'म भित्रको कवित्व क्रमशः मरिरहेछ' - विमल भौकाजी

स्तम्भ -'मसँग'
'मसँग' एक पृथक स्तम्भ हो । यो स्तम्भमा नेपाली वाङ्मयका विविध साधक/स्रष्टाहरूसँग संवाद गरिन्छ । 'मसँग'को पहिलो अङ्क नेपाली वाङ्मयका चर्चित कवि / निबन्धकार / कथाकार तथा सम्पादक विमल भौकाजी हाम्रो अतिथि हुनुहुन्छ ।
विमल भौकाजी रामेछापको साँघुटारमा वि.सं. २०२० माघ १० गते पिता भीमबहादुर भौकाजी तथा माता नैनकुमारी भौकाजीको कोखमा जन्मनु भएको हो । स्नातकसम्मको अध्ययन गर्नुभएको भौकाजी कवि / निबन्धकार / कथाकार / साहित्यिक पत्रकारिताका अलवा बालसाहित्यको समेत सक्रिय स्रष्टा हुनुहुन्छ । हाल उहाँ नेपाली साहित्यको जेठाे पत्रिका शारदा मासिकको सम्पादक हुनुहुन्छ ।
वि.सं. २०४० सालमा 'नियोजन त्रैमासिक' पत्रिकामा ‘रमिते’ कथा प्रकाशित गरेर साहित्यमा होमिनु भएका भौकाजीको 'तीन आँखाका मान्छे' (संयुक्त कवितासङ्ग्रह, २०४५), 'जिन्दावाद मुर्दावाद' (संयुक्त कवितासङ्ग्रह, २०४७), 'यात्रापछि यात्रा' (संयुक्त साहित्यसङ्ग्रह, २०४९)'असिनाभूत' (बालकथासङ्ग्रह, २०६२, २०६४), 'जसको जोत उसको पोत' (व्यङ्ग्यसङ्ग्रह, २०६४, २०६६, २०६९),
'श्रीपेच नलगाएका राजा' (व्यङ्ग्यसङ्ग्रह, २०६८),
'आऊ हल्ला गरौँ ' (व्यङ्ग्यसङ्ग्रह, २०७५),
'द्रौपदी देश' (व्यङ्ग्यसङ्ग्रह, २०७५),
'को होला त्यो मान्छे ?' (नाटक–लेखन, निर्देशन), 'इतिहास साक्षी छ' (नाटक–लेखन, निर्देशन) लगाएतका मौलिक सिर्जनाहरू प्रकाशित छन् ।
राष्ट्रिय स्तरका पत्रपत्रिकामा करीब दुईहजारभन्दा बढी लेखरचना प्रकाशित गरेका भौकाजीको पाँच दर्जनभन्दा बढी यशस्वी स्रष्टाहरूका पुस्तक सम्पादनको अनुभ छ । विभिन्न पुरस्कार सम्मानबाट सम्मानित लामो समयदेखि साहित्यमा साधनारत साधक श्री विमल भौकाजीसँग 'मसँग' स्तम्भका लागि श्रीबाबु कार्कीले गरेको कुराकानी ।
• विमल दाइ नमस्कार । कसरी वितिरहेको छ आजभोलि तपाईंको दिनचर्या ?
- सामान्य यही साहित्यिक गतिविधिमै समय गएको पत्तै हुन्न ।
• तपाईंको परिवार त व्यवसायिक खान्दानको हो, तपाईं कसरी पारिवारिक विरासत चटक्कै छोडेर साहित्यमा नजिकिनु भयो ?
- स्कूले जीवन र करीब कलेजकालसम्मै व्यापार–व्यवसायमा संलग्न थिएँ । तथापि, नजानिँदो किसिमले त्यो समयमा पनि किताब पढ्ने लत भने बसिसकेको थियो । ११-१२ वर्षदेखि करिब २० वर्षको उमेरसम्म शारीरिक अस्वस्थ्यताको जीवन गुजारेको त्यो समयमा प्रशस्तै किताब पढेँ । स्वभावतः त्यो किशोरवयमा हिन्दी उपन्यास र नेपाली उपन्यासहरू पढ्दापढ्दै नेपालका महान् साहित्यकारका कृतिहरूसँग यसरी भिजेँ कि त्यसबाट उम्कने बाटो सोच्न पनि सकिएन ।
• तपाईंको लेखन कविताबाट भयो । एक गम्भीर कविको रूपमा तपाईंलाई चिनिन्छ तर अहिले निबन्ध र सम्पादकका रूपमा बढी सक्रियता देखिन्छ । निबन्ध र सम्पादनले कवि विमल भौकाजीभित्रको कवित्वमा क्षय त पुर्याइरहेको छैन दाइ ?
