चोरीको इतिहासमा नयाँ अध्याय,सत्य घटनामा आधारित सन्दर्भ - सन्दिप थापा

आफ्नै कुरा !
शुक्रबार, २०८० माघ १९ को घटना विवरण l
काठमाण्डौ कीर्तिपुर जानुपर्ने काम थियो। जामलगायतका कारणले समय अड्कलेर हिँडेता पनि निकै ढिलो अर्थात लगभग सात पन्ध्रमा मात्र कोटेश्वर पुगियो । कोटेश्वर पुलबाट बल्खुका लागि गाडी चढियो । सिटमा एक जना (बोली सुन्दा २४़/२५) वर्षको उमेरका व्यक्ति बसे, यद्यपि उनकानुसार उनको उमेर ३१ थियो ।
उनले आफ्नो नाम विशाल बताए ।
नेपाल र भारतको अन्डर नाइन्टिन विश्वकपको लाइभ स्कोर कमेन्ट्री हेर्नका लागि फोन प्रयोग गरिरहेकै थिएँ । धेरै मानिसहरू, दृष्टिविहीनले मोबाइल चलाउँदा अनौठो र अचम्म मान्दथे । तर उनको सन्दर्भमा त्यस्तो केही भएन । 'प्रविधिका कारण तपाईँहरूको जीवन कति धेरै सहज भएको छ है' भन्दै उनले कुराको थालनी गरे । म पनि उनीसँग कुरा गर्न थाले । यसक्रममा उनले अपाङ्गताका बहुआयामिक पक्ष कोट्याए । म पनि उनीसँग कुरा गर्दै गए । 'मेरा केही साथीहरू पहिले धुप बेच्ने काम गर्नुहुन्थ्यो, अहिले कतिपय शिक्षक सेवामा नाम निकालेर शिक्षक बन्नुभएको छ, दुई जना दृष्टिविहीनहरूलाई मैले नै कुरा गरेर कन्सल्ट्यान्सीको पर्चा वाँड्ने काम गर्नुहुन्छ । त्यसबाट उहाँहरूको जीवन राम्रैसँग चलिरहेको छ।' भन्दै उनले अपाङ्गताका विषयमा एउटा बुझ्ने र जानकार व्यक्तिले गर्ने कुरा गरे, बडो समझदार र दृष्टिविहीनको व्यथा बुझ्ने र सहयोगी कुरा गरे । यसक्रममा उनले 'आफ्नो फोनमा ब्यालेन्स नभएकोले साथीलाई कल गर्ने भन्दै दुई पल्ट फोन लिए।' पछि हेर्दा कल लगमा उनको कल हिस्ट्री चैं थिएन ।
कुराकानी कै सिलसिलामा बल्खु वारि आइ पुगियो ती व्यक्तिले आफू पनि कीर्तिपुर पाङ्गा बस्ने बताएका थिए । गाडीबाट उत्रिए पश्चात उनले आफूले बस स्टेसनमा लगेर गाडी चढाइदिन्छु, मेरो सानो काम छ म पछि आउँछु भन्दै मलाई लिएर हिँडे ।' समय लगभग आठ बजिसकेको थियो । गाडी पाइने संभावना निकै न्युन थियो । माइक्रो आएको तर भिड भएकाले नरोकी गएको भन्ने कुरा उनले बताए।
'म इन्ड्राइभ बुक गरेर जान्छु नि त' भन्ने कुरा राखेँ । 'म पनि पाङ्गा जाने हो । तपाईँ हनुमानघाट जानुहुने रहेछ, यताबाट छोटकरी बाटो छ, मेरो यहाँ एक मिनेटको काम छ, ग्यारेजमा काम छ, ग्यारेजको बाटो हुँदै कुमारी क्लब र टियु गेट हुँदै छोटोबाटो हामी नयाँ बजार गेट निस्किहाल्छौँ । गफ गर्दै जाऔँला नि त भन्ने प्रस्ताव राखे। 'पहिलेदेखि अत्यन्त आत्मीय व्यवहार गरिरहेको, अपाङ्गताका सवालमा पनि जानकारी नै राखेको बस चढाउन प्रयास गरिदिएकोलगायतका कारणले निजउपर शंका गर्नुपर्ने कुनै प्रारम्भिक कारण थिएन । त्यसपश्चात मैले हुन्छ । त्यसै गरौँ न त भनेर उनीसँग हिँड्न राजी भएँ।
उनले एक मिनेटको काम छ तपाईँ यही बस्दै गर्नुस् भन्दै कतै गएर फर्किए । फर्किएपश्चात मेरो फोनबाट घर फोन गर्छु भन्दै फोन गरे । एउटा महिलाले फोन उठाइन् । 'म आज ढिलो आउँछु, नौ बज्छ होला है, आउँदा आउँदै ढिला भयो ।' उनको भनाइ रह्यो । यति भनेर फोन राखिदिए । त्यसपश्चात उनले पहिले दूधको गाडी पाङ्गा रहेको र चाबी साहुले पसलमा लिएर आएकोले साहुसँग निजको पाङ्गामा रहेको दूधको गाडीको चाबी लिने र हामी सर्टकर्ट बाटो जाने भनी कतै गए । अनि चाबी लिएको भन्दै छर्ल्याङ छर्ल्याङ चाबी जस्तो कुरा हातमा बजाउँदै फर्किए ।
हामी सर्टकर्ट बाटो हिँड्न थाल्यौँ । बाटो अप्ठ्यारो थियो । तीन वर्ष अगाडि कीर्तिपुर बल्खुको छोटोबाटो प्रयोग गरेको भएकाले, 'यताको बाटो त यस्तो थिएन है दाइ' भन्ने कुरा गरेँ । उनले अहिले बाटो बिग्रिएकाले यस्तो भएको बताए । उनले वरि परि को surroundings हरू बयान गर्दै पनि थिए । 'तपाई त देख्न सक्नुहुन्न, यहाँ यस्तो छ, यो यस्तो भैरहेको छ, दायाँतिर यस्तो र बायातिर उस्तो छ ' भन्दै audio description वाला शैलीमा वातावरणको व्याख्या गर्दै पनि थिए । मैले बेलाबेलामा सोध्थेँ, 'हामी कहाँ आइपुगियो'? उनले, अहिले कुमारी क्लब, अहिले टियु गेट, त अव हामी नयाँ बजार गेट पुग्न, ८-१० मिनेट जति छ' भन्दै जवाफ दिइरहन्थे । उनको कुरालाई नपत्याउनुपर्ने कारण थिएन, विशेषतः उनको व्यवहारले उनमा छलछामको कुनै र खासै सङ्केत मिल्दैनथ्यो ।
एउटा ठाउँमा पुगेपश्चात, एकजना कमरेडको फोन आयो । फोन काटिसकेपश्चात अर्को कमरेडलाई फोन गर्नुपर्ने भयो । 'अलि परतिर सडकबत्ती रहेनछ, फोन हातमा राखीराख्नुस् न है, अब टर्च बाल्नपर्न सक्छ, भन्ने कुरा गर्यो उसले जबकि बत्ती बलिरहेको मैले देखिरहेको थिएँ । एक जना कमरेडलाइ फोन लगाउनुपर्ने भएकाले नम्बर खोज्दै गरेको समयमा, 'फोन हातबाट फुत्त खोसेर सो मानिस कुलेलम ठोक्यो'।
र 'चोर, चोर' भन्दै कराउन पुगेँ, त्यस पश्चात मान्छेहरू जम्मा भए । अनि मात्र थाहा भयो, त्यो मानिसले नयाँ बजारतिर होइन, सीसी क्यामेराबाट छक्याउँदै छलाउँदै मलाई कुलेश्वर पुर्याएको पो रहेछ।
'विश्वास' नगरी हिँड्न नसकिने, मानिसहरूको पलपलमा सहयोगको आवश्यकता पनि पर्ने र यसरी मानिसहरूलाई विश्वास गर्दा यसरी फन्दामा पनि परिने, बडो असहज छ समय l
सो समयमा मेरो फोन हातमा नभई चेन लगाएको जकेट भित्र भएको भए सो मानिसले म उपर के के गर्थ्यो होला ? तत्पश्चात, 'केही महिना अगाडी दाङमा जेब्राक्रसबाट बाटो क्रस गराइदिने भन्दै साथमा लिएर लगेका एक व्यक्तिले एक दृष्टिविहीन साथीको ढुङ्गै ढुङ्गा हानेर हत्या गरेर निजसँग भएको सबै नगद र जिन्सी' चोरी गरी भागेको घटना मस्तिष्कमा घुम्न थाल्यो । कतै आफ्नो हालत पनि त्यही हुने पो थियो कि ? यही कुराले मथिङ्गल हल्लिइरह्यो । हिजो दिनभरी र अहिले सम्म यो त्रासदी जीवित छ।
फोनसँगै फोनमा सेभ भएका महत्वपूर्ण व्यक्तिगत विवरणहरू स्वाहा भए । तस्वीरमा कैद भएका जीवनका यादगार भावनात्मक क्षणहरू गए । सबैभन्दा महत्वपूर्ण त, कैयौँ अत्यावश्यक डाटाहरू गए र, अपाङ्गता भएका व्यक्तिहरूको कथित सपाङ्गहरूप्रतिको एउटा अविश्वासको अध्यायको प्रारम्भ भयो ।
यही भावुक त्रासद् क्षणमा अलि बढी भावनात्मक अत्याचार मार्फत चित्त दुखाउने धृष्टता गरेकोमा आत्मीय मित्रसँग क्षमायाचना गर्दै पुलिस रिपोर्टिंगको लागि म अहिले बाहिर निस्कँदै छु l
स्मरणीय: सत्य घटनामा आधारित सन्दिप थापाले भोगेको यो पीडा सन्दिप थापाजस्ता अन्यलाई पनि सजग र सतर्क रहन सहयोग पुग्ने विश्वासमा akabarey.comले यो सामग्री प्रस्तुत गरेको छ l सावधानी जताततै आवश्यक छ l
प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ।
आजको मानव जातिले आधुनिक खोज अनुसन्धानका साथै पुराना ती सम्पत्तिहरूलाई पेटेन्ट राइट्सका रुपमा संरक्षि...
उसको सम्बोधनमा जुन प्रियता र आनन्द थियो त्यति आनन्द नामको सम्बोधनमा पाइन्नथ्यो l