श्रमसंस्कृति पुनर्जागरणका आधुनिक नायक हर्क साम्पाङ्

‘हजारौं कमिलाहरू मध्येको म एक कमिला हुँ l जो उस्तै छ जस्तो अरू छन् l जो उत्रै छ, जत्रा अरू छन् l’
- मेयर हर्क साम्पाङ्
एउटा मजदुर श्रमिक र सामान्य मान्छेको हकमा ढुङ्गा बोक्नु, गिटी कुट्नु, भनौं श्रमसँग जोडिएको चर्चा सामान्य लाग्छ l जब एउटा नेता श्रमसँग जोडिन्छ l श्रममा कहिल्यै नलागेका समेतलाई श्रम गरौ गरौं भन्ने स्थितिमा पुर्याएर हजारौ मान्छेलाई एकैपटक श्रममा जोडन सक्छ त्यो मान्छे आज गरिने नेताको परिभाषामा अदभूत मान्छे हो l
नेताले चुनावको बेला धान काटेको,ढिकी कुटेको, गाई दोएको,हलो जोतेको यदाकदा देख्न पाइन्छ ती क्षणिक स्टन्ट हुन् l तर एउटा नेता जो चुनाव जितेको भोलिपल्ट नै खादा माला अबिर फूलले ढाकिएर गाउँ सहर परिक्रमा गर्ने परम्परागत संस्कृति छोडेर बेल्चा र गैती लिएर खोल्सा खोला तिर पानीको मुहान खोज्दै हिंड्छ l जसले करिब एक वर्षको दौरानमा झन्डै १२, १५ करोडको विभिन्न योजना श्रमदान,श्रमसंस्कृति र श्रमयोजना मार्फत पूरा गर्छ भने त्यो असामान्य कुरा हो l श्रम अभियानमा परिचालिन गर्नु र विश्वासको सङ्कट परेको समयमा रकम सामान दिन विश्वाश पाउनु चानचुने कुरा होइन l कसैका कसैप्रति पनि विश्वास नभएको बेला एउटा मेयरसँगको यो विश्वास र अपेक्षा हामी बाँचेको नेपाली युगको ठुलो सफलता हो l
धरानवासीलाई पानी खुवाउँछु भन्ने आश्वासन दिएर स्वतन्त्र रूपमा चुनाव जितेको हर्क साम्पाङ् राई साँच्चिकै जनताको नेता र श्रमसंस्कृति निर्माण गर्ने अभियन्ता भएका छन् l हिजो चुनावको प्रचार प्रसार पनि हर्कको आफ्नै शैलीको थियो l आज चुनाव जितेपछि पनि शैली विशेष प्रकारको छ l काम नगरी अभियन्ता बन्नेहरूको यो देशमा लस्कर छन् l यस्ताको खाँचो छैन तर ७५३ स्थानीय निकायमा हर्क जस्तो जनप्रतिनिधि जन्मिएको छैन l जन्मिए पनि यतिको धमाकेदार पक्कै छैनन् l एउटा सरल मान्छे जो श्रमसँग रमाउँछ l श्रमको पूजा गर्न हजारौ मान्छेलाई एकै पटक उतार्ने क्षमता राख्छ त्यस्तो मान्छेलाई कस्मेटिक नेताको हारमा राख्न मिल्दैन l क्यारिस्मेटिक भन्न सकिन्छ l
श्रम पवित्र मानिन्छ त्यसैले श्रम आफैमा सर्वश्रेष्ठ दौलत हो l भनिन्छ श्रम गर्ने मान्छे भोको रहँदैन l बृहत् नेपाली शब्दकोशले श्रमलाई यसरी परिभाषित गरेको छ : ‘कुनै पनि वस्तुको उत्पादन तथा निर्माण वा जीवननिर्वाहका निम्ति शारीरक वा बौद्दिक शक्ति लगाएर गरिने काम मेहनत l’ यसमा बिम्बित अर्थ अनुसार शारीरिक र बौद्दिक शक्ति लगाएर गरिने श्रम सबैले र सबैका हकमा औचित्यपूर्ण र आवशयक छ l त्यसैले श्रम,धन,शक्ति र शारीरिक बौद्दिक व्यायामसँग जोडिएको एउटा उत्कृष्ट कर्म हो l
