'म पनि त मान्छे नै हुँ, मन दुख्छ मेरो पनि'

कविता
- विक्रम तिरुवा 'सलिन', जुम्ला
'म पनि त मान्छे नै हुँ '
किन तिरस्कारको भावना पैदा गर्छौ ?
कहिलेसम्म गरिरहन्छौ म माथि दुस्साहस !
मेरो पनि छुट्टै आफ्नै संसार छ,
म माथि मेरै नै बृहत् प्यार छ,
यहाँ मारामार छ अनि अत्याचार छ,
समाजबाट मलाई तिरस्कार छ l
यो समाज यस्तै छ अनि विभेद गर्ने प्रवृत्ति उस्तै छ,
म माथि भेदभाव !
बिन्ती !
नगरीदेऊ मन दुख्छ मेरो पनि,
मैले अनेकौं भेदभाव शताब्दीदेखि झेल्दै आएको हुँ ।
म पनि तिमीहरू जस्तै बोल्न सक्छु,
मनका वेदनाहरू तिमीले जस्तै खोल्न सक्छु,
म माथि भेदभाव !
बिन्ती !
नगरीदेऊ मन दुख्छ मेरो पनि l
मलाई अछुत घोषित गरेर,
कहिलेसम्म म माथि मजाक उडाउछौ ?
विभेदपूर्ण व्यवहार मनस्थितिबाट हटाइदेऊ,
सबैलाई समानताको बाटोमा ल्याईदेऊ ,
जात व्यवस्थाको बलियो पर्खाल भत्काईदेऊ,
म माथि भेदभाव !
बिन्ती !
नगरीदेऊ मन दुख्छ मेरो पनि l
मैले स्वतन्त्रता प्राप्त कहिले गर्ने ?
मुहारमा खुसीको हाँसो कहिले भर्ने ?
म माथि झन् अन्याय र अत्याचार छ l
मैले यो समाजबाट मुक्ति पाउने कहिले ?
यो अन्धो समाजलाई चेतना आउने कहिले ?
म पनि त मान्छे हुँ ! मेरो पनि मन छ l
मेरो पनि तिम्रो जस्तै रातो रगत छ ।
सोच बदल्नुपर्छ अब तिमीले,
भेदभाव मुक्त समाज निर्माण गर्नुछ ।
म पनि तिमी जस्तै मान्छे हुँ !
म पनि त मान्छे हुँ !
म माथि भेदभाव !
बिन्ती !
नगरीदेऊ मन दुख्छ मेरो पनि l
मन छ मेरो पनि l
विक्रम तिरूवा सलिन जुम्ला,नेपाल
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l