसैले पण्डितलाई सोध्ने काम भयो l पण्डितले भने सूर्य ग्रहण लागेको बेला गीताको पुस्तक चिसो लुगा लगाएर बाहिर खुला आकाशमा बसी पढेकी हुन् भने त्यो राम्रो काम भयो l
अब गाउँमा आगलागी, डकैती,चोरी महामारी,हैजा केही पनि हुँदैन र सङ्कट आउन लागेको भए पनि टर्छन् भनेर गाउँलेलाई सम्झाई दिए र गाउँ निकाला हुनबाट बच्नु भयो l त्यति मात्र होइन पछि गाउँमा संस्कृत पढाउने, कर्मकाण्ड चलाउने, न्वारन गरीदिने,चिना टिपोट लेखिदिने र व्रतबन्ध गराई दिने काम समेत गर्नु भयो l उहाँका यी यावत कर्म पछि गाउँलेलाई लाग्यो छोरी मान्छेले पढ्यो भने पनि काम लाग्दो रहेछ l यसरी शिक्षाको महत्व र प्रचार नारी शिक्षाको महत्व तत्कालीन समाजमा उहाँको कामबाट प्रमाणित भयो l १९९० सालको भूकम्पको सम्झना बोकेकी मान्छेले २०७२ को भूकम्पको विनाशकारी अवस्था पनि देख्नु भयो l
दोस्रो विश्वयुद्दको त्रासद अनुभव
ब्रिटिसले छोडेपछि बर्ममामा जापानको तीन वर्ष राज चल्यो l जापानी कानुन असाध्यै कडा हुन्थ्यो l जापानीहरू अर्काको केही चलाउन, खान हुँदैन भन्थे l अर्काको सम्पति र श्रीमती नछुनू भन्थे l राम्रो तर कडा शासन थियो l अमेरिका दोस्रो युद्द लड्दै वर्मामा आइ पुग्दा चीनसँग मिलेर जापानीलाई ढुटो पार्यो l त्यतिबेला बम गोला बारुद र फाइटर विमानको आतंकले ज्यान जोगाउन दिनरात खाल्डोभित्र बस्नु परेको थियो l
जतिबेला २२ दिनसम्म खाल्डोमा बस्नु पर्दाको आतंक र त्राश आजपर्यन्त झल्झली आँखामा आइरहन्छ भन्नु हुन्छ इन्द्रमाया l त्यही समयमा उहाँले आफ्नो ठुलो छोरो नेत्र गुमाउनु भयो l बर्मामा युद्दको क्रममा भएको लुटपाट,आगजनी, हिँसा र त्रास सबै देख्नु पर्यो l बैकहरू आगो लगाएर ध्वस्त पारिएको हीरामोती,सुनचाँदी लुटिएको, ओसारिएको र ओसार्न नसकेको सम्पति समुन्द्रमा फालिदिएको, लुटपाट मच्चाउनेहरू एकाएक धनी भएको सबै दृश्यहरू झल्झली आँखामा छन् l
छोराछोरीको शिक्षादीक्षा
जेठा छोरा धर्मराजले बुबा सानैमा बितेको कारण पारिवारिक दायित्वबढेर पढन पाएनन् l जेठी छोरी दिनाले भने नर्सिंङ् पढेर सरकारी नोकरी गर्न पाइन् l माइली छोरी, बिएस्सी,नर्सिंङ् र बेलायत अस्पतालमा नर्स, कान्छो छोरा घनश्याम नेपालबाट इन्जिनियरिंङ्मा ब्याचलर्स र बेलायतबाट मास्टर्स, कान्छी छोरी बिना अर्थात् विमला नेपालबाट कृषिमा ब्याचलर र बेलायतबाट एम.एस्सी अनि नेदरल्याण्डबाट पीएच.डी बिमला राई राष्ट्रिय सभा सदस्य र पूर्व मन्त्री हुनुहन्छ l आफू पनि शिक्षित भएको कारण छोराछोरीलाई पढाउने र आफ्नै खुट्टामा उभ्याउने धोको उहाँको करिब करिब पूरा भएको छ l एकजना छोरी विद्यावारिधि समेत गरेर मन्त्री पनि भइ सक्नु भएकोले एउटी आमाको शिक्षाप्रतिको लगाव र मोहको प्रतिफल पौड्याल परिवारमा मात्र नभएर समाज र देशले पनि लाभ लिएको देखिन्छ l
तीर्थाटन र वैदेशिक यात्रा
इन्द्रमाया पौड्यालले दुखको महासागर मात्र देख्नु भएन सुखको लौकिक स्वर्गको समेत अनुभूति गर्न पाउनु भएको छ l उहाँलाई जीवन अनेकौं संयोगहरू जस्तो लाग्छ l धर्म,संस्कार, संस्कृति र दश कर्मका कुरा सबै सबैको ज्ञान छ l धार्मिक प्रवृत्ति र परिवारको भएको कारण सामर्थ्य भएको बेला उहाँले देशका धेरै धार्मिक स्थल र भारतको चारधाम तीर्थाटन गर्नु भएको छ l