श्रम संस्कृति पनि हो l संस्कृति मानव निर्मित कार्य हो l संस्कृतिमा ज्ञान, विज्ञान, कला , धर्म, नैतिकता, कानुन र यस्तै अन्य गुणहरू संलग्न हुन्छन् l जसलाई समुदायको सदस्यको हैसितले मानिसले आर्जन गर्छ l संस्कृतिलाई सङ्केत,कला निर्मित वस्तु र मानव निर्मित चलनको रूपमा पनि परिभाषित गरिन्छ l संस्कृति मानव जीवनको कार्यशैली हो संस्कृति छ र मानव र अन्य प्राणीमा फरक छ l
संस्कृति सिकिने व्यवहार हो l संस्कृति हस्तान्तरित हुन्छ l संस्कृति प्रतीकात्मक र आदर्शात्मक मानिन्छ l संस्कृति परिवर्तनको संयन्त्र हुन्छ l संसारमा श्रम हुँदैथ्यो र यसको संस्कृति निर्माण हुँदैनथ्यो भने संसार आजको रूपमा हुनसक्ने कुरा नै भएन l श्रमलाई एउटा नवीन संस्कृतिको रूपमा विकास गरेर सबैले श्रम गर्ने, श्रमको सम्मान गर्ने श्रमको उचित मूल्य हुने र श्रम जीवन पद्दति बनाउने प्रणाली विकास गर्दै नेपाललाई आफ्नै बल,बुता,स्वाभिमान, परिश्रम,पसिना र निष्ठाले विकास र समृद्दिको पथमा हिँडाउने कर्म गर्नु आजको पहिलो प्राथमिकता हुनुपर्दछ l
श्रमलाई राज्यको नीति निर्माण तहमा बसेका मान्छेहरूको तहबाट आफैले यो कर्म सुरू गरेर यसलाई संस्कृतिको रूपमा विकास गर्दै लैजानु पर्छ यो तहका मान्छेहरू संस्कृति परिवर्तनको संवाहक संयन्त्र हुन् l धरानका नगरपिताले निर्वाचित भएको भोलिपल्टदेखि नै आफै काम गर्ने, श्रममा जुटने संस्कृति थालनी गरेका छन् जुन सह्रानीय छ l जसको चर्चा प्रशंशा देशभित्र र बाहिर नवीन संस्कृति निर्माणका पक्षधरहरूले मुक्त कण्ठले गरिरहेका छन् l
हर्कको कामको मात्र चर्चा भएको छैन उनको अनुशरण पनि हुँदै गरेको छ l हर्कले प्रोपोगान्डा गर्न र मिडियाबाजी गरेर चर्चा कमाउन मात्र सो नगरेको त्यसको परिणाम निकाल्न गरेको कुरा उनले खानेपानीका प्रोजेक्टहरू व्यापक जनसहभागिता र श्रमदान मार्फत सफल पारेको र अन्य परियोजना सफल पार्नको लागि पनि उत्तिकै खटेको कर्मले पुष्टि गरिरहेको देखिन्छ l
विगत तीस वर्षदेखि एशियाली विकास बैंक, नेपाल सरकार र विभिन्न दात्री निकायको ३५ अरब लगानीमा पुरै राज्यसंयन्त्र खनिंदा सिन्धुपाल्चोक मेलम्चीको पानी २७ किलोमिटर सुरुंग खनेर काठमाडौँ ल्याउन ३० वर्ष लाग्यो l अझै राम्रोसँग पानी आइसकेको छैन, यसमा पनि थुप्रै भ्रष्टचारका कहानी छन् तर धरानमा ४० किमी पर कोकाहा खोलाको पानी धरानको पकुवा बगरमा १०० दिन नपुग्दै हर्कले श्रमदानबाट ल्याएका छन् l हर्कले हालसम्म सर्दु, खर्दु, निशाने,पकुवा,तामखाम,भालुखोलालगायतका मुहानबाट पानी ल्याएर काकाकुल धरानको तिर्खा मेटाइ रहेका छन् l