- एकदम सही खुट्ट्यानुभयो श्रीबाबुजी, मभित्रको कवित्व क्रमशः मरिरहेछ । यो सत्यताबाट म अनभिज्ञ छँदै छुइनँ । तर, आजको दिनमा मूलतः सम्पादन-कार्यमा सम्पूर्ण समय व्यतीत हुने भएकोले आफ्ना सिर्जनामा ध्यान पुग्न नगएकै हो । यद्यपि, यसमा म सचेत छु ।
• तपाईंले प्रारम्भिक चरणमा देखेको साहित्य र अहिले देखिएको नेपाली साहित्यको परिवेशमा कत्तिको अन्तर पाउनुभएको छ ?
- आकाश-जमीनको फरक देख्छु म । उहिले, बजारमा कुनै एउटा किताब आएपछि त्यसको महत्वै अर्कै हुन्थ्यो । आज साहित्यकारहरू ‘ग्याङ’मा विभाजित भएका कारण तीसँग जोडिने पत्रकार-मिडियाहरू मार्फत साहित्यिक क्षेत्रको परिवेश आफूखुशी बनेको छ । एउटा व्यक्ति वा संस्थाले कुनै निश्चित किताब र व्यक्तिका बारे लेख्यो, चर्चा गर्यो र पुरस्कार-सम्मानसम्मका लागि पहल गर्यो, अनि फेरि त्यसको सट्टाभर्ना गरिदियो । बस्, यसरी चलिरहेछ आजको साहित्य । कुनै गहिराइसम्म पुगेर साहित्यिक चर्चा-विमर्श गरिने परम्पराबाट लेखक-समीक्षकहरू विमुख भएका देखिन्छन् l
• सिर्जना क्षेत्रमा लाग्न केले प्रेरणा गराउँदो रहेछ ?
- समयले र खास गरी आफू अघिल्तिरको वातावरणले । त्यसो त, काल्पनिकता पनि केही हदसम्म साहित्य-सिर्जनाको स्रोत हुन सक्छ भन्ने मेरो मान्यता रहिआएको छ ।
• संसारका कुनै पनि कवि / समालोचकहरूले कविता यस्तै हुनुपर्छ भनेर त भन्न सकेका छैनन् । यद्यपि एउटा कविले मलाई यस्तो कविताहरू मन पर्छन् भन्न सक्छ । तपाईंलाई चाहिँ कस्ता कविताहरूले मस्तिष्कमा गहिरो प्रभाव छोड्छ भन्ने लाग्छ ?
- केवल शब्दहरूको भण्डारणमा कविताको शैली अपनाइएको लेखन वास्तविक कविता हुँदैन, जसले जीवनमा कुनै प्रभाव पार्दैन, कुनै अर्थ राख्दैन । यस हिसाबमा जीवनलाई नजिकैबाट छुने कविता नै प्रभावशाली हुन्छन् ।
• कवि / निबन्धकार / कथाकार वा सम्पादकमध्ये आफूलाई कुन विधामा चिनाउन पाए हुन्थ्यो भन्ने लाग्छ ?
- मेरो लेखन-यात्रा जानी-नजानी कविताबाटै भयो । लेख्नलाई अन्य विधामा पनि धेरै लेखिए तर पनि कविताबाटै म बढी प्रष्टिन्छु कि जस्तो लाग्छ ।
• कवितामा धेरै धारहरू छन् । तपाईं सम्पादक [ सम्पादक समालोचक पनि हो ] पनि भएकोले अहिले कवितामा कुन धारमा अगाडि बढेको छ भन्ने लाग्छ ?
- माथि नै पनि भनेँ, जीवनलाई नजिकैबाट छुने कविता नै प्रभावशाली हुन्छ र वास्तवमै साँच्चो कवितामा नै यस्तो शक्ति हुन्छ जसले सहजै जीवन-बोध गराउँछ भन्ठान्छु म । तर, आजका कवितामा सामयिकतामा मात्रै जोड दिएको पाइन्छ, बाँचिराख्ने खालका ती हुन्नन् । त्यस्ता कवितामा एकछिनका लागि ताली खान सकिन्छ, तर त्यहाँ मनको ताली बज्दैन ।
• नेपाली साहित्यको ऐतिहासिक पत्रिका ‘शारदा’को सम्पादक पनि हुनुहुन्छ, निजी प्रयासबाट पत्रिका चलाउँदा आउने चुनौतीहरू कसरी अनुभूति गर्नुभएको छ ?
-‘शारदा’ मेरो जीवनको पर्याय भएको छ । यतिखेर शारदालाई मेरो जीवनबाट झिकिदिने हो भने सम्भवतः मेरो नाममा शून्यता छाउँछ । यस अर्थमा पनि शारदा-प्रकाशनको बाटोमा आइपर्ने कुनै पनि चुनौतीसँग म लड्न-भिड्न सक्षम भइसकेको छु । व्यावहारिक सङ्घर्षको अनुपातमा शारदासँगको चुनौती मलाई न्युन लाग्छ l
• नेपाली साहित्यमा सम्मान र पुरस्कारहरू धेरै विवादित भएको पाइन्छ । यसमा तपाईंको धारणा के छ ?
- पुरस्कार-सम्मानको बाटोमा साहित्य-कर्म गरिरहेको भए त्यससँग सम्बन्धित कुनै पनि प्रश्नको जवाफ म सजिलै दिन सक्थेँ । तर, तन-मन-धनले समेत मैले केवल साहित्यिक एकाग्रता अँगालेका कारण पुरस्कार-सम्मानको विषयमा विवाद हुनु वा नहुनुसँग म कुनै सरोकार राख्दिनँ ।
• अहिलेसम्म तपाईंको लेखनको मूल ध्येय तपाईंको ख्याति, लेखकीय आत्मरञ्जना वा समाजप्रतिको उत्तरदायित्व के हो भन्ने ठान्नुभएको छ ?
- शुरूमा जानी-नजानी लेखियो । कालान्तरमा यस्तो पनि स्थिति आयो नलेखेको दिन नै हुन छाड्यो । तपाईं छक्क पर्नुहोला, एकताका महिनामा मेरा ४०/ ४५ वटासम्म रचनाहरू छापिन्थे । त्यो ऊर्जा सम्झेर अहिले आफैँसँग आरिस लाग्छ । अहिले फर्केर हेर्दा, मैले केका लागि लेखेँ हुँला भन्ने प्रश्न बारम्बार मनमा उठिरहन्छ । त्यसैले, तपाईंको प्रश्नको ठोस उत्तर म दिन सक्दिनँ नै । यस्तो लाग्छ- साहित्य लेखेरै-पढेरै सन्तुष्टिको जीवन बाँच्न भने सहज भएको छ ।
• तपाईं आफ्ना अनुज पुस्ताका सर्जकहरूबाट कस्तो सिर्जनाको अपेक्षा गर्नुहुन्छ ?
- सामान्यतः समकालीन पुस्ताबाट जुन अपेक्षा पूरा हुन सकिरहेको छैन । अर्को शब्दमा भन्नुपर्दा, अनुज पुस्ताबाट यस्तो सिर्जनाको अपेक्षा गर्छु जो सर्वकालिक होस्, जसले जीवनलाई नजिकबाट छोओस् !
• कविता लेख्दा, निबन्ध लेख्दा, सम्पादन गर्दा वा पुस्तक पढ्दा तपाईंलाई कुन कुराले बढी आनन्दानुभूति प्राप्त हुन्छ ?
मेरो लेखनप्रति कसैले जे सुकै प्रतिक्रिया जनाओस् वा नजनाओस् त्यसप्रति मेरो कुनै गुनासो छैन ।
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् । यो सात वर्षको अवधिमा जनताले अनुभूति गर्नेगर...
खानी खनिजको सदुपयोग अहिलेको आवश्यकता हो । तर प्राकृतिक स्रोत साधनलाई वन पर्यावरण भनेर खण्डित गरिएको...