कीर्तिशेष सत्यमोहन जोशी स्मृति दिवस - सञ्जीव कार्की

भनिन्छ मृत्यु जन्मदा नै करारनामा गरिएको हर जिन्दगीको अन्तिम सत्य र पहिलो सर्तनामा हो l मृत्यु नियमित तर आकस्मिकता हो l आउँछ तथापि कतिबेला थाहा पत्तो हुन्न l मृत्यु ज्ञात हुने विषय थियो भने शायद मान्छेको जीवन आज जे छ जस्तो छ त्यस्तो नहुन सक्थ्यो l त्यसैले मृत्यु आउँछ र टप्प टिपेर लैजान्छ l
सय वर्ष जीवन जिउने मान्छे प्राय कमै हुन्छन् l एक शताब्दी र तीन वर्ष यो धरामा सक्रिय लोभलाग्दो जीवन व्यतित गरेर सत्यमोहन जोशी (बाबु शङ्करलाल र आमा नोगला देवीको सन्तान भएर बखुम्बहाल ललितपुर १९७७ बैशाख,३० २०७९ असोज ३० ) कीर्तिशेष भएका थिए l जन्मको वैशाख ३० र मृत्युको असोज ३० जोशीका संयोग हुन् l
विश्वमा मान्छेको अधिकतम आयु १५० वर्ष भएको अनुसन्धानको निस्कर्ष छ l हाम्रै देसमा पनि सुनसरीका वीरनारायण माझीले १४१ वर्ष बाँचेर नेपालका कीर्तिमानी नागरिक बनेका छन् l हाल नेपालको औसत आयु ७० वर्ष भएको विभिन्न अध्ययन अनुसन्धानले बताएको छ l अबको १५,२० वर्ष भित्र विश्वका मान्छेको औसत आयु बढने र दक्षिण कोरियाली नागरिकहरूको आयु सबैभन्दा लामो हुने तथ्य बाहिरिएको छ l १०३ वर्ष बाँचेर ललितपुरका सत्यमोहन जोशीले हाल करिब ७० वर्ष औसत आयु भएको नेपाली जीवन भन्दा ३३ वर्ष लामो आयु गुजारे l यो आफैमा आश्चर्य पनि हो l अर्को आश्चर्य जोशीले आफ्नो वृद्दकायलाई एकदम सक्रिय र लोभलाग्दो जिन्दगीमा परिणत गरे l
विरामी हुँदाका बखतभन्दा अरू बेला जोशी लेखन अध्ययन र अनुसन्धान मै केन्द्रित हुन्थे l उनले केवल लामो आयु मात्र जिएनन् मृत्युपछि पनि अभौतिकरूपमा सदा बाँचिरहने योगदान दिए l उनी बहुआयामिक व्यक्ति हुनाले कला,साहित्य संस्कृति र पुरातत्वविद् भएर लामो समय काम गरे l नेपाली वाङ्मयका अथक साधक,विशिष्ट व्यक्ति, ज्ञानको मुहान, देशको अभिभावक जोशी नेपाली,नेवारी र अंग्रेजी भाषामा विभिन्न विषयका करिब ६ दर्जन भन्दा बढी सिर्जनात्मक र अनुसन्धानमुलक कीर्तिका स्रष्टा हुन् l जोशीका अनेकन विधामा कलम श्रम र सीप चलेको थियो l उनी काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, समालोचक, कोशकार अनुवादक र सम्पादक व्यक्तिको रूपमा प्रसिद्दी प्राप्त व्यक्ति हुन् l
लोक साहित्य, लोक संस्कृति,कला र कलाकार, पुरातत्त्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म दर्शन आदि विषयका अनूदित र मौलिक कृति प्रकाशन गरेर कुशल अन्वेषकको सम्मानले पनि प्रतिष्ठित थिए l जागिरे जीवनमा राष्ट्रको प्रशासनिक सेवा, औधोगिक सुपरिवेक्षक, जनसंख्या विभागका डाइरेक्टर बनेर पनि नेपाल र नेपालीको सेवामा तल्लीन थिए l त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा विशेषज्ञ प्राध्यापक र चीनमा नेपाली भाषा प्रशिक्षक भएर शिक्षा क्षेत्रमा पनि आफ्नो विज्ञता निर्वाह गरेका थिए l नेपालको प्राज्ञिक उन्नयनको लागि नेपाल प्रज्ञाप्रतिस्ठानको सदस्य सचिव र नेपाली भाषा एकेडेमीको कुलपति बनेर प्रज्ञाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए l कर्णाली प्रदेसको भाषा साहित्य र संस्कृति प्रकाशनमा समेत उनको विशेष रुचि र योगदान रहेको थियो l
