भौतिक मूल्य र नैतिक मूल्य एकै होइनन्-सञ्जीव कार्की

नैतिकता सामाजिक मूल्यको सिद्धान्त हो, नैतिकता र आचरण हो, जीवन पद्धति हो । नैतिकतामा एकरूपता नहुनु वर्तमान समयको मूल समस्या हो, अन्तर्विरोध हो, त्यसैले नयाँ सन्दर्भमा नैतिकताको पुनर्व्याख्या आवश्यक छ ।नैतिकतालाई आ-आफ्नो अनुकूलतामा परिभाषित गरिन्छ त्यसैले नैतिकता स्खलनको आरोप नखेप्ने मान्छे कमै छन् । इमानदार हुनु भनेको कमजोर बन्नु झैं भएको छ । निर्धन हुनु भनेको नालायक हुनु सम्झिन थालिएको छ । धन प्राप्तिको मार्गमा बहस छैन तर धनलाई र कमाइलाई इज्जत गरिन्छ । कमाइ त्यसको इज्जतको हुन्छ जसले नीति र निष्ठा नियम र कानुको मातहत स्वाभाविक धन आर्जन गरेको होस् । तर समाज र समय केवल व्यक्तिसँग भएको धन र उसले पाएको पदलाई हेर्छ धन प्राप्ति र पद प्राप्तिको लागि गरेको नाजायज हर्कतलाई हेर्दैन l
कुनै पनि मानक बन्ने क्रममा त्यहाँ लामो समय अभ्यास भएको धर्म, परम्परा, संस्कृति, विज्ञान र कानुनको प्रत्यक्ष अप्रत्यक्ष निगरानी र साझेदारी रहेको हुन्छ । सामाजिक मूल्यको स्थापनार्थ सामाजिक, धार्मिक र राजनैतिकलगायत अन्य क्षेत्रका अगुवाको देन महत्वपूर्ण हुन्छ । समाजको आफ्नो छुट्टै मानक, नैतिकता, सामाजिक समझ र व्यवहार हुन्छ । सामाजिक व्यवहारको आलोकमा नैतिकता निसृत हुन्छ । नैतिकता सामयिक पनि हुन्छ । विगतमा नैतिक लाग्ने कुराहरू आज अनैतिक र अवैधानिक बनेका हुन्छन् त्यसैले सामयिक नैतिकताको पुनरुत्पादन हुनु जरूरी छ । नैतिकताको पुननिर्माण प्रक्रियाको पनि थालनी आवश्यक छ । भुल्न नहुने कुरा, जुनसुकै मानक बन्न र भत्कन लामो समय लाग्छ ।
भौतिक मूल्य र नैतिक मूल्य एकै होइनन् ।
नैतिकता त्यस्तो चिज, व्यवहार र आदर्श हो जसले भौतिक मूल्यलाई कहिल्यै प्राथमिकीकरण गर्दैन । नैतिक मूल्य र उचाइ अंकगणितीय जोड घटाउमा भेटिन्न । कतै गणितमा नैतिकता भेटियो भने अच्युत रहँदैन । आजकल नैतिकताको पनि व्यापार भएको पाइन्छ । नैतिक देखिनेहरू पनि बिकेका र चुकेका पाइन्छन् । लोभ र मोहमा फसेका देखिन्छन् । सार्वभौम नैतिकताले बाटो बिराएको देखिन्छ, अत: नैतिकताको पनि पुनरावलोकन, पुनर्व्याख्या र पुनर्पुष्टि जरूरी देखिएको छ ।
कुनै पनि कुराको औचित्य त्यतिबेलासम्म रहन्छ जतिबेलासम्म उसले आफ्नो प्राकृत स्वभाव गुमाउँदैन, उसको धर्ममा आँच आउँदैन । ऊ अप्रश्नीय बन्छ । जब ऊ आफ्नो धर्मबाट विचलनमा पुग्छ तब उसको बारेमा पूर्व मान्यता, दर्शन र मानकबारे सोच मग्न बन्ने स्थिति पैदा हुन्छ । हाम्रो समाजमा प्राचीनकालदेखि स्थापित नैतिक मूल्यमा गिरावट आएको छ । कतिपय अवस्थामा पुरानो अभ्यास र मानक भत्काउने स्वाभाविक प्रक्रिया हुन्छन् । तिनलाई भत्काएर नवनिर्माणको खाँचो हुन्छ कति अस्वाभाविक रूपमा स्खलनमा जाने हुनाले नव मान्यता स्थापित गर्न विहंगम विमर्श चलाउनु सामयिक हुन जान्छ । जसको लागि समाजमा अभ्यास गरिएको धार्मिक कानुन, त्यसले पारेका प्रभाव र समाजमा छोडेको अमिट छाप, मनोविज्ञान र विश्वासबारे तथ्यमा पुग्ने यत्न गर्नुपर्छ ।
विसर्जनको बाटोमा नैतिकता
समाजमा उच्च नैतिकता र संवेदनशीलता प्रदर्शन गरेर कर्तव्य निर्वाह गर्नुपर्ने डाक्टर बिरामीको उपचारमा कम औषधि बेचबिखनमा बढी सक्रिय हुन थाल्यो । डाक्टर कम व्यापारी ज्यादा हुन लाग्यो । शिक्षाधिकारी पद प्राप्त गर्न रकम बोलकबोल गर्दै हिंड्न थाल्यो विश्वविद्यालयको प्राध्यापक,न्यायालय मुद्दा किनबेच मोलमोलाइको अखडा बन्यो । वकिल र न्यायाधीश विचौलिया र न्याय खरिद–बिक्रीका एजेन्ट बन्न पुगे । न्यायालय कुनै कर्पोरेट बिजनेस हाउस झैं भएको छ । प्राविधिक जनशक्ति प्राक्टिस छोडेर प्रवचनमा जोड दिन थाल्यो । रेडक्रस भ्रष्टाचारको मिसनमा फेरियो । धर्मशाला पाँच तारे होटलमा परिणत भयो । मन्दिर, चर्च,गुम्बाका पुजारी, पादरी र लामाहरूको व्यापारिक दोकान बन्दैछन् l बुद्ध मार्ने र हिटलर पाल्ने महान मान्छेको दर्जामा उक्लियो ।
नागरिकलाई दिने अधिकार संविधानमा फर्जी बनेर बस्यो । मान्छेलाई जातको ट्याग भिराएर अछुत बनाइयो । व्यवहारमा छुवाछुत र भेदभाव हटेन भनेर गुनासो गर्ने नागरिकलाई समानता र अधिकार संविधानमा छ भनेर सरकार गैरजिम्वेवार बन्छ । यस्तैगरी नागरिक अधिकार खोज्ने तर कर्तव्य बिर्सने बन्यो । राज्यका सबै निकाय र अवयव अगतिशील बन्न थाले तब नैतिकता, इमान, विश्वास र दर्शनको जग भत्कँदै, चर्कंदै, हल्लँदै जान थाल्यो । यही विचलन, अवसाद, विसर्जन, वियोग, नैतिकताको क्रयविक्रय, क्षति र घाटालाई उकासेर नैतिकता र धर्मको पुनः परिभाषा अपरिहार्य भएकोले नैतिकताको पुनर्व्याख्या जरुरी भनिएको हो ।
समाज सधैं अवैज्ञानिक र परम्परागत तवरले चल्न सक्दैन । कतिपय असामयिक मानक र बार भत्काएर पुनर्संरचना गरी नयाँ इँटा राख्नुपर्छ । नूतन संस्कृति र संस्कारको थालनी गर्नुपर्छ । पूर्वीय दर्शनले प्रतिपादन गरेका विराट मूल्य र अस्तित्व जोगाउन पनि यसको कमजोरी सुधार गरेर आगामी पाइला चाल्नुपर्छ । नेपालले पनि हिन्दु धर्म र यसको विराट दर्शन, सौन्दर्य र ज्ञानको अथाह भण्डार बचाइ राख्न यहाँ अभ्यास गरिएका जातीय छुवाछ त र विभेदजन्य संस्कार, संस्कृति र परम्परालाई जरैदेखि उन्मून गर्न अभियान चलाउन जति ढिला गर्यो, नोक्सानी त्यति नै बढ्नेछ । गैर दलितलाई अमानवीयपनको कलङ्क झन् गाढाभएर रहने छ l
