भलिबलमा उर्वर समय खर्चेका दुई दाजुभाइ अच्युत र कुमार

भलिबलमा आफ्ना उर्बर समय खर्चेका दुई दाजुभाइ अच्युत र कुमार नाताले दाजुभाइ हुन् l यिनीहरू कुलदीप कार्कीका १२ भाइ छोरा मध्ये कुमार खड्गबहादुरका कार्कीका नाति हुन् भने अच्युत अमरबहादुरका नाति l खड्गबहादुर कार्की तत्कालीन जफे गाउँ पञ्चायतका प्रधान पञ्च र जफेको छौड़े हाटका संस्थापक व्यक्ति थिए l त्यस्तै अमरबहादुर कार्की अमर माविका संस्थापक र समाजसेवी हुन् l
अच्युत र कुमारले तामाकोसी गाउँ पालिका वडा नं. २ अमर मावि झुलेबाट एस.एल.सी उत्तीर्ण गरेका हुन् l प्रविणता प्रमाणपत्र तहको पढाई पनि काठमाडौँ भृकुटीमण्डप स्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट गरेका हुन् l आफ्नो समयमा जात्रा पूजामा दोहोरी जमाउने नाच्ने नचाउने साझा विशेषता पनि अच्युत र कुमारसँग थियो l थुप्रै रातहरू दोहोरी गाएर काट्थे यी दुई भाइ l चलन चाल्तिको भाषामा खेलकुद, गीतसंगीत ,राजनीति र जवानीका हिरो थिए यिनीहरू l हाल आफ्नो दीर्घ परिचय र चिनारी भने भलिबल बनाएर बसेका छन् l
भलिवल भनेपछि दुवैको आत्मा बसेको खेल हो l २०४०को दशकदेखि भलिबल खेल्लान थालेका कार्की दाजुभाइ आजपर्यन्त भलिवबलकैलागि खटेका छन् l भलिबलमा जति पसिना कुनै आयआर्जन हुने ठाउँमा लगाएको भए जिन्दगीको अनुहार अर्कै हुन्थ्यो l तर यिनीहरू खेलमा भिजे l पहिले खेलाडी थिए अहिले कोच र रेफ्री अनि स्कुलमा खेल शिक्षकको रूपमा कार्यरत छन् l यी दुईलाई भलिबलको पर्यायको रूपमा दोलखामा चिनिन्छ l यी दुईको मुख्य विषय नै भलिवल हो l
अच्युत र कुमारका भलिबल गुरु यिनीहरूकै काका अमर माविका शिक्षक हाल नेकपा एमाले दोलखाका नेता बसन्तराज कार्की हुन् l भलिबल यी दुई दाजुभाइको जिन्दगीबाट झिकिदियो भने औसत मान्छे भन्दा यिनीहरूको परिचय बन्दैन l जब भलिबल थपिन्छ अच्युत र कुमार भलिबलमा योगदान गर्ने दोलखाका औलामा गनिने नाम भित्र पर्छन् l दोलखा भलिबलका दुई हस्ती हुन् यी दुई l
भलिबल खेलेर खेलाएर यिनले पाएको भनेको नाम मात्रै हो l यद्धपि नामले पेटको भोक मेटाउँदैन l तर एउटा सन्तोषको उच्छ्वास भने पक्कै दिन्छ l आजसम्म यिनीहरू भलिबलमा रम्नु रमाउनुको कारण नै मानसिक सन्तुष्टि र आत्मिक खुशी हो l
अनवरत एकै विधामा यतिलामो समय समर्पित हुनु भनेको पनि कुनै विषयमा प्राप्त उपल्लो शैक्षिक डिग्री र उपाधि जत्तिकै हो l तसर्थ दोलखा भलिवलमा कसैले कुनै डिग्री पाएको छ, लिने हकदार कोही छ, भने स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडीको मानार्थ उपाधि यस्तै समर्पण र अनवरत प्रयासको लागि हो l उपाधिको लागि यी दुई भाइ पनि योग्य छन् भन्दा अतिशयोक्ति नहोला l यिनीहरूले खेल क्षेत्र विशेषगरी भलिबलमा बगाएको पसिना केवल पसिना होइन, यो राज्यलाई खेलमार्फत गरेको योगदान हो l देशले पाएको गुण हो l यस्ता हजारौ प्रतिभा छन् जसले खेलको साख बचाएर राखेका छन् l
खेलाडी उत्पादन गर्न गरेको अथक सङ्घर्ष हो l भालिबलप्रतिको निष्ठा र अनुष्ठान हो l आज यिनै दुई दोलखा भलिबलका हस्तीबारे akabarey.comले सङ्क्षिप्त परिचय प्रस्तुत गर्दैछ l अच्युत र कुमारको खेल जीवन र व्यक्तिगत जीवनको चिनारी प्रस्तुत गर्दै हामी समाजका प्रतिभा जसको कदर स्थानीय सरकार, परदेश सरकार र सङ्घीय सरकार मार्फत हुनुपर्छ भनेर आवाज बोल्दैछौ l खेलाडी राष्ट्रका गहना हुन् l दोलखा भलिबलका दुई आभूषण अच्युत कार्की र कुमार कार्कीलाई चिनाउने प्रयास आजको अङ्कमा एस.कार्कीले गरेका छन् l
कुमार कार्की
दोलखा जिल्ला तत्कालीन जफे गाउँ पञ्चायतमा (हालको तामाकोशी-३ ) २०२९ मङ्सिर २५ मा जन्मिएका कुमार कार्की एक कक्षादेखि चनौटे प्राथमिक विद्यालय र ६ देखि १० सम्म अमर मा.वि झुलेमा अध्ययन गरी २०४९ देखि २०५१ सम्म रत्नराज्य क्याम्पस अध्ययन गरेका हुन् ल
करिब पाँच वर्ष सितेरियो कराँतेको खेलाडी बनेर ब्राउन बेल्ट प्राप्त गरेका छन् l २०५४ देखि सितापाइला मावि जफेमा रहेर आज पर्यन्त शिक्षण र भलिबल प्रशिक्षणमा व्यस्त छन् l यसका अलवा खेल शिक्षक र प्रशिक्षकको रूपमा जिल्लामा सक्रिय छन् l
कुमार आफू मात्र खेलाडी होइनन्,उनका दुई दाजुहरू पनि भलिबलका खेलाडी थिए l काका बसन्तराज कार्की भलिबलका खेलाडी,शिक्षक र प्रशिक्षक थिए उनकै प्रेरणा कुमारको भलिबल प्रेम र लगाव हो l भलिबलमा योगदान गरेबापद कुमार स्थानीय र जिल्लास्तरीय विभिन्न प्रकारका सम्मानले सम्मानित पनि भएका छन् l
अच्युत कार्की
दोलखाको झुलेमा २०३१ मङ्सिर ८ मा जन्मिएका अच्युत कार्की दोलखा जिल्ला खेलकुद विकास समितिका सचिव भएर काम गरेका व्यक्ति हुन् l जनकपुर अञ्चल स्तरीय खेलाडीको रूपमा पनि छानिएका कार्की भलिबललाई नै आफ्नो सर्वस्व सम्झेर यसको विकासमा समर्पित छन् l
अमर मा.विमा कार्यरत अच्युत २०५२ देखि अमर माविमा शिक्षकको रूपमा कार्यरत थिए l केही समय तत्कालीन सहरे गाविसको स्कुलमा पनि अच्युतले शिक्षण गरे l त्यहाँ कार्यरत अवस्थामा माओवादी द्वन्दको चपेटामा परेर जागिर छोड्न बाध्य पारिएका व्यक्ति पनि हुन् अच्युत l पछि फेरि अमर माविमा कर्मचारीको रूपमा जागिरमा जोडिएका अच्युत भलिबललाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाएर आजपर्यन्त भलिबलको लागि समर्पित छन् l
जिल्ला स्तरीय हरेक भलिबल प्रतियोगितामा अच्युत बोलाइन्छन् l अच्युतलाई स्थानीय स्तरबाट भलिबलमा योगदान गरे बापद, प्रशंसापत्रले सम्मानित गरिएको छ l अच्युत दोलखा भलिबलका च्याम्पियसिप विजेता खेलाडी पनि हुन् l अच्युतका भाइ पनि खेलाडी नै हुन् l अच्युतका दुई भाइ छोरा पनि अहिले भलिबलमा नै सक्रिय छन् l अच्युत स्थानीय र जिल्लामा सम्मानित भएका छन् l
भलिबल नै सबथोक
अच्युत र कुमार राजनीतिक आस्थाको रूपमा फरक फरक कित्तामा छन् तर उनीहरूको मुख्य पहिचान भलिबल हो l भलिबलप्रतिको समर्पणले यी दुई भाइले जे जति आर्जन गरेका छन् त्यो स्तुत्य छ l उमेरमा कुमार दाजु हुन् तर भाइ अच्युतलाई उनको सम्मान र स्नेह बेस्सरी छ l
अच्युत पनि दाजु कुमारप्रति उत्तिकै आदरभाव राख्छन् l विगतमा अच्युत र कुमारको जफे झुलेको भलिबल टिम (जेजेभिटि) एउटा ब्राण्ड नै थियो l जफे झुलेको भलिबल टिम भनेपछि दोलखा भलिबलमा सधैँ हावी हुने टिम हो l अच्युत कुमारलगायत अन्य काका बाउ र बडा बाउका छोराहरू पनि दोलखा भलिबलमा लामोसमय योगदान गरेका व्यक्तिहरू छन् l दोलखाको जफे झुले वरपर आज जति पनि खेलाडी छन् तिनीहरूको उत्पादनमा यी दुईको नाम जोडिन्छ l
अच्युत र कुमारले भलिबल खेल्ने र खेलाउने क्रममा जति दुख गरेका छन् जति गोजी रित्याएका छन् जति पसिना झारेका छन् l घरपरिवारको जति समय बर्बाद पारेका छन् त्यसको दाँजोमा उनीहरूले राज्यको तर्फबाट केही पाएका पनि छैनन् तर जति दिएका छन् भलिबल खेलाडी र भावी पुस्तालाई दिएका छन् l
कुमार र अच्युतसँग भलिबल खेल्न जाँदा ऋण खोजेर गएका कथाहरू छन् l खेलाडीलाई खेल खेल्न जान, ड्रेस किन्न, लजिंग र फुडिङको खर्च जोहो गर्न ऋण माग्न जाँदा बेहोरेका अपमानहरू छन् l वचन दिएर पनि सहयोग नगर्दा चित्त दुखेका घाउहरू छन् l यो व्यथा कथा व्यक्ति अच्युत र कुमारको मात्र होइन हाम्रो देशका प्राय खेलाडी प्रशिक्षक र खेलसम्बद्ध सबैको हो, मात्र प्रतिनिधि अच्युत र कुमार हुन् l नेपालको खेल क्षेत्रको ऐना हो अच्युत र कुमारको जीवन पनि l
अच्युत र कुमारले २०४५ कोजिल्ला स्तरीय वीरेन्द्र सिल्ड प्रतियोगितादेखि जिल्ला स्तरीय भलिबलमा प्रतिष्पर्धा गरेका हुन् l जतिबेला भलिबल खेल्न जाँदा कुनै ड्रेस थिएन न स्कुलको ड्रेस किनिदिने हैसियत थियो न खेलाडीको नै त्यस्तो बेलामा पनि सेतो गन्जीमा साइनपेनले नम्बर लेखेर खाली खुट्टा भलिबल खेलेका क्षणहरू छन् l घाउ चोट लाग्दा बान्ने कुनै ब्यान्डेज हुँदैनथ्यो l सम्पन्न स्कुल र सदरमुकाम र सहरी इलाकाका खेलाडीहरूको रबाफ खेलकुद ड्रेस गजब हुन्थ्यो आकर्षक हुन्थ्यो तर अच्युत र कुमारले भलिबल खेल्दाका अभावका दिनहरू दुखदायी थिए l
अरू खेलाडीको बसाई खुवाइ र डाइट हुन्थ्यो तर अच्युत र कुमारको टिमसँग सबैभन्दा बढी प्राकृतिक स्टामिना हुन्थ्यो l यिनीहरू दुई छाक मुश्किलले जुटाएर खेल खेल्न पुग्थे l त्यसैले असहजताका बाबजुद पनि सहज रूपमा खेल्थे l अन्य खेलाडीहरू निक्याप, ब्यान्डेज र टेप सहित मैदानमा हुँदा यिनीहरू भने गतिलो ड्रेस जुत्ता समेत नलगाइ मैदानमा भिडथे l यी अलि पहिलेका प्रारम्भिक दिनका दुखका दिनहरू थिए l
जब यिनीहरू आफै जागिरे भए तब केही सहज भयो l सहज त भयो तर आफ्नो घर चलाउने गोजी खेलकुदमा जाँदा आउँदा टिम बनाउदा प्राक्टिस गर्दा रित्तो बन्थ्यो l जसको कारण पैसा सकेको भनेर घरमा गाली खानु पर्थ्यो l यद्दपि भलिबलको अगाडि गाली अपमान र पीडा फिका हुन्थ्यो l सपना जपना भलिबल थियो त्यसैले आफ्नो परिवारको गाँस काटेर भलिबलमा लागे l
विगतको जस्तो भलिबल या कुनै पनि खेलको लागि आज असहज अवस्था छैन l सहयोग गर्ने मनकारी हातहरू छन् स्थानीय वडा र पालिकाहरूले पनि सहयोग गर्छन् खेलकुद अलि सजिलो भएको छ l विगतमा खेल जितुन्जेल नाम हुन्थ्यो तर जब खेल सकिन्थ्यो l खेल हारिन्थ्यो तब काम नगरेर बराला भएर खेल्ने काम न काजका मान्छेको रूपमा खेलाडी चिनिन्थे l
अच्युत र कुमार आज किन पनि खुशी छन् भने उनीहरूले प्रशिक्षित गरेका खेलाडी बिभिन्न क्लबबाट खेल्छन् कोही आर्मीमा छन कोही ससस्त्रमा खेल्छन कोही नेपाल प्रहरीका खेलाडी छन् l यी उपलब्धिले भने सन्तुष्ट बनाउँछ l जब खेलाडीहरू आफ्ना गुरु भनेर यिनीहरूको नाम लिन्छन् त्यतिबेला भने बडो सन्तोष लाग्छ रे l अच्युत र कुमार आफ्नो टिममा सुरू देखि खेल्ने खेलाडीहरूको पनि स्मरण गर्छन् l गुरु बसन्तराज कार्की र ढालकृष्ण कार्की पनि अच्युत र कुमारको खेल जीवनका पुरक नामहरू हुन् l
अच्युत र कुमारको लागि भलिबल यस्तो नशा बन्यो, खेल खेल्दा,खेलाउँदा उनीहरूले कैयन पटक आफ्नो काम बिर्से, कर्तव्यमा तलमाथि भयो l परिवारलाई समय दिन सकेनन्, भोक निन्द्रा त्यागे, आफ्नो जीवनको उर्बर समय र ऊर्जाशील अवधि भलिबलको उन्नयन र विकासमा समर्पण गरे l
राज्यप्रति यिनीहरूको ठुलो गुनासो पनि छैन l हामीले केही प्राप्त होला भनेर भलिबलमा लागेका होइनौ l खेलमा रुचि जाग्यो खेल्दै जाँदा खेलाडी प्रशिक्षक र रेफ्री बनियो l निरन्तर लागियो l तथापि राज्यले आफ्नो दायित्व निर्वाह गर्नु पर्छ l खेललाई सर्वस्व ठान्ने खेलाडी समाजका गहना हुन् l राष्ट्रका निधि हुन् l सम्मान गरौ l आफ्नो जीवनको अत्यधिक उर्वर समय खेलका लागि सुम्पेर नेपाली खेलकुद विशेष गरी भलिवलमा यी दुई जोडाले पुर्याएको योगदान स्मरणीय छ/ रहनेछ l
९९ वर्षीया झुलेका शताब्दी व्यक्तित्व श्री कटकबहादुर तामाङ ले सिल्ड / मेडल र प्रमाण-पत्र प्रदान गर्नु...
मङ्सिर २८ देखि ३० गतेसम्म सम्म चल्ने उक्त कार्यक्रममा तामाकोसी गाउँपालिका झुलेको हेल्थपोस्ट स्थित खे...
छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ मङ्सिर २८ गते उदघाटन गर्ने कार्यक्रम रहेको छ l