भारत बर्मा र नेपालका परिवेश उहाँका समयका पदचाप भएका मुलुकहरू हुन् भने भ्रमणको क्रममा इन्द्रमाया बेलायत, भारत र अष्ट्रेलिया उहाँ पटक पटक जानु भएको छ l
आत्मकथा शताब्दी-यात्रा २०८० बैशाखमा प्रकाशित गर्नु भएकी इन्द्रमायाले आफ्नो समाज इतिहास र सङ्घर्ष प्रेरणालाई अमूल्य सङ्ग्रह बनाएर राख्नु भएको छ l जहाँ उहाँले आफ्ना पिताजीद्वारा लेखिएका आकर्षक चिठी समेत सँगालेर राख्नु भएको छ भने आफ्नो जीवनको बृहत र व्यापक पक्षको पायो खोल्नु भएको छ l तत्कालीन नेपाल भारत बर्माको सामाजिक जीवन, दोस्रो विश्वयुद्दको विष्मयकारी अवस्था नेपालको सामाजिक चेत राजनीतिक जागरण, रहन सहन संस्कृति, चेतना, आर्थिक र सामाजिक स्तर आदिको विशेष संस्मरण राख्नु भएको छ l
जेष्ठजान इन्द्रमाया पौडेललाई छोरी पढाउने चेत आफ्ना पिताजीले भरीदिनु भएको रहेछ l ताप्लेजुङको थुप्ले डाँडाको तोक्मा पोखरी किनारमा आश्रम बनाएर केटीहरूलाई पनि पढाएको र त्यहाँ आफ्ना पिताजी दामोदर शर्माले भनेको प्रसंग उल्लेख गर्नु भएको छ l जहाँ भनिएको छ : “नारीले वेद पढ्नु हुन्छ, पढन पाइन्छ l किनभने शास्त्रले सावित्री र सरस्वतीको हातमा वेदको पुस्तक राखिदिएको छ l वेद नारीको सम्पत्ति हो, नारीबाट वेद खोसेर हामी भाले हुनु अन्याय हो l’’ आफ्ना पिताजीको यो सोच र दिमागी उपज नै आफ्ना छोराछोरी पढाउने सोचको अवधारणा भएको इन्द्रमायाको संस्मरण छ l
जीवन दर्शन
जीवन सङ्घर्ष र दुखको मैदान हो यहाँ दुख मात्र छैन सुख पनि छ l सुख पाउन आइपर्ने कुनै पनि परिस्थतिको सामना गर्नुपर्छ आत्तिनु हुन्न l जीवनको भोगाइ दुख दिन मात्र होइन पाठ पढाउन आउँछन् र केही सिकाएर जान्छन् बस् दुख सँग हिम्मत हारेर लत्तो छोड्नु हुन्न समय सबैको आउँछ भन्ने विश्वास र दृष्टिबोध उहाँमा पाइन्छ l पूर्व सभासद डाक्टर बिन्दा पाण्डे लेख्नु हुन्छ: ‘समाजका अन्धविश्वास र पछौटेपनका विरुद्द एक्लै लडन अघि सर्ने माताको अठोट ठुलो हिमालयजस्तो अजेय लाग्दछ l निरन्तर दुख तथा समस्याहरूलाई आफूले काँधमा बोकेर आफ्ना सन्तानहरूलाई जसरी पनि शिक्षा र ज्ञानको उज्यालोले प्रज्वलित गर्ने माताको योगदान परिवारको लागि मात्र होइन देशको लागि पनि हो l’ डाक्टर पाण्डेका यी भनाइमा पनि जेष्ठजन इन्द्रमायाको जीवन दर्शन प्रतिध्वनित हुन्छ l
पत्रकार युवराज घिमिरे लेख्छन् ; ‘जेन्डर तथा लैङ्गिक समानताको आवज चर्केको युगमा पनि आमाको दुधको मूल्य केही रुपियाँले तिरेर ऋणमुक्त हुने सोच हामीकहाँ आइसकेको छैन, तर त्यस्तो अवस्था आइहालेमा इन्द्रमाया पौड्याल (माताजी) जस्ता व्यक्तित्वहरू के यो धर्तीमा थिए ? भन्ने विषय यथार्थभन्दा अनुसन्धानको विषय बन्नेछ बढी l’ यसर्थ इन्द्रमायाको जीवनबाट पाउने र अध्ययन अनुसन्धान गर्ने विषय यथेष्ट पाउन सकिन्छ l
स्मरणीय : प्रस्तुत गाथा राष्ट्रिय ज्येष्ठ नागरिक कोषद्वारा २०८० आश्वीनमा प्रकाशित शताब्दी व्यक्तित्व किताबमा समेटिएको जसलाई उक्त किताबका अतिथि सम्पादक सञ्जीव कार्कीले तत्कालीन ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्कीको निर्देशनमा तयार गरेका थिए l सम्पादक Akabarey.com l
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...
विश्वमा मान्छेको अधिकतम आयु १५० वर्ष भएको अनुसन्धानको निस्कर्ष छ l हाम्रै देसमा पनि सुनसरीका वीरनारा...