श्रमसँग मान्छेलाई जोड्ने र श्रमदानका माध्यमबाट काम गर्ने उनको शैलीको आलोचना गर्ने ठाउँ छैन l भलै उनको सार्वजनिक केही स्टाटस् र टिप्पणी गर्ने शैलीप्रति मान्छेको विमति छ तर उनले गरेको कर्म, बसाउन खोजेको श्रमदानको संस्कृति कसैले पनि तीखो आलोचना गर्ने विषय बनेको छैन l सार्वजनिक मान्छेको सार्वजनिक स्थलमा खुलेर रुने, हाँस्ने, मनोरंजन गर्ने स्वतन्त्रता अलि कम हुन्छ l जताततै प्रोटोकल खोजिन्छ तर जैविक नेता हर्कलाई उनको कर्मले गर्दा जता रोए हाँसे पनि, गीत गाउँदै नाच्दै कोदालो बोक्दै हिंडेको खुव सुहाउँछ l हर्क यदाकदा भावविभोर बनेर रुँदै हिँडेका देखिन्छन् भने कहिले उन्मुक्त हाँसोमा भेटिन्छन् l काम गने दुख गर्ने नेतालाई जताततै रुने हाँस्ने छुट छ, कुनै प्रोटोकलको बन्देज छैन l हर्कका हर गतिविधिमा अर्ग्यानिकपन पाइन्छ l हर्क गीत सङ्गीतको माध्यमबाट पनि उत्प्रेरणा जगाई रहन्छन् गीतारसँग गला मिलाएर सार्वजनिक सन्जालमा अर्ग्यानिक वादविवाद गर्छन् l
आज नेताहरू परिश्रम नगर्ने र परिश्रमी कार्यकर्ता उत्पादन नगर्ने भनेर आलोचित छन् l यस्तो बेला हर्कले धरानबाट प्रारम्भ गरेको संस्कृति ७५३ स्थानीय निकाय हुँदै प्रदेश र केन्द्रसम्मका सबै तह र तप्काका जनप्रतिनिधि र कर्मचारीको नेतृत्वमा देशव्यापी हुने हो भने हाम्रो देशले काँचुली फेर्न धेरै समय कुर्नु पर्दैनथ्यो l
अगुवाहरू अनुकरणीय हुन्छन्
आफ्ना अग्रज र आफूले आशा गरेका मान्छेले निर्माण गरेको आचरण शैली हाउभाउदेखि लवाई खवाई सबैमा आम मान्छेको साथै समर्थकहरूको सुरूचिपूर्ण नजर हुन्छ l उनीहरूको अनुकरण गर्न, उनीहरू जस्तै बन्न सुभेच्छुक, चेला चेली, फ्यान फलोइंगको रहर हुन्छ l
समाजका अगुवा.शिक्षक.सेलिब्रेटी राजनीतिक नेता, कलाकार,उच्च पदस्त अधिकारी र समाजका बुद्दिजीवी आम मान्छेको नजरमा उदाहरणयोग्य बन्न जरूरी छ l विशेष गरी राजनीतिक दलका नेता, संसद, मन्त्री, सभामुख,प्रधानमन्त्री, राष्ट्रपति लगायतका क्रियाकलाप र गतिविधि शीघ्रातिशीघ्र फैलने गर्छ l नव संस्कृति निर्माणका आधार स्तम्भहरू दल, नागरिक समाज, विश्वविद्यालय, प्राज्ञिक संस्थाहरू,धर्मावलम्बीहरू, र राजनीतिक नेताहरू बुद्दिजीवी, साहित्यकार र संस्कृतिकर्मीहरू हुन् l
हाम्रो जस्तो राजनीति धेरै गिजोलिएको र जता पनि राजनीतिको नाममा अराजनीतिक गतिविधि धेरै हुने स्थानमा नेताहरूको प्रभाव छिटो पर्छ l यी व्यक्तित्वहरूले जे गर्छन तिनको सिको तल-तलका नेता कार्यकर्तासम्मले गर्दै जान्छन् र देशमा एकैपटक नयाँ कुराको सुरुवात हुन्छ l सकारात्मक थालनी गरे त्यही प्रवाह हुन्छ नकरात्मक गरे पनि धेर थोर त्यो संस्कृति बनेर अनुशरण भइ रहेको हुन्छ l
अनेकानेंक संस्कृति