संस्कृतिविद् सत्यमोहन जोशी थुप्रै सङ्घ संस्थाका संस्थापक र संचालक साथै सल्लाहकार र अभिभावक थिए l उनले राष्ट्रलाई लगाएको गुण र उनको योगदानको कदर गर्दै नेपाल सरकार र अनेक संस्थाबाट सम्मानित र पुरस्कृत भएका थिए l सुप्रवल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, नेपाल सरकारले उज्ज्वल कीर्तीमान राष्ट्रदीपले सम्मानित गरेको थियो l काठमाडौँ विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिको उच्च प्राज्ञिक उपाधिबाट विभूषित जोशी वाङ्मय शताब्दी पुरुषको सम्मानले २०७४ बैशाख २१ मा नेपाल सरकारबाट विभूषित छन् l
हाम्रो लोक संस्कृति, २०१३, नेपाली राष्ट्रिय मुद्रा २०१७ र कर्णाली लोक संस्कृति २०२८ गरी नेपालको नोबेल पुरस्कार मानिने मदन पुरस्कार समेत तीन पटक प्राप्त गर्ने लेखक सत्य मोहन जोशी हुन् l जन्म शताब्दी २०७६ मा वाङ्मय शताब्दी पुरुष उल्लेख गरेर नेपाली २५ सयको र एक सयको सिक्का पनि नेपाल सरकारले निष्कासन गरेको छ l जीवित हुँदै हुलाक टिकट छापिने पहिलो व्यक्तिको सम्मान पनि जोशीको भागमा परेको छ l
जोशीको तस्बिर अङ्कित १० रुपैयाँको हुलाक टिकट २०७७ माघ २० गतेप्रकाशित गरिएको थियो l शताब्दी वर्ष, लामो आयु बाँचेर पनि जोशी कति आधुनिक र समाज बुझेका मान्छे थिए भन्ने कुरा उनले आफ्नो शरीर किष्ट अस्पताललाई दान दिएबाट थाहा हुन्छ l जोशीको शरीरमाथि किष्ट मेडिकल कलेजका विद्यार्थीहरूले खोज र अनुसन्धान गर्नेछन् l जीवित रहँदा पनि शिक्षा र खोज अनुसन्धानमा सरिक जोशी मृत्यु पश्चात पनि शिक्षा आर्जन गर्ने थलोलाई शरीर दिएर खोज अनुसन्धान प्रयोगका विषय बनेका छन् l
उनको मृत शरीर अस्पताललाई दान दिएको कारण उनलाई नेपाल सरकारले उच्च सम्मानका साथ सलामी दिएर उनको जन्म कुण्डली सङ्खमूल स्थित बागमतिमा घाटमा जलाएर सेलाएको थियो l जोशी सहज मृत्यको पक्षमा थिए र आफ्ना अन्तर्वार्ताहरूमा प्राय भन्थे ‘मृत्यु अवश्यम्भावी र नियमित आकस्मिकता हो मृत्युसँग डर लाग्दैन’ उनको मृत्यु चिन्तन डरमा आधारित नभएर सहजबोधमा आधारित थियो l मृत्युलाई सहज बोध गर्न सकियो भने मृत्युको भयले मान्छेलाई तर्साउदैन भन्ने विश्वास छ l
सत्यमोहन जस्ता व्यक्ति जन्मन कयौ वर्ष लाग्छ उनी इतिहासका पनि इतिहास दुर्लभ पात्र थिए l काठमाडौँ उपत्यकामा जन्मेर पनि नेपालका गाउँ गाउँ दूर दराज घुमेर अध्ययन अनुसन्धान गर्ने जोशी नेपाल बुझेका नेपाल देखेका र नेपाल लेखेका प्रतीभा हुन् l उनलाई नेवारी संस्कृतिका इन्साइक्लोपेडिया र नेपालका बारे धेरै ज्ञान भएका मान्छेको रूपमा चित्रित गरिन्थ्यो l उनको १०२ औ जन्म दिन पारेर पत्रकार गिरिस गिरीले जोशीको आत्मकथा सार्वजनिक गरेका थिए l जुन एउटा इतिहास र महत्वपूर्ण दस्तावेजको रूपमा अनुसन्धाताहरूका लागि प्रयोग गर्न मिल्ने खोजको विषय हुनेछ l
औपचारिक कार्यक्रममा दौरा सुरुवाल पहिरिने जोशी स्वदेशलगायत विदेशमा आफ्नो पहिचान राख्नुपर्छ भन्ने मान्यतामा दृढ थिए भन्छन् उनलाई नजिकबाट चिन्नेजान्नेहरू l नेपालको संस्कृतिका अध्ययन अनुसन्धान दातालाई कुनै कुराको सूचना लिन र डेटा कलेक्शन गर्न अर्थात् कतै अलमल भए जोशीलाई फोन गर्नासाथ त्यसको सामाधन निस्कने कुरा उनको बारेमा अनुसन्धान गरेका लेखहरूमा पढन पाइन्छ l