हिन्दुधर्मको अभ्यास गर्नेहरूमा जातीय छुवाछुत छैन भनेर सफेद झूट बोल्ने र ढाकछोप गर्ने, टालटुल पार्ने काम आत्मघाती बन्नेछ र मानवता विरुद्धको अपराध र मानवीय सभ्यतामाथिको भद्दा मजाक हुनेछ । कमजोरी हटाएर यसको मूल्यबोध गर्न जति ढिला गर्यो, उति हिन्दु धर्म संकुचनमा परेर सङ्कटोन्मुख हुने पक्का छ । एउटा धर्म दर्शनको विलुप्ति उसकै कारण होला तर उसको उपस्थितिमा, उसकै दार्शनिक मान्यताले मान्छेको बाँच्न पाउने हक खोसिनु किमार्थ स्वीकार्य हुन्न ।
समस्या छन् भने तिनको निदान र उपचार पनि छ । ज्ञान विज्ञानको युगमा अन्धविश्वास र अन्ध तर्कलाई विस्थापित गर्दै धर्म, दर्शन र संस्कृतिले अँगालेका मानवहितकारी तत्वको आत्मसात् र अमानवीय रुढिग्रस्त विचारलाई तिलाञ्जली दिएर समयको रथलाई आफू अनुकूल बनाउनुपर्छ । धर्म र अप्रमाणिक भनेर सबै कुरा त्याज्य र विस्मृतिमा लैजान लायक छैनन् मानवीय गुण र भावनाले ओतप्रोत दर्शन पनि छन् । नकारात्मक कुरालाई तिरस्कार गरेर सकारात्मक ऊर्जा पसंवहन गर्ने हार्दिक विश्वासहरू पनि छन् l
चर्चा र विवादको घेरामा रहेको मनुस्मृति फगत घृणाको लायक मात्र छैन राज्य सञ्चालनार्थ अति आवश्यक सोच र दर्शन पनि छन् । समाजलाई यतिका वर्ष बाँधी राख्ने कडी पनि हो मनुस्मृति । तर मान्छेलाई मान्छे नसम्झने त्यो दुर्गुण र विभेद निन्दनीय र निषेधयोग्य छ । सकारात्मकताको ग्रहण र नकारात्मकताको निषेध आजको सङ्कथन हो ।
दर्शन, विचार, संस्कृति र परम्परा नभएको समाज र मान्छे हुँदैन । त्यसैले असल पक्षको प्रवर्धन गर्दै खराबलाई त्याग्ने नवसंस्कृति बसाल्न देशका प्राज्ञिक, बौद्धिक र प्रबुद्ध वर्गले धर्म नैतिकताको पुनर्व्याख्याको अभियानमा आफूलाई समाहित गर्दै लैजानुपर्छ । सर्वस्वीकार्य नैतिकताको भाष्य त संसारमा कहींकतै नहोला तर अधिक स्वीकार्य मान्यताको वैचारिक बहस निर्माण गर्नुपर्छ । मस्तिष्क मन्थनको परिपाटी बसाउनु पर्छ । सत्यलाई दृष्टिगोचर गर्ने तरिकालाई फराकिलो बनाउनुपर्छ l सामुन्नेमा देखिएको भन्दा फरक सत्य पनि हुनसक्छ भनेर दृष्टि र विश्लेषणको फराकिलो पाटो बारे पनि आमl मान्छेलाई सूसुचित गर्नुपर्छ l
कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश धर्म दर्शन विशेषगरी वेदको व्याख्या गरिंदा आएका विकृत कुराहरू महिला र शूद्रको नाममा हुने विभेदजन्य पक्षलाई सच्याउने र हिन्दु धर्मले विभेद गर्दैन भन्ने नीति मीमांसालाई पालन गर्दै मार्ग तय गर्न सकिएन भने भयङ्कर दुर्घटना निम्तिने खतराबाट सम्बद्धपक्ष सरोकारवाला र राज्यको नीति निर्माण तहमा बस्नेहरू सचेत रहनुपर्छ ।
विनिर्माणको अमृतमय अवसर
अग्नि (आगो) नै सत्यको उद्घाटन गर्ने उच्चतम शिक्षक भनेर परिचय गराउने सर्वप्राचीन ऋग्वेद पक्कै सामान्य विद्या र लहडी लेखन होइन । वेद भित्र के छैन कति गहन जीवन, दर्शन र नीति नियमको विज्ञान छ । कति काल्पनिक र भविष्य द्रष्टा विचार छ l स्वामी प्रपन्नाचार्यले उसै ‘वेदमा के छ’ लेखेका होइनन् ? त्यसैगरी वेद भित्र त्याज्य कुरा र प्रसंग पनि छन् । वेदलाई आजको युग चेतनाले अपौरुषेय मान्दैन । वेद, पुराण, महाभारत जस्ता कृति मानव लिखित साहित्य, धर्म र दर्शन हुन् । यिनको गुदी ग्रहण गर्ने र बाँकी प्राचीन सभ्यता र इतिहास साहित्य र तत्कालीन चेतना भनेर मात्रै बुझ्ने बुझाउने गरियो भने यसबाट उत्पन्न हुने विवाद र झंझटमा फसेर अलमल परेर बस्नु पर्दैन । वेद ज्ञानको अथाह भण्डार हो । यद्दपि यसको व्याख्या विश्लेषण र आजको चेतनाबाट हेर्दा कतिपय प्रसङ्ग निन्दायोग्य छन् ।
आजपर्यन्त रहस्यको गर्भ भित्र थुप्रै कुरा छ भनेर विज्ञानले स्वीकार गरेको छ भने ई.पू १८०० देखि १५०० वर्ष पहिले रचनाको अनुमान गरिएको ग्रन्थलाई आजको चेतना र चस्माले हेर्नु वान्छनीय हुन्न । यसको आफ्नै सामाजिक मूल्य र नैतिक धरातल दार्शनिक मत रहेको छ ।
यद्दपि पुरानो हुने बित्तिकै यो समग्रमा सही,धर्ममा आधारित भएको कारण अप्रश्नीय छ र हो भन्ने चिन्तन विल्कुल गलत हो । अतीतमा जे सही र मानक मूल्य हुन्थ्यो सो आज हुन, नहुन सक्छ त्यसैले मूल्यांकन, पुनर्मूल्याङ्कन, पुनरावलोकन, पुनर्ताजगी विज्ञानको नियम र गति हो । विवेकपूर्ण सचेतता हो । खाँचो वेद ज्ञानको पुनर्व्याख्या पनि हो ।
जतिसुकै प्राचीन सिद्धान्त र मान्यता भए पनि (सामयिक) अहिलेको युग विज्ञान र परिवेश सुहाउँदो बन्न सकेन भने त्यसको मृत्यु अवश्यंभावी छ । मानव निर्मित शास्त्रबारे मानवले प्रश्न गर्ने पुनर्पठन गर्ने अधिकार राख्दछ । आजको सरोकार मृत्युको होइन कालजयी कृतिको अमरत्वको लागि हो । जीवनका जटिलतालाई ज्ञानको मार्ग र दर्शनद्वारा निरूपण गर्न सकिन्छ भन्ने तेजस्वी