नेपाली कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको पान सौख र गिरिजाप्रसाद कोइरालाको सेतो दौरा सुरुवाल अनि कांग्रेस नेताहरूले भारत निर्वासन बस्दा लाउने गरेको भारतीय समाजवादी नेता नेहरु ज्वारिकोट तत्कालीन नेपाली कांग्रेसका शीर्ष नेताले अनुशरण गरेर तल तल गाउँसम्म पुर्याए l जुन आज पर्यन्त काङ्ग्रेसजननको ड्रेस भनेर समाजमा परिचित बनेको छ l
त्यति मात्र होइन २०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसजनले सुरू गरेको अन्तर्घात र अन्तर्घातको जननी कांग्रेस भएको हुनाले त्यो राजनीतिको अपसंस्कृति बनेर आज नेपालभर फिंजिएको छ जसको व्यापक चर्चा सङ्घीय र प्रदेश तहको निर्वाचनमा कांग्रेसलगायत अन्य पार्टीहरूले व्यवहारिक प्रयोग गरेर देखाइरहेका छन् l
नेतावाणीले पनि एउटा मानक निर्माण गरेको प्रमाण गणेशमान सिंहले नेपाली जनतालाई दिएको भेडाको संज्ञा आज सकारात्मक र नकारात्मक दुवै सन्दर्भ सङ्कथनमा प्रयुक्त हुने बिम्ब बनेको छ l पहिलो पटक २०६३ असारमा बालुवाटारमा सार्वजनिक हुँदा प्रचन्ड र बाबुरामले पहिरेको खैरो सर्ट माओवादीको ड्रेसकोड जस्तै भएको थियो एकताका l
एमाले नेता ओलीको उखान टुक्का जोडेर आफ्ना कुरा सम्प्रेषण गर्ने तरिकालाई आफ्नो बनाउने थुप्रै एमाले नेता निस्किएका छन् l प्रचन्डको जेल लगाएर माथितिर फर्काएको हेयर स्टटायल र कुम हल्लाएर बोल्ने शैली र बाबुरामको क्याप पनि माओवादी ब्राण्ड बनेर गाउँ गाउँ पुगेको थियो l एमाले नेता झलनाथ खनालको दर्जनौ सुटको चर्चा पनि एमाले वृतमा कम्युनिस्ट शैलीभन्दा भिन्न ब्रान्ड बनेको हो l
विवेकशील नेपालीका प्रवर्तक उज्ज्वल थापाले लगाएको कालो भादगाउँले टोपीमा क्रश खुकुरी र नेपालको झण्डा र स्माइली फेसको लोगो थुप्रै विवेकशील नेपालीका सदस्यहरूले प्रयोगमा ल्याएका थिए l ब्यांकर अनिलकेशरी शाहले पुनरावृत्ति गरेको राणाकालीन जुँगाको शैली पनि नेपाली युवा आकर्षण गर्न आएको दृष्टान्त छ l
बालेन शाहको चस्मा नेपाली बजारमा गत स्थानीय चुनावपछि हाइ डिमाण्ड भएको समान थियो l हर्क साङ्पाङ्को भोट माग्ने शैली यो निर्वाचनमा धेरैले अवलम्बन गरेको पाइयो l रवि लामिछानेको हेयर स्टायल र नेपाली कपडा मात्र लाउने तरिका आज ब्राण्ड बनेर फैलिरहेको छ l यसर्थ नेताहरू जे गर्छन त्यो संस्कृति बनेर छिटो प्रसारित हुन्छ l
नेताले गरेको भैंसी पूजा,बिहेको हाफ सेन्चुरी भन्दै मनाएको भव्य पार्टी र धार्मिक कार्यकर्म अनि जन्म दिनमा केक काट्न हेलीकप्टर प्रयोग पनि नेताहरूले जन्माएका गलत संस्कृति हुन् l विश्व संस्कृति र बजारबाट भित्रिएको हिप्पी संस्कृति, पुरुषले लामो कपाल पाल्ने चलन, फ्रेन्चकट दारी र लेनिनकट दारी पनि अनुशरण गरिएका संस्कृतिहरू हुन् l