यतिसम्म कि उनी जहिलेदेखि होस् समाल्ने भए त्यो बेला देखिको नेपाली इतिहास संस्कृति र राजनीति उनी हुबहु सुनाइदिन्थे l उनी नेपालको जिउँदो र जाग्दो इतिहास थिए l नेपालको धेरै र महत्वपूर्ण, ऐतिहसिक राजनीतिक घटना र परिवर्तनका साक्षी जोशी ती घटनाक्रमले नेपालको संस्कृति र परिवर्तनलाई पारेको असरबारे धाराप्रवाह घन्टौ भनिदिन्थे l यो पंक्तिकारले पनि उनको मुखबाट विभिन्न समयमा ऐतिहासिक घटनाक्रम बारे सुन्ने मौका पाएको थियो l
जीवन यात्राको यो लामो दर्वियानामा उहाँका सबै शारीरिक अवयवले साथ दिएका थिए l श्रवण शक्ति र आँखा तन्दुरुस्त थिए l चिर,चिरस्मृति.नुतन सोच, रचनात्मक सिर्जनात्मक सक्रियता, सकारात्मक धारणा सबै पुस्ता र स्रष्टा लगायत समाजका हरेक मान्छेसँगको निकटता पठनमा सदैव रुचि र कुनै पनि कार्यक्रममा अन्तिमसम्म बस्ने र सुन्ने धैर्य जोशीका शताब्दी पार गर्दा पनि नथाकेका शारीरिक र मानसिक विशेषता थिए l
इर्श्या,राग द्वेष भय र क्रोधबाट मुक्त परमानन्दको आनन्दमा भए जस्तै देखिनु जोशीका गुण थिए l ठुलो आग्रह र आशा काँही कतै भएको अनुभूति भेटन जानेले संगाल्न पाउँदैनथे l जीवन वोध र मृत्युको सहजबोध जोशीका विश्वास र आस्था जस्ता लाग्थे l लामो जीवन बाँचेर धेरै योगदान दिएर यथेष्ट सम्मान पाएर जोशी अस्ताएका हुन् l जुन धेरै मान्छेलाई यस्तो संयोग जुर्दैन l मरेपछि मात्र सम्मान गर्ने समाज र संस्कृति भएको देशमा जीवितै यति धेरै सम्मान र इज्जत पाएको यो दुर्लभ घटना हो l उनको मृत्यु पश्चात नेपालीले श्रद्दापूर्वक यस्ता यस्ता संज्ञा र विशेषण लेखेर उनलाई श्रद्दान्जली दिएको पाइयो l
नेपालका सच्चा सपुत, नेपाली रत्न, ज्ञानोदयका सूत्राधार राष्ट्रका गौरव, राष्ट्रिय सम्पदा, अजम्बरी राष्ट्रिय प्रतीभा, ओजस्वी व्यक्तित्व,स्वच्छ छविको नेपाली,सिर्जनात्मकताका धनी, कर्मयोगी, सिद्द पुरुष, सर्वोच्च नागरिक, चिरस्मरणीय व्यक्ति आदि, इत्यादि l
समाजका सवै वर्ग तह तप्का र समुदायका प्रेरणास्रोत जोशी एउटा सजीव इतिहास थिए l जसको कर्मले नेपाल आज उज्यालो पनि छ l कतिपय तत्कालीन सोच समय र चेतनाले उनका कृतिलाई आजको चेतनाले आलोचना पनि गर्न सक्छ तर उनले जे लेखे त्यो कसैकाप्रति आग्रह, कुनै समुदायलाई होच्याउन र हेला गर्न नियतवस लेखेका होइनन् तिनलाई त्यही रूपमा बुझ्नु बिश्लेष्ण गर्नु र मूल्याङ्कन गर्नु आवश्यक हुन्छ l
संस्कृतिविद् सत्यमोहन जोशीको महाप्रस्थान भइसक्यो l उनले सार्थक र सक्रिय जीवन बाँचेर गए l अब उनका योगदान र रचना कर्म मात्रै हाम्रालागि बाँकी छन् l आफ्ना अमर कृतिका माध्यमबाट मात्र उनी अभौतिक रूपमा जीवित छन l उनै कीर्तिशेष सत्यमोहन जोशीप्रति भावपूर्ण श्रद्दान्जली ! हामी सम्झिरहने छौ l नेपाली भाषा,साहित्य, कला र संस्कृतिका महातपस्वी महायात्रामा निस्केको दुई वर्ष पूरा भयो l सत्यमोहन जोशीको स्मृति दिवस असोज ३० को पुण्यतिथिमा हार्दिक श्रद्दान्जली l
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...
धनमाया विश्वकर्माहरूको रगत,पसिना र आँशुले प्राप्त लोकतन्त्रको फल खानेहरूलाई लोकतन्त्र कसरी प्राप्त भ...