जातमा त्यस्तो के छ हजुर ! जुन मानवतामा छैन ?

जातीय विभेद दलितको या कुनै विशेष जात जातिको मात्रै समस्या होइन यो देशको समस्या हो l जातीय विभेदलाई सामान्य सामाजिक कुरीतिमै सिमित राखिएर बुझियो भने यो गलत बुझाइ हुनजान्छ l मूर्खतापूर्ण सोचाई हुनेछ l हप्तै पिछे छुवाछुतका घटना पत्रपत्रिका र विभिन्न संचार माध्यमबाट बाहिरिएको हुन्छ तर यो देशको सरकार, राजनीतिक पार्टीहरू किन आँखा चिम्म गरिरहन्छन ? सुनेर पनि नसुने झैँ देखेर पनि नदेखे झैँ किन गर्छ राज्य ? हरेक दिन र हप्तामा कहालीलाग्दो ज्यादतिका घटना सुनिन्छ, देखिन्छ तर राज्यको ध्यान, देशमा विध्यमान पार्टीहरूको ध्यान त्यसले खिच्न सक्दैन l दलित अनाहकमा मारिँदा सरकार पार्टीहरू र तिनका कार्यकर्तालाई लज्जाबोध नहुनु अलिकति पनि अपठ्यारो नलाग्नु विडम्बना हो l हामी आज पनि अति क्रुर अमानवीय र जङ्गली सत्ता अभ्यासमा छौं l
मान्छेमाथि मान्छेले जात विशेषको कुरा लिएर गर्ने जघन्य अपराधको साक्षी लाचार भएर राज्य प्रणाली बसेको छ l उचित सामधान र निस्कर्ष निकाल्न सरकार कहिल्यै संवेदनशील र गम्भीर भएन l यदि दलित कुलमा जन्मनु अपराध नै हो भने देशकोको संविधान, नियम र कानुनबाट समानताको हक निलम्बन गरेर राज्यले दोहोरो मापदण्ड खडा गरोस र विभेदलाई कानुनीरूपमा नै फेरि पनि अंगिकार गरोस, जस्तो: १९१० मा नयाँ मुलुकी ऐन बनाएर जंगबहादुरले गरे, त्यो भन्दा अघि जयस्थिति मल्लले गरे, अझ त्यो भन्दा अघि राजा मनुस्मृतिले गरे l यदि हैन भने कानुन कागजको खोस्टो मात्रै हैन त्यसको व्यावहारिक कार्यन्वयनको लागि निरन्तर पहल र लगानी गरोस ताकि देशका कुनैपनि नागरिक असमान छैनन् र देसमा जातीय छुवाछुत हुँदैन,गरिन्न l
देशमा विद्यमान असमान जातीय अवस्था र मान्छेहरूका मनमा गहिरोसँग जरा गाडेर बसेको गलत धार्मिक मनोविज्ञान,अन्धविश्वास र कमसाल धारणा बदल्न कानुनको डण्डा मात्रै कामयावी छैन र नहुन सक्छ त्यसैले सामाजिक मनोपरामर्श पनि उपयोगी साधन हो जसको प्रयोग कानुन सँगसँगै गर्नु श्रेष्यकर हुन्छ l बलजफ्ती नै सबैकुरा र साध्य होइन कन्भिन्स गरेर सामाजिक जीवनलाई मानवीय लयमा लैजानुमा दीगोपन भेट्न सकिन्छ l कानुनी जोर जबर्जस्तीले मात्रै सबै कुरा हुन सक्तैन कानुन मान्न अभिप्रेरित गराउनु र कानुनको पालना अनुष्ठान गरे सरह धर्म हो भनेर सत्धर्मको मनोविज्ञान पनि भरिदिनु बेस हुन्छ l
जघन्य अपराध र दोहोरिरहने हर्कतलाई ठिक लगाउने चै फेरि पनि कानुन नै भएको कुरा बिर्सनु हुन्न l आज पनि इनारको पानी छोएको निहुमा मान्छे मारिन्छन, धारामा पानी थाप्दा मान्छे कुटिन पुग्छन l प्रेम गरेको र बिहे गरेको कारण मान्छे मारिनु परेको दुखद कहानीहरु छन l दलितसँग प्रेम गरेको नाममा आफ्नी १५ वर्षीय छोरी मार्ने मनोविज्ञानले दलितप्रति कस्तो दृष्टिकोण राख्छ कति निर्मम प्रहार गर्न सक्छ हाम्रो समाजमा घटित हर जातीय भेदभावका घटना र छुवाछुतका घटनाले बाराम्बर,रोज रोज,पल पल पुष्टि गरिरहेको छ l अत: हामी कति अमानीय र क्रुर छौं ?
दलितसँग लभ गरेको चाल पाउँदा छोरी मार्ने समाजको मनोविज्ञानले दलितलाई चैं कति दयामाया गर्दो हो ? गम्भीर भएर सोचौं त ? बारामा छोरीको हत्या गर्ने व्यक्त,हरिन्द्र महतो निमित्त कर्ता मात्रै हो । मूल हत्यारा सरकार हो । सरकारले संस्थागत गरेको मनोविज्ञान हो । धर्मले अभ्यास गराएको धार्मिक अन्धता हो l त्यसैले जातीय छुवाछुत,छाउ बोक्सी, दहेज आदिको कारण जति मान्छे मारिन्छन् त्यसको जड र प्रमुख कारण सरकार हो । हत्यारा सरकार हो, सरकारहरू हुन् । सरकारले चाल्न नसकेको कदम र पहिचान गर्न नसकेको जात व्यवस्थाको कारण मान्छे मान्छेलाई छोएको कारण पानी छोएको कारण मारिन्छन्,मारीरहेका छन् l
समाजमा छुवाछुतको नाममा थुप्रै थुप्रै सामाजिक अपराध र अन्याय भएका छन् l कथित उच्च र नीच जात भनेर दलित समुदायमा पनि विभक्त छ जात व्यवस्था l भोजमा बोलाएर पनि साँझ नै नपरी आँगनमा बसेर खाएको भनेर अपमानित गर्दै कुटपिट गरिएको घटना हुन्छन् l जातीय छुवाछुतको नाममा होस् या, बोक्सीको नाममा मान्छे मारिनुको अर्थ सरकारको कमजोरी हो l सरकार जातीय विभेद उन्मुलन गर्न उदासिन र कठोर नबन्नुको परिणति हो l अन्ध विश्वास चिर्ने सरकारको नीति तथा कार्यक्रम नहुनुले हो l जातीय विभेदलाई संगीन अपराध र फौजदारी कानुनको घेराबन्दीमा कस्नु आजको आवश्यकता हो l एक अर्कालाई जातको विशेष बनिबनाउ लेन्सबाट हेर्न र व्यवहार गर्न बन्देज गर्नुपर्छ l
पुराना,परम्परा र मान्यता भन्दै पुरानै संस्कार र विचारलाई आज पनि समाजका प्रगतिशील चिन्तन,उदार प्रजातान्त्रिक लगाव र झुकाव भएका मान्छे समेतले बोकेर हिडेको अनि जिम्बेवारीबाट भागेको उदाहरण यत्र तत्र सर्वत्र देखिनु बिडम्बना नै हो l विभेद रहित नेपालको कल्पना केवल नारा र आदर्शमा होइन व्यवहारमा र जीवन शैलीमा देखिनु पर्छ l सामाजिक अभ्यासमा प्रकट हुनुपर्छ l प्राय सार्वजनिक सभा समारोह तालिम गोष्ठीहरू मा सुन्न पाइन्छ l तपाई के थरि ? नाम भन्नु भयो तर जात त भन्नु भएन तपाईको थर पनि भन्नुस न भनेर समाजमा जुन प्रश्न गरिन्छ जिज्ञासा राखिन्छ देख्दा सुन्दा सामान्य लागे पनि त्यो भित्र अन्तर्निहित अर्थले हाम्रो सामाजिक चेतनाको स्तर झल्काउछ l जात व्यवस्थाको वैचारिकी प्रकट गर्छ l प्रश्न सोध्नेको दिमागमा त्यहि चिज रहेको हुन्छ यो कुन जातको मान्छे हो कथित अछुत या छुत ?
मान्छे मानवीय धर्म र स्वभाव गुण ज्ञान र सीप साधनाको कारण असल हुन्छ जातले असल र खराबको कोटी निर्धारण गर्दैन l अछुत मान्छेको मानसिकता हो l जात धर्म, समुदाय र सम्प्रदाय होइन l तसर्थ सोध्नेलाई सामान्य लाग्छ तर सोधिनेलाई नमिठोसँग दुखाउछ l हिनताबोध गराउछ l आत्मसम्मानमा धक्का पुर्याउँछ l किन सोधिन्छन चित्त दुख्ने प्रश्नहरु जान्ने, बुझ्ने भनिनेहरूबाटै ? कारण प्रस्ट छ दिमागमा गहिरो जरा गाडेर बसेको सामाजिक छुतअछुतको भावना l राजा महेन्द्रले २०२० सालमा मुलुकी ऐनको कागजमा छुवाछुत अन्त्यको घोषणा गरिएको भए पनि व्यावहारिक प्रयोगमा त्यो बेलादेखि यो बेलासम्म काविल बन्न सकेन l कानुनको डण्डाभन्दा मान्छेको भित्री मनको तहमा बसेको त्यो भाव परिवर्तन गर्न व्यापक र बृहत सामाजिक जागरण र शैक्षिक अभियान र सामाजिक रूपान्तरणको खाँचो छ l
सामाजिक र मनोवैज्ञानिक परामर्श र उपचारसँगै लैजानुपर्छ l समाजको मनोविज्ञानमा आधारित भएर छुवाछुत अन्त्यको अभियान शसक्तरूपमा चलाउनु पर्छ l ८० वर्षका वृद्द वृद्दाको मानसिकता र नव पुस्ताको मानसिकता चेतना अनि जातीय विभेदलाई, हेर्ने, स्वीकार्ने क्षमता र विकास एकै प्रकारको हुन्न l तसर्थ व्यापक मनोसामाजिक परामर्श सहितको उन्नत जागृत चेतनाको प्रसारमा ध्यान दिनु पर्छ l गैर दलितलाई जातीय विभेद के हो र यो किन गर्नु हुन्न् भन्ने प्रशिक्षण अत्यावश्यक छ l
धर्मसत्ताले निर्देशित संस्कार अब आधुनिक,वैज्ञानिक,सामयिक र विभेद रहीत हुनुपर्छ l अन्यथा मानवाधिकार हनन गर्ने मान्छेको रूपमा हामी सदैव चित्रित हुनेछौं l प्रकृति पुजक संस्कार र संस्कृति भएका हामी मान्छे प्रकृतिका सन्ततिप्रति समान व्यवहार किन गर्दैनौ ? सिप , साधना , कला श्रमका धनी केही मान्छेहरूलाई जातको कारण देखाएर घर भित्र पस्न किन दिदैनौ ? छोएको पानी किन चलाउदैनौ ? विहेवारी किन चलाउँदैनौ ?
पशु,पन्छी, पृथ्वी, चन्द्र सूर्य, जल,थल सबैप्रति कृतज्ञता व्यक्त गर्ने संस्कार एकातिर छ भने अर्कोतिर आफू जस्तै मानवलाई घर भित्र पस्न नदिने कुप्रथा र घीन लाग्दो प्रचलन छ l अबको पुस्ताले यो अमानवीय लज्जालाई सदाका लागि मेटन आफ्नो ठाउँबाट भगिरथ प्रयत्न गरिरहनु पर्छ l मन्दिर बनाउने, गजुर बनाउने,ध्वजापताका बनाउने, घण्टा बनाउने, त्रिशुल बनाउने मुर्ति बनाउनेको सिप र त्यसका सर्जकको सम्मान गर्ने वातावरण बनाउनु पर्छ l क्षेत्री ब्राम्हण समाजका पठित व्यक्ति,जाति र जनजातिका बुझेका व्यक्ति स्वयं दलित जाति भित्रका पनि एक अर्काको पानी नचलाउने समुदायका सचेत वर्गले आ-आफ्नो समुदायमा भएको छुवाछुतको नैतिक र व्यवहारिक जिम्वेवारी लिनुपर्छ l
आफ्नो घर परिवारका सदस्यले कतै गरेको विभेदको अपजस लिने र कानुनको दायरामा जाने हिम्मत जरुरी छ l परिवारका सदस्यलाई सम्झाउन नसकेको दोषको भारी बोक्ने तत्परता पढेलेखेका छोराछोरीले लिनुपर्छ l यसो भयो भने विभेद कम हुन्छ l आफ्नो समाजमा भएको जातीय विभेदको घटनाको दोष त्यो समाजबाट देसको उच्च शासन प्रशासनमा पुग्नेले लिने सामाजिक उत्तर दायित्वको भावना भयो भने जातीय विभेद अन्त्य हुन सहज हुन्छ l शिक्षक राज्यको जनस्तरमा छिटो पुग्ने प्रतिनिधि पात्र हो , सामाजिक विभेद , जातीय छुवाछुतको घटना समाजमा घट्न निदिने विशेष दुत शिक्षकलाई बनाउनु पर्छ र नैतिक, सामाजिक जिम्वेवारी उसलाई दिएर दण्ड र पुरस्कारको भागीदार बनाउनुपर्छ l