सबै संस्कृति, संस्कृति होइनन् केही संस्कृति अपसंस्कृति र विकृति पनि हुन् l सकारात्मक प्रभाव र तिनले नेपाली समाजमा ल्याएको परिवर्तन र सामान्य फेशन समाज विज्ञानको गति र नियमका उपज हुन् तर नकारात्मक प्रवृत्ति, गलत सन्देश प्रवाह गर्ने शैली त्याज्य र निन्दायोग्य छन् l तसर्थ नेताले आफ्नो गतिविधि गर्दा यसको चिरकालसम्म पर्ने असर र समाजको मनोविज्ञान र समाजशास्त्रसम्म बुझेर सुरू गर्नुपर्छ l
आजको मुख्य चर्चा हर्कले धरानबाट सुरू गरेको श्रमसंस्कृतिको बारेमा हो l परिश्रम कुनै कामको लागि गरिएको मानवीय चेष्ठा हो l मानवीय चेष्टालाई समाजको बृहत्तर हितको लागि प्रयोग गर्नु र त्यसको नेतृत्व गर्दै श्रमदानको महत्त्व र गरिमा देखाउनु दुरदर्शी नेताको गुण हो l जसको प्रदर्शन गरेर हर्क आज हाइ हाइ बनिरहेका छन् l
जनताको नेता कस्तो हुनुपर्छ त्यसको उदाहरण प्रस्तुत गरिरहेका छन् l मितव्ययी संस्कृति र समाजलाई श्रमसँग जोड्ने हर्कको प्रयासले क्रमशः सार्थक बनाई रहेका छन् l हर्कले आफू निर्वाचित हुनासाथ अविर जात्रा गरेर फूल माला खादाको प्रदर्शन गरेर भोज भतेर गर्दै हिंडेनन बरू खोला खोल्सा तिर पानीको मुहान खोज्न हतारिए र धरानवासीलाई पानी खुवाउछु भन्ने प्रतिवाद्द्ताको कार्यन्वयनमा लागे l
हर्क भन्छन् नियमित विकास बजेट मार्फत हुने विकास सामान्य हो जसले पनि गर्न सक्छ तर राज्यको आफ्नै लगानी बिना जनश्रमदान, जन सहयोगमा सम्पन्न हुने विकास योजना चै जनताकै तहबाट निर्माण हुने विशेष विकास हुन् जुन विकासमा आम जनताको अत्याधिक अपनत्व हुन्छ l यो मैले गरेको यो मेरो हो भन्ने भाव रहन्छ l जुन आजको समाजमा हुनु अपरिहार्य छ l
फजुल खर्च ठानेर मेयरको गाडी चढेनन् l सो गाडी बेचेर डोजर किने l पाँच हजार विरुवा रोप्ने घोषणा गरेका हर्क अहिले एक करोड विरूवा रोपेर धरान हराभरा बनाएर प्राकृतिक पर्यावरण जोगाउने अभियानमा छन् l प्राकृतिक स्रोतको अनुचित दोहनले चिन्तित हर्कले नदिजन्य पदार्थको जथाभावी उत्खनन् र विक्रीवितरणमा रोक लगाए l
निर्वाचन अघि हर्कको प्रतिवद्दता जे थियो सो पूरा गर्न उनी कम्मर कसेर लागेका छन् l उनको यात्रामा अनेक मुद्दा झमेलाहरू काँडा बनेर आएका छन् l हर्कको उदेश्य पवित्र देखिएकोले मुद्दा मामलाको कुनै विघ्नले उनलाई गलाउने छैन l हर्कले श्रमलाई निर्माण र विकाससँग जोडेका छन् l श्रम राजनीति र समाजसँग पनि जोडिनु पर्छ l समाजको लागि काम गरौ भन्ने संस्कृति हाराएको बेला धरानबाट हर्कले श्रम संस्कृतिलाई पुन प्रवर्दन गरेर देशभर श्रमसंस्कृतिको नवीकरण गरेका छन् l हर्क श्रमसंस्कृतिको पुनार्जागरणका आधुनिक युगका नायक बन्दैछन् l
इतिहासमा श्रम संस्कृतिको प्रसङ्ग
