शैलुङ कवितायात्राका लागि दुई दर्जन स्रष्टाहरू काठमाडौँबाट दोलखा प्रस्थान

काठमाडौँ,पुस, ४
दोलखाको प्रसिद्ध पर्यटकीय स्थल शैलुङमा साहित्यिक पत्रकार सङ्घले “शैलुङ कवितायात्रा” कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमका लागि आज काठमाडौंबाट दुई दर्जन स्रष्टाहरू दोलखा प्रस्थान गरेका छन् । कवितायात्रा पुस ४ गतेदेखि ६ गतेसम्म चल्ने छ । स्रष्टाहरूलाई देश दर्शन गराउने र मोफसललाई केन्द्रसँग जोड्ने कवितायात्राको उदेश्य रहेको छ ।
दोलखाको मनमोहक शैलुङ क्षेत्रलाई स्रष्टाका शब्दहरू मार्फत चिनाउनु नै यो कार्यक्रमको मूल ध्येय हो । कार्यक्रमका संयोजक तथा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले बताउनु भयो । कवितायात्रामा सहभागी हुन वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, समाजसेवी शोभित उप्रेती, प्रसिद्ध समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्की, प्रसिद्ध कविहरू रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, प्रद्युम्न जोशी, मुरारी सिग्देल, श्रीबाबु कार्की, सुवास ढुङ्गेल, रुद्र अधिकारी, कृष्ण के.सी., नीता श्रेष्ठ, डा. बुनु दाहाल, नवीन शाही लगायत छन् ।
यसैगरी चर्चित गायकहरू नविन पौडेल, नरहरि प्रेमी, रितु कँडेल, गङ्गा भुर्तेल र बालनृत्यकार रञ्जना थपलिया तथा संचारकर्मीहरू पुष्पा थपलिया, हेम थपलियालगायत छन् । कार्यक्रममा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयहरूको सहभागिता रहनेछ । शैलुङ गाउँपालिका-८, भैंसेको सहकार्य रहेको यस कार्यक्रमले शैलुङमा थप सांस्कृतिक जागरण ल्याउनेमा समाजसेवी एवं गीतकार शोभित उप्रेती विश्वस्त छन् । कार्यक्रम तालिकानुसार पुस ४ गते चरणावती धामको दर्शन, ५ गते शैलुङको थुम्कामा साहित्य विमर्श एवम् कवि गोष्ठी तथा “स्रष्टा घर”को शिलान्यास र ६ गते भैंसेमा कविगोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।
दोलखामा सङ्घको यो दोस्रो कवितायात्रा हो । वि.सं. २०४२ सालमा पनि दोलखाको जिरीमा साहित्यिक पत्रकार सङ्घले कवितायात्राको आयोजना गरेको थियो । ३४,०० मिटर उचाइमा रहेको महाभारत पर्वत शृङ्खलाको सबैभन्दा उच्च पर्वत हो - शैलुङ । शैलुङलाई पहाडहरूको ‘रानी पहाड’ पनि भन्ने गरिन्छ । सयौं प्रकारका जडिबुटीहरू, विभिन्न प्रकारका लालिगुराँस र सिजनै पिच्छे प्रकृतिको पृथक सौन्दर्य भर्ने शैलुङमा हरेक वर्ष आन्तरिक र बाह्य पर्यटकको लर्को लाग्छ ।
हिउँदमा प्राय: शैलुङको उच्चभाग हिउँले ढाकिएको हुन्छ । शैलुङबाट गौरीशङ्कर हिमाल, गणेश हिमाल, जुगल हिमालका साथै अन्नपूर्णसहित मुलुकका प्राय हिमश्रृङखलाहरू र महाभारत पर्वतका माथिल्लो क्षेत्रका पहाड र पर्वतहरूको हिमाच्छादित दृश्यले जोकोहीको मन आनन्दित बनाउँछ । हरेक मानिसले एक पटक पुग्नैपर्ने ठाउँ हो पहाडकी रानी -शैलुङ क्षेत्र । शैलुङका ठूला-ठूला नागीहरूमा विचरण गर्नु, चौरी चरिरहेको दृश्य नियाल्नु, हिमशृङ्खलाको गहिरो दृश्यावलाेकन गर्नु, लुङ्दरको अविचल फर्फराइमा रम्न्नु र आध्यात्मिक यात्राको अप्रतिम आनन्दानुभूति प्राप्त गर्नु शैलुङ यात्राको विशेषता हो ।
प्राकृतिक सौन्दर्यसँगै हिन्दू, बौद्ध र बोन धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल पनि हो - शैलुङ । यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा जात्रा (मेला) लाग्ने गर्दछ । शैलुङडाँडाको एउटा ओढारमा शैलुङेश्वर महादेव विराजमान छन् । शैलुङ्गेश्वर महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
शैलुङसम्बन्धी स्थानीयहरूबीच विभिन्न किंवदन्तीहरू प्रचलनमा रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई ‘साङ्गेलुङ’ भनिन्थ्यो भने पछि अपभ्रंश हुँदै शैलुङ रहन गयो । तामाङ भाषाको शब्द ‘सयलुङ’को नेपाली अर्थ हुन्छ – सय थुम्का । समयक्रममा ‘सयलुङ’लाई नै शैलुङ भन्न थालिएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । नेपाल सरकारले घोषणा गरेको नेपालको एक सयवटा प्रमुख पर्यटकीय गन्तव्यमध्ये शैलुङ पनि एक हो ।
कवितायात्राको आयोजक साहित्यिक पत्रकार सङ्घ वि.सं. २०२९ सालमा स्थापना भई नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका लागि क्रियाशील रही आएको छ । यसले नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका क्षेत्रमा यसले आफ्नो स्थापनाकालदेखि नै रचनात्मक क्रियाकलापहरू सम्पन्न गर्दै आइरहेको छ ।
विमानस्थल उद्घाटनको दुुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक...
पर्यटकको भीड बढ्दै जाँदा पुल हल्लिएर पदयात्री तर्सिने र दुर्घटना निम्तिन सक्नेतर्फ समेत ध्यान दिनुपर...
विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिए...