१२ कक्षाको विद्यार्थीको कारुणिक सपना देशमा बस्न सकिएन, 'खाडीमा भेटौंला' - सञ्जीव कार्की

वैदेशिक यात्राको प्रक्रिया र प्रयोजन फरक फरक भए पनि अन्ततः यसको मूल उदेश्य आयआर्जनको लागि नै हो l रोजगारीको अवसर,विकल्प र भरपर्दो आयस्रोत वैदेशिक रोजगारी बनेको छ l वैदेशिक रोजगारी बाध्यता,गन्तव्य, रहर र फेसन भइरहेको छ l यसर्थ वैदेशिक रोजगारीको बारे चर्चा चुलिनु र यस सन्दर्भका सकारात्मक नकारात्मक कुरा आउनु स्वाभाविक छन् l विद्यार्थीहरूको १२ कक्षाको बिदाई कार्यक्रममा एक विद्यार्थीले आफू जस्तै अर्को साथीलाई याद स्वरूप सर्टमा लेखेको ‘खाडीमा भेटौला’ भन्ने वाक्यांशले सबैको ध्यान आकृष्ट गरेको छ l १२ कक्षाका विद्यार्थीहरूले लेखेर स्मृति साटासाट गर्नेक्रममा थुप्रै कुरा लेखेका छन् जस्तो : जापानको यात्रा सफल होस्,कोरिया यात्रा सफलताको कामना,वैदेशिक यात्राको शुभकामना इत्यादि l तर सबैको ध्यान ‘खाडीमा भेटौला’ ले खिच्यो l दुई अक्षरको चिनोमा नेपालको यूगको प्रतिबिम्ब बोलेको छ l नेपालले भोगेको समयलाई चिनाएको छ l साहित्यको समाजशास्त्रका आधार स्तम्भ हिप्पोलाइट टेन भन्छन् : ‘साहित्य विश्लेषणको महत्त्वपूर्ण आधार क्षण हो l जसले त्यो युग भोग्नेको,अवस्था,विचार,सामाजिक,सांस्कृतिक,राजनीतिक र समयको पेट बोली बोलेको हुन्छ, त्यस समयको चिन्तन रुचि अभिष्ट र आकांक्षा र बाध्यताको उजागर गरेको हुन्छ l ’ साहित्य र भाषाले निश्चित युगको सत्यलाई उदबोधन गर्छ l समाजको प्रतिविम्बन उतारेको हुन्छ l १२ कक्षाका विद्यार्थीले आफ्नो साथीसँग छुट्ने बेला लेखेको छोटो ‘सर्ट साहित्य’मा आजको युगलाई प्रतिनिधित्व गराउने वैदेशिक रोजगारीको समय इंगित भएको छ l साहित्य त्यस्तो चिज र विषय हो यसले भाषाका माध्यमबाट युग उद्बोधन गराउँछ l तत्कालीन समाजको परिवेश र परिस्थितिको घटना परिघटना बोध गराउँछ l समाजको यथार्थ चित्रण गर्छ l ‘खाडीमा भेटौला’यसको कारण हो खाडी अत्यन्त जोखिम भएको र कम आय हुने र गरिबको रोजगारीको अन्तिम विकल्प,गन्तव्य र सपनाको स्थल हो l अझ विशेष र गम्भीर कुरा भर्खरै १२ सकेको विद्यार्थीले आफ्नो भविष्य त्यता देख्नुमा छ l हाम्रो शिक्षाले र हाम्रो राज्यले आफू चुकेको प्रमाण विद्यार्थीको भावना मार्फत अभिव्यक्त गराइ रहेका छन् l आफ्नै जन्मभूमिको शिक्षामा विश्वास नभएको र रोजगारीको कुनै सम्भावना यहाँ नदेखिको, र अन्य व्यवसाय र पेशाको वैकल्पिक आधार दिने शिक्षा नभएकोले विद्यार्थी वैदेशिक रोजगारको लागि सपना देख्छ l त्यही सपनाका कुरा 'खाडीमा भेटौंला' भन्ने विद्यार्थीको धारणामा प्रतिविम्बित छ l के हाम्रा शिक्षालय, उच्च शिक्षा विश्वबजारमा प्रतिष्पर्धा गर्न नसक्ने बनेका हुन् ? हाम्रो शिक्षाले जागिर र वैदेशिक रोजगार बाहेक देशमा नै काम गर्ने नयाँ सोच दिने शैली सिकाउने, राज्यले फ्यासिलेटेड गरिदिने सबै उपायको अन्त्य भएको हो ? उच्च शिक्षा र रोजगारीको अन्तिम गन्तव्य विदेश मात्रै हो ? रसियन सेनामा भर्ति भएर मर्ने नियति देखेर राज्यको पोलिसी लेवलमा बस्ने र पोलीसी बनाउनेको चित्तमा कतै कहिल्यै ऐया भएर दुख्दैन ?यसै शिलशीलाको चर्चा गर्दा वैदेशिक रोजगारको इतिहास र वर्तमानको स्थितिको परिचर्चा आवश्यक हुन्छ l
वैदेशिक रोजगारीको इतिहास
सन् १२१६ मा कलाकार अरनिको तिब्बत गएदेखि नेपाली कामदार वैदेशिक रोजगारमा जान लागेको कुरा सत्यमोहन जोशीले ‘कलाकार अरनिकोमा’ उल्लेख गरेका छन् l त्यतिवेला ८० जना मूर्तिकारहरू र सहयोगी तिब्बत गएको पढन पाइन्छ l सन् १८१४ देखि नै श्रमिकहरू भारत, भुटान,वर्मा र मलेसियामा जाने गरेको कुरा पनि पढन पाइन्छ l सन् १८१५ भारतमा व्रिटिश सरकार भएको बेला इष्टइन्डीया कम्पनीले नेपालीलाई सैनिकमा भर्ना गर्न लाहोर पुर्याई तालिम पश्चात भारतका विभिन्न स्थानमा परिचालन गरेको र त्यही बेलादेखि लाहोर जाने कुरा अपभ्रम्स भएर लाहुरे भएको बुझिन्छ l लाहुरे संस्कृति र वैदेशिक रोजगारीमा जाने सङ्ख्या बढेर आज दिनको दुई हजारको हाराहारीमा छ l आज लाहुरे बन्न सातै महादेश खुला भएको छ l हाल संस्थागत ११० र व्यक्तिगत १७२ देशमा नेपालीहरू कामादार भएर जाने गरेका छन l सरकारले श्रम स्वीकृति लिएका १० देशसँग मात्र श्रम सम्झौता गरेको छ l विसं.२०४२ सालमा वैदेशिक रोजगार ऐन बन्यो यो बन्नु भन्दा ७ सय वर्ष पहिले देखि नेपालीहरू विदेश जाने गरेका थिए l विधिवत रुपमा २०५०/०५१ देखि मात्र वैदेशिक रोजगारीमा नेपालबाट जानेको तथ्यांक राख्न थालिएको थियो l ८०० जति दर्तावाल मेनपावरले रोजगारीको लागि नेपाली युवालाई विदेश पठाउने काम गरिरहेका छन् l सबैभन्दा दुख लाग्दो पक्ष के रह्यो भने जतिबेला नेपालमा व्यवस्था परिवर्तन भयो २३७ वर्षको वंशानुगत राजतन्त्र र करिब ३ हजार वर्षको राजतन्त्रको परम्परालाई अन्त्य गरेर देशले नयाँ फड्को मारेको २०६३/०६४ देखि रोजगारीमा जाने सङ्ख्या वृद्दि दुई लाख चार हजार भयो र हाल सङ्ख्या बढ्दो क्रममा छ l मित्र राष्ट्र भारतलगायत अहिले वैदेशिक रोजगारीमा रहेकाहरूको सङ्ख्या ८० लाखभन्दा माथि भएको आँकलन गरिन्छ l नेपालको ठुलो तागत देश बाहिर छ l देशमा युवा शक्ति र देश बनाउने जनशक्तिको अभाव हुँदै गैरहेको छ l
खाडीमा भेटौला
सन्दर्भ यही हो जहाँ १२ कक्षाका विद्यार्थीले आफ्नो भविष्य मातृभूमिमा देख्दैन र कहालीलाग्दो दिन सम्झेर खाडीमा भेट्ने प्रतिवद्दता आफ्नो साथीलाई यादगार चिनोमा लेख्छ l विद्यार्थीमा हुर्किएको मनोविज्ञान सामान्य होइन समयको ऐना हो l हामीले कस्तो देश निर्माण गर्यौ ? देश किन यस्तो भयो ? शिक्षा रोजगारीको अवसर देशले दिन सकेन, हामी कहाँ चुक्यौ ? अव विमर्श गर्ने विषय हो l विद्यार्थीले आफ्नो कहाली लाग्दो भविष्य सम्झेर आँशुलको मसीले लेखिएको समाजको जल्दोबल्दो दस्तावेज हो खाडीमा भेटौला भन्ने साहित्यिक हरफ l घरको चुहिने छानो र चर्किएको भित्तो टाल्ने, छोराछोरी पढाउने र विरामी बाबुआमाको उपचार गर्ने सपना बोकेर देश छोड्ने युवाको पेट बोलेको कथाको एक अंश हो यो उदगार:'खाडीमा भेटौला'l रातो बाकसमा पोको परेर आउने मान्छेको निर्जीव शरीरमा प्राण हुँदा ओकलेको मुलुकको वर्तमानको गाथा हो l कटु यथार्थ हो l हाम्रो राजनीतिले बाटो बिराउँदा देश कस्तो हालतमा छ भन्ने ऐना हो l
देशमा गरी खाने वातावरण नहुनुमा दोषी को ? हाम्रा खेतबारी बाँझै राखेर श्रम,पसिना र रगत पोखेर अर्काकै खोरिया किन मलिला हुन्छन् ? देश रूखो पारेर परदेश मलिलो बनाउने नीति कसले अवलम्बन गर्यो ? बलिया र भरपर्दा पाखुरी विदेश पठाएर स्वदेश जिर्ण बनाउने नीतिको पुनरावलोकन अब पनि नगर्ने ? युवा पुस्ताले आसाको सम्प्रेषण गर्नु पर्नेमा किन निराशा पोखे ? खाडी निराशा हो, आशा जापान कोरिया, क्यानाडा, अस्ट्रेलिया,अमेरिका,जर्मनी, बेलायतलगायत देशहरू हुन् l तर ती देशमा कति छन् नेपाली ? समग्रमा जो जहाँ भए पनि परदेश आसाको उज्यालो होइन् l आशा देशमा नै खोज्नु पर्छ l अन्यथा देश संकटग्रस्त बन्ने छ l
हाम्रो शिक्षामा खोट
हाम्रो शिक्षाले देश भक्ति सिकाउन किन सकेन ? नैतिकताको पाठ पढाउन किन कन्जुस्याई गर्यो ? आफ्नै देशमा श्रम,सीप र साधना भन्ने शिक्षा हामीले किन पाठ्यक्रममा राख्न सकेनौ ? सिपमुलक शिक्षा दिन नसक्ने दोष कसको ? प्रा.डा. युवराज सङ्ग्रौलाले भने झैँ ‘पचास हजारको मोबाइल बोक्ने र तीन किलोमिटरको लागि पाँच लाखको मोटरसाइकल चढ्ने युवा बिहान ९ बजे तिर आङ् तान्दै यो देशमा अवसर भएन भन्छ l देशमा अब गर्न सकिन्न, केही छैन र केही भएन किन भन्छ ?’