सचेतता र जागरण अनि विभेद्मुक्त समाजको लागि शिक्षकले जति जागरण अरूले ल्याउन सक्तैन l घर घरमा एकै चोटी र धेरै भन्दा धेरै संदेश दिन सक्ने प्रभावकारी माध्यम र बाटो हो शिक्षक l त्यस्तै राजनीतिक दलका नेताकार्यकर्ता सरकारको सन्देश र नीतिका संवाहक अगुवाहरू हुन् l दलका नेताकार्यकर्ता दत्तचित्त भएर यो अमानवीय कलङ्क मेट्न लागिपर्ने हो भने जातीय छुवाछुत र भेदभाव अन्त्य गर्न असम्भव छैन l दल तिनका नेताकार्यकर्ता यो अमानवीय पक्षसँग संवेदनशील छैनन् जति हुनुपर्थ्यो र हुनुपर्छ l
समस्या दलितको मात्रै होइन सबैको हो देशको हो, आम मान्छेको हो l कार्यकारी अधिकार लिएर बस्ने र उच्च ओहोदाको हो l
एउटा ब्राम्हणको छोरोले आफूलाई चिनाउदा म बाहुन हुँ, भनेर गर्वका साथ भन्न सक्छ, त्यस्तै गरी दलित समुदायको जो कोहीले आफ्नो थर गर्वका साथ भनेर चिनाउन सक्ने वातावरण बन्नु पर्छ l जसको लागि राज्य धर्म सत्ताबाट निर्देशित बन्न छोडेर देशको कानुन,एन ,नियम र संविधानबाट निर्देशित हुनु अपरिहार्य हुन्छ l थर जे सुकै होस् गर्व गर्न सकियोस l कुनै थर जात धर्मसँग हीनताबोध होइन गर्वबोध रहोस l समस्या थरमा छैन समस्या हाम्रो मानसिकतामा छ तसर्थ यो जसरी पनि फेर्नु जरुरी छ, नफेरी धरै छैन l अब फेर्ने पर्छ l नेपाली समाजको मानसिक शल्यक्रिया नगरी हुन्न l
कागजमा लेखेर हुँदैन विभेदको अन्त्य
वैधानिक रूपमा नै (२०२० ) नेपालले छुवाछुतलाई दण्डित मानेको करिब ६ दसक हुन् लाग्यो l संयुक्त राष्ट्रसङ्घ ले १९६७ देखि मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको रुपमा मनाउन लागेको ५५ वर्ष पूरा भयो l नेपालको संविधान २०७२ को प्रस्तावनामै सवै किसिमका विभेदको अन्त्य गर्ने भनेर लेखिएको छ भने धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्दको हक, धारा ४० मा दलितको हक, अनि धारा ४२ मा सामाजिक न्यायको हक र धारा २५५ मा राष्ट्रिय दलित आयोगलाई संवैधानिक आयोगको रुपमा व्यवस्था गरिएको छ l त्यस्तै विभिन्न समयमा निर्माण गरिएका ऐन,कानुन र आचार संहिता, थुप्रै घोषणा, २०२० पछिका सबै संविधानमा जातीय छुवाछुत दण्डनीय अपराध उल्लेख छ l भेदभाव विनाको समाज निर्माण गर्ने राष्ट्र सङ्घको मानवाधिकारको विश्वव्यापी घोषणा पत्र १९४८ लाई नेपाल सरकारले अनुमोदन गरेको छ भने सबै प्रकारका जातीय विभेद उन्मुलनको महासन्धी १०६९ को पक्ष राष्ट्र नेपाल रहेको छ l यति हुँदा हुँदै पनि व्यवहारमा सामाजिक चलनमा ज्युँका त्यू छ जातीय विभेद यो किन ? जातमा त्यस्तो के छ हजुर जुन चरित्र गुण मानवियतामा छैन ? मानवियता भन्दा ठुलो धर्म,जात, समता, मर्यादा र सम्मान अरु छ र ? कथित उच्च जात जुन जुन प्रक्रिया पुर्याएर जन्म लिए दलित समुदाय पनि तत् तत् प्रक्रिया पुर्याएर यो धर्तीमा आएका हुन् l वेदमा वर्णित विराटपुरुषको मुख,काँध, जाँग र पैतालाबाट मनुष्यको जन्म भ्रम हो l मान्छेको जन्मको एकै सृष्टिद्वार छ त्यो भन्दा पर अर्को जन्म दिने तागत छैन l आजकल विज्ञानले प्रयोगमा ल्याएको वच्चा जन्माउने प्रविधि पनि सृष्टिको प्रकृति भन्दा पर छैन प्रविधि माध्यम र सहयोगी बनेको मात्र हो l कथित उच्च जात विशेष विर्य र विशेष पाठेघरका उत्पादन होइनन् l अरू सबै जस्तै प्रकृति प्रदत्त हुन् l
जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभई हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या हो भनेर नबुझेसम्म यसको निदान भेट्टाउन सकिन्न । राज्य संचालकहरू, नीति निर्माताहरू,ऐन नियम र कानुनलाई कार्यन्वयन गराउन बसेकाहरू, विशेषत: राजनीतिक दलका नेताकार्यकर्ता विद्यार्थी शिक्षक,वुद्दिजिवीलगायत सचेत र प्रवुद्द नागरिक समुदायमा मा मानवीय संवेदना र नागरिक अधिकारप्रति विशेष सचेतना जरूरी छ । मानवीय सभ्यताको कलङ्क र मानवताविरोधी अपराध हो जातीय छुवाछतलगायत अन्य भेद, अपमान र लान्छना,तसर्थ रज्यका हर नागरिकदेखि उच्च पदस्तसम्म जिम्मेवार हुनुपर्छ जसको जिम्मेवारी निम्नतवरको जवाफ देहीबाट लिन सकिन्छ । जातीय छुवाछुत व्यक्तिको नैतिकता मापन गर्ने आधार पनि तय गरिनुपर्छ ।
मेरो घर परिवारले जान अन्जानमा गरेको जातीय छुवछुत र दुर्व्यहारको नैतिक र कानुनी दायित्व मेरो हो । म सजायको भागिदार बन्न मन्जुर छु । यस्तै मन्जुरी हर व्यक्तिले, हर गाउँको गाउँले प्रमुखले अनि हर जिल्लाको जिल्ला प्रमुखले सांसदले, मुख्य मन्त्रीले,मन्त्रीले एवं रीतले प्रधानमन्त्री र राष्ट्रपति सम्मले यो जिम्मेवारी र कर्तव्यबोध गर्ने हो भने जातीय विभेद न्यून भएर निर्मुल हुने वातावरण बन्छ ।
दलितसँग क्षमा याचना गरौ
विगतमा मेरा अग्रजबाट भएका जान अन्जानका सबै जातीय भेदभाव विरुद्दका दुर्भाग्यपूर्ण कार्य र नियति, नीति र नेतृत्वप्रति दुख प्रकट गर्दै क्षमा याचना गर्दछु । समता मर्यादा स्वाभिमान र मानवाधिकारको पूर्ण पालना म गर्छु र मेरो परिवार समाजलाई पालना गराउने प्रतिवद्दता गर्दछु । हामी सबै तह र तप्काले विभेद अन्त्यको लागि योगदान गर्न जरुरी छ । यो मानवाताको सवाल हो । दलित समुदाय यो देशको असली निर्माता हो l नेपाल दलित निर्मित देश हो l त्यसैले देशका निर्मातालाई विगतमा भएको अन्यायको लागि माफी माग्दै उच्च सम्मान र मर्यादा दिनु अत्यावश्यक छ । जातमा होइन मानवतामा उच्चता छ । श्रम, सिप, लगन, साधना र मेहनतमा महानता छ । सत्चरित्र,सत्मार्ग र सत्विश्वासमा मानवता छ l
देश जुन अवस्था र परिस्थितिबाट अघि बढिरहेको छ र संकटग्रस्त बन्दै छ यसले संभावित दुर्घटनालाई संकेत भने...
सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो ।
विद्यार्थी आन्दोलन कहिल्यै विसर्जन नहुने प्रवाह र जुनसुकै किसिमको निरङ्कुुशताको अपोजिसन हो– स्ववियु...