रूसी कम्युनिस्ट पार्टी ( बोल्सेभिक ) को केन्द्रीय समितिले हप्ताको एक दिन शनिबार देशका लागि श्रमदान गर्ने निर्णय १ मे १९२० मा गरेर सत्ता र उपल्लो स्तरबाट श्रममा जोडिने संस्कृति निर्माण गरेको कुरा कम्युनिस्ट पार्टीको दस्ताबेजमा पढन पाइन्छ l
मार्क्सवादको प्रयोग गरी विशाल सोभियत सङ्घमा समाजवादी सत्ता स्थापना गर्ने लेनिन मजदुरलाई असाध्यै माया गर्थे र तिनै मजदुरको बलमा रसियामा मार्क्सवादको प्रयोग गरेका थिए l तत्कालीन कम्युनिष्टहरू श्रमको उच्च सम्मान गर्थे र हरेक शनिबार श्रमदान गर्न शीर्ष नेता नै पहिलोपटक निर्णय कार्यन्वयन गर्न निस्किएको इतिहास छ l
कम्युनिस्ट पार्टीका नेता लेनिन पुरै मजदुरको भेषमा श्रम गर्न निस्कीएको त्यो संस्कृति सदा र जोसुकैको लागि अनुकरणीय छ,यद्दपि नेपालका कम्युनिष्टहरूले आफ्नो कम्युनिष्ट चरित्र गुमाएको कारण श्रमसँग भन्दा बढी दलाली र विचौलियासँगको सङ्गत र बस उठले आफूलाई त्यस्तै त्यस्तै बनाउँदै लगेका छन् l
श्रम संस्कृतिका ब्राण्ड एम्बेसडर
श्रम दान संस्कृतिको ब्राण्ड एम्बेसडर बनेका छन् हर्क l श्रम शारीरिक श्रमसँग मात्रै जोडिएको छैन शारीरिक व्यायाम र मानसिक स्वास्थ्यसँग पनि अन्योन्यास्रित भएर रहेको छ l समाजमा हर्क जस्ता जुनकिरीहरू छन् र समाजमा कहिल्यै अंध्यारो हुँदैन l समाज उज्यालो बनाउन हजारौ हर्क जन्मे भने त्यो उज्यालोले नेपाल उज्यालीन समय लाग्दैन l
हर्कले चलाएको ‘हर्क साम्पाङ ए रेभुलोसन’ पेजमा उनले आफ्ना दैनिक गतिविधि, निर्देशन, अपिल, फरमान, अनुरोध सूचना जारी गरेर आफ्नो नियमित कर्म बारे जानकारी गराइ राखेका हुन्छन् l रहस्यमय गतिविधि र चरित्रमा रहेका नेताहरूको अघि यो उनको सामाजिक र राजनीतिक जीवनको पारदर्शिता हो l पारदर्शिता सबैको सामाजिक जीवनको महत्त्वपूर्ण पक्ष हो l
झन् नेताहरूले पारदर्शी संस्कृतिलाई टेवा पुर्याउनु समाज मर्यादित र सभ्य बनाउने परम्परा हो l गलत संस्कृतिको प्रतिस्थापन असल र नव संस्कृतिले गर्नुपर्छ हर्क त्यतै अभिमूख भएको पाइन्छ l जयहोस् यी पागल मनुवाको l आफ्नो निष्ठा समर्पण र उदेश्यमा हर्क जहिल्यै पागल बनिरहून l
श्रम संस्कृति पार्क
हर्कले श्रम संस्कृतिलाई चीरकाल पर्यन्त जीवित राख्न धरानको ओशोमा रहेको निशाने दोभानमा श्रम संस्कृति पार्क निर्माण गरेर एउटा नौलो र ऐतिहासिक कामको सुरूवात गरेका छन् l धरान नाम रहनुको कारणबारे काठ काट्ने पुरानो शैली र काठ काट्न बनाइने स्थानलाई धरान भनिन्थ्यो त्यही नाममा धरान भएको हो भनेर काठको मुड़ा काट्न आरो लगाई रहेको स्ट्याच्यु बनाइएको छ त्यो एउटा आकर्षण रह्यो भने त्यहाँ जाने सबैले केही न केही काम गरेर माटो छुनुपर्ने हुन्छ l प्रकृतिसँग रमाउन र काम गर्न आदत बन्नुपर्छ नमज्जा कसैलाई लाग्दैन l