विदेशमा बगाउने पसिना स्वदेशमा बगाउन सके यही सुन फल्छ भन्न हामीलाई के ले रोक्यो ? विदेश पनि मेहनतिको लागि मात्रै हो अल्छेलाई जहाँ पनि उस्तै हो l स्वदेशमा श्रम गरौ भनेर स्वरोजगार मूलक शिक्षा,सीप,तालिम र प्रविधि दिन नसक्नुको पछाडि हाम्रो कमजोरी के रह्यो ? शैक्षिक नीति र पाठ्यक्रम निर्धारणमा समस्या आयो कि ? शिक्षक विद्यार्थीले अराजनीति गरेर शिक्षालय बर्बाद भए ? प्रश्न शिक्षक,विद्यार्थी, अभिभावक,नीति निर्माता नेताहरू र बौद्दिक प्राज्ञिक सबैले आफैलाई पनि गर्ने हो कि ? हामी चुकेको हाम्रै कारण र प्राथमिकता तोक्न नसक्ने प्रवृतिले हो l शिक्षा सर्टिफिकेटको चाङ मात्रै होइन यो ज्ञान,प्रविधि, सिप र रोजगारीको हतियार हो l सर्टिफिकेट खाडीको श्रम बजारका भुत्ते हतियार मात्र किन बनाइयो ? स्वदेशमा नै रोजगार सिर्जना गर्ने शिक्षा दिन किन सकिएन ? जागिर, वैदेशिक र रोजगार र डाक्टर इन्जिनियर मात्र सबैभन्दा ठुलो भन्ने मनोवैज्ञानिक अवस्था किन बनाइयो ? श्रम सिप र साधनाले जे काम गरे पनि हुन्छ काम ठुलो सानो होइन, श्रम सबभन्दा मूल्यवान चिज र झन् मूल्यवान आफ्नै जन्मभूमिमा पोख्नु र नेपालकै सेवा गर्नु हो भन्ने मानसिकता किन विकास गर्न सकिएन ?
वैदेशिक रोजगारका फाइदाहरू
वैदशिक रोजगारीले एकातिर बेरोजगार समस्या हल गरेको छ भने आर्थिक आयआर्जनले परिवार व्यवस्थित बनेको छ l वाल वच्चाको शैक्षिक अवस्थामा सामान्य सुधार आएको छ l रेमिटेन्सले देश भित्रको आर्थिक क्रियाकलाप संचालनार्थ महत्त्वपूर्ण योगदान दिएको छ l महङ्गो सङ्घीयता धान्न र नेताहरू र विशिष्ट व्यक्तिको विदेशमा उपचार गर्न विप्रेषणले काम गरेको छ l
वैदेशिक रोजगारका बेफाइदाहरू
वैदेशिक रोजगारी अल्पकालीन व्यवस्था हो l जसको पुष्टि कोरोना कालमा ७ लाख मान्छेले रोजगारी गुमाएर देश फर्केको तथ्यांकले गर्दछ l वैदेशिक रोजगारीमा जाँदा पारिवारिक समस्या, बुढाबुढी बाबुआमा र अशक्त परिवारका सदस्यको विचल्ली,ज्यान जोखिमको खतरा,विदाको समस्या, विमाको समस्या, स्वास्थ्यको समस्या,रोजगारीको पनि समस्या, दक्ष र सिप भएका जनशक्ति श्रमिकको स्वदेशमा अभाव विदेशमा असुरक्षा,अभाव,अमर्यादा,न्यून ज्यालाको समस्या, मानव तस्करी, मानवताको अभाव आदि छन् l यदि विश्वमा कुनै रोगव्याधि,युद्द,दैवीप्रकोप, प्राकृतिक विपत्तिजस्ता कुरा भए भने नेपालीले रोजगारी गुमाउने निश्चित छ l उता रोजगारी गुमाउने र यता आफ्ना भएभरका जमिन बाँझो रहेर खाद्यानको समस्या हुने स्थिति आउन सक्छ l विदेश गएको पुस्ता र तिनका छोराछोरी नेपाल नआउने समस्या पनि उस्तै छ l विदेश जाने लर्को रोक्ने कसले ? स्वदेशमा रोजगारी र गुणस्तरीय शिक्षा र स्वास्थ्यको वातावरण कहिले बन्छ ? खाडीमा भेटौला भन्ने भविष्यलाई नेपालमा नै बस् भन्ने जबाफ राज्यले कहिले ग्यारेण्टी गर्छ ?
सन्देश
गाउँ