मन्त्रलाई पालना गर्ने हो भने कुनै पनि कुराको परिमार्जन शास्त्रसम्मत नै मान्न सकिन्छ । आफैंले आफैंलाई चिन्नु, चिनाउनु पूर्वीय दर्शनको मूल स्थापना भएको हुनाले कुनै पनि मृत धारणा बोकेर कुद्नु पनि यस धर्मको मर्म विपरित हुन जान्छ भन्ने तथ्य र तर्क यसका अनुयायीहरूले बुझ्नुपर्छ । दर्शन बुद्धि तत्व र ज्ञानको विषय भएको हुनाले तत्वको साक्षात्कार र अनुभूति दर्शनको ध्येय हो ।
पौरस्त्य दर्शनशास्त्र अनुसार आध्यात्मिक अनुभूतिबाट तत्व ज्ञान सम्भव छ सो अनुभूतिलाई उद्देश्यमूलक बनाउने विषय अहिलेको प्रमुख चुनौती र अवसर हो । कुनै पनि कुराको पुनरावलोकन अमृतमय अवसर पनि हो ।
आचरण र व्यवहारमा नैतिकता
धर्म वस्तुको प्राकृतिक गुण हो । धर्मसँग नैतिकता जोडिएर आउँछ । नैतिकता भौतिक मूल्य नभएको उच्चतम अभ्यास,संस्कार र आदर्श गुण हो । नैतिकताको अनुहार जहिले र जताबाट हेरे पनि एकै हुन्छ । अनैतिक र विरोधाभासको अनुहार अनेकथरी हुन्छ तर नैतिकता जताबाट हेरे पनि उही र उस्तै देखिनुपर्छ । नैतिकता अवलम्बन गरिने विषय हो ढोंग होइन । नैतिकताको दोहोरो मापदण्ड हुनुहुन्न । सत्तामा बस्दा र सत्ता बाहिर बस्दा फरक फरक नैतिकता र राष्ट्रिय दृष्टिकोणमा भिन्नता आजको मूल्यहीन अराजनीतिको विकृत रूप र अनुहार हो ।
नैतिकता मानवीय मूल्यहरूको त्यस्तो व्यवस्था हो जसले हाम्रो व्यवहार सुधार्ने र जीवनमा खुसी भित्र्याउने तागत राख्दछ । नैतिकता खुसीको साँचोको रूपमा पनि परिचित छ । लोकतन्त्र र गणतन्त्रलाई नैतिकता नभएको चिज भनेर जसरी आज बदनाम र अस्वीकृत गरिंदैछ लोकतन्त्रले प्रार्थना, विनयशीलता र कृतज्ञता गुमाउँदै गएको देखिन्छ । यस्तो समाज अराजक र अनुशासनहीन बन्दै जान्छ, गएको छ ।नैतिकतालाई आचरणको रूपमा विकास गरेर लैजाने समाज समून्नत हुन्छ l
विचार सिद्धान्त दर्शन र दिग्दर्शन कुनै पनि कुराको हामीमा कमि छैन ज्ञान र विज्ञानको युगमा लापरवाह,अराजक,गैरजिम्मेवार अनि असन्तुष्ट र खतरनाक भएर आफैंलाई सिध्याउने छुट हामीलाई छैन ।विवेक आवेगको नियन्त्रणबाट खोस्न पनि नैतिक शिक्षालय खोल्नु र चलाउनु नैतिक आरन बनाउनु र अर्जाप्नु पाइन राख्न जरुरी भएको छ ।
सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो ।
विद्यार्थी आन्दोलन कहिल्यै विसर्जन नहुने प्रवाह र जुनसुकै किसिमको निरङ्कुुशताको अपोजिसन हो– स्ववियु...
मानव अधिकार भनेको संसारभर नै अहरणीय अधिकार हो l मानव भएर मर्यादित रूपमा बाँच्न आवश्यक पर्ने सबै प्रक...