राष्ट्रका लागि श्रम नारा र आदर्श बनाएर हर क्षेत्रबाट श्रमसँग मान्छे जोडिनु पर्छ l हर्कको उदाहण सक्रियता र प्रेरणाले भर्खरै निर्वाचित प्रदेश र संघीय सांसदहरू आआफ्नो क्षेत्रमा जान थालेको समस्या सुल्झाउन प्रयत्न गरेको समचारहरू देशका विभिन्न भागबाट आइरहेका छन् l यो सुखद पक्ष हो l श्रमसँग नेताहरू जोडिनु उनीहरूकै व्यक्तिगत स्वास्थ्य, सामाजिक हित र राजनीतिक स्वास्थ्यको लागि फलदायी हुनेछ l श्रमकै अभावले नेताहरूमा अनेकथरी रोग लागेको छ l परिश्रम गर्ने बानी नहुनाले उच्च रक्तचाप, कोलेस्ट्रोल, युरिकएसिड,मधुमेह मुटु रोग जस्ता विभिन्न रोगबाट ग्रसित नेताहरूलाई श्रम गर्ने बानीले थुप्रै राजनीतिक स्वास्थ्यगत,आर्थिक सामाजिक र सांस्कृतिक फाइदा नजिक पुर्याउँछ l
शनिवार होइन श्रमबार
कुनै पनि शनिवार श्रम गर्न नछुटाउने र श्रमदानको नेतृत्व गरेर श्रम संस्कृति धरानबाट पुनर्जीवित गरेर देशमा जुनकिरी उज्यालो दिने नेताको रूपमा हर्कलाई बुझ्न सकिन्छ l श्रमले देश बन्छ, श्रममा विश्वास गरौ, श्रम गरौ भन्ने हर्क श्रमको संस्कृतिलाई पुन स्थापित गर्ने क्रममा छन् l हाम्रो पूर्वीय संस्कृतिमा श्रम र सेवा दान र परोपकार जीवन दर्शन र जीवन पद्दति थियो छ l यसमा केही समयदेखि ह्रास आएर व्यक्ति द्रव्य केन्द्रित र निजी फाइदाको लागि कुद्न थालेको थियो/ छ l तर हर्कले श्रमलाई जीवन सौन्दर्य र सामाजिक मूल्यमा रूपानान्तरण गरेर समाज झकझकाए छन् l देशमा एक प्रकारको तरङ्ग नै ल्याइदिएका छन् l श्रमको सामाजिक मूल्यलाई चिनाएका छन् l श्रम साधना,पूजा र पवित्र कर्म हो भनेर परम्पराको उत्खनन् गरेर नयाँ अभियान सिर्जना गरेका छन् l बिदा घोषणा गरिने शनिबारलाई श्रमबार न्वारन गरेर एउटा श्रमको नव इतिहासको निर्मितिमा लागेका छन् l हर्कको सिको गरेर अन्यले पनि केही दिन काम गर्न थालेका, समुदायको काममा जोडिन थालेका छन् l ठुला ठुला नेता र मन्त्रीलाई पनि श्रम गर्न लगाउँछु भन्ने उदघोष गरेका छन् l
हर्कलाई उनका केही मानवीय कमजोरी औल्याई दिन सकिएन भने उनको फगत देवत्वकरण हुन्छ तसर्थ उनका बारेका केही आलोचनात्मक विमर्श पनि गरौ l हर्कले आफू मेयर भएको कारण योजनावाद्द र संस्थागत निर्णय गरेर कामगर्न सक्थे तर व्यक्तिगत निर्णय गरेर कुनै अभियन्ता जस्तो मात्र देखिएका छन् l मेयर एक्लै हिंडेका छन् l संजालमा व्यापक चर्चा,धरान बाहेकमा र नेपाल भित्र भन्दा बाहिर नेपाली माझ चर्चा, धरानमा समस्या भन्नेहरू पनि प्रसस्तै छन् l धरानको आन्तरिक उत्पादन कमजोर छ l खेल क्षेत्रमा उज्यालो धरान अहिले खस्कँदो स्थितमा छ l पर्यटकीय स्थल धरानमा यसको वृद्दि र विकासमा काम भएको छैन l कला साहित्य र संस्कृतिको विकासमा संस्थागत उपेक्षा देखिएको जान गुनासो छ l वृक्षरोपण गरिएको छ तर कुन विरुवाले पानी दिन्छ र कुन विरुवाले पानीको मुहान सुकाउँछ भन्ने अध्ययन गरिएर वृक्षरोपण गरिएको भए गजब हुन्थ्यो l आफू बाहेक अन्य निर्वाचित प्रतिनिधिसँग प्राय लफडा परिरहन्छ l विधिमा ढाल्न सके, संस्थागत गर्न सके उनका एकल प्रयास पनि धरानको संस्थागत स्वामित्वमा जाने थियो l जुनसुकै कामलाई पनि एउटा विधि र तरिकाले सफल पार्छु भन्ले हर्कको ढिट भने बदल्नुपर्ने देखिन्छ l जथाभावी र जे विषयमा पनि बोली हाल्ने बानीले उनले आफ्नो मुखलाई थुतुनोमा पनि परिणत गर्छन बेला बेलामा l यी र यस्ता कमजोरी सच्याउन र कम गर्न सके हर्कले दिने हर्कमा धरानवासीको मात्र नभएर आम नेपालीको खुशी भेटिने थियो l
जनतासँग नेताको सम्बन्ध स्थापित हुने माध्यम हो श्रम संस्कृति l एउटा पब्लिक फिगरले रचनात्मक काममा निरन्तर प्रयत्नशील बन्दा नव संस्कृतिको निर्माण हुन्छ l संस्कृति प्रसार हुन्छ र संस्कृति हस्तान्तरण हुन्छ l हर्कले पेश गरेको दृष्टान्त यही हो l सकारात्मक सुरुवातको अनुशरण सबैले गरून् l हर्क जस्ता श्रमप्रेमी जन्मिरहून l राम्रो कामको जसको जहिले र जतासुकै अनुशरण भइ रहोस् l आफ्नो ठाउँबाट धेरै रोल मोडेल बनून l चुनाव जित्नुअघि बेथिति विरुद्द धावा बोलेका हर्क चुनावपछि श्रमसंस्कृतिको थिति बसाल्न अहोरात्र लागिरहेका छन् l स्कुल तह उतीर्ण गर्ने बेलामा पनि विद्यार्थीहरूलाई श्रमसँग जोड्न हर्कको आव्हान छ l माटो नछोएकाहरूलाई माटोको माया हुन्न र श्रमको मूल्य पनि थाहा हुँदैन l श्रममा आधारित विकासका रोल मोडेल हुन हर्क साङ्पाङ् राई l
हर्कले गर्ने जति काम अन्य हजारौ जनप्रतिनिधिले आजसम्म नगरेको कारण हर्क विशेष स्मरणीय बनेका हुन् l प्राय जनप्रतिनिधिले हर्कले जति काम घरन सके हर्कको हाई हाई यो हदको पक्कै हुने थिएन l
यद्दपि एउटा मान्छेको रूपमा हर्कमा थुप्रै कमजोरी देखिएका छन् l श्रमबाहेक सिङ्गो धरानको नेतृत्व गर्न सकेका छैनन् भन्ने आरोप पनि छ l बेला बेला अनावश्यक विवाद,व्यक्तिको निजी जग्गामा वृक्षारोपण र फेस बुक स्टाटसमा अनर्गल कुरा गरेको पनि देखिन्छ l धर्म सम्बन्धी विवादमा पनि यिनी तानिएका छन्, तथापि काम र इमानको मामलामा हर्क अलि माथि नै छन् त्यसैले आजको akabarey.com हर्क विशेष छ l तस्बिर हामीले उनको पेजबाट आभार गरेका छौं l
सञ्जीव कार्की
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...
विश्वमा मान्छेको अधिकतम आयु १५० वर्ष भएको अनुसन्धानको निस्कर्ष छ l हाम्रै देसमा पनि सुनसरीका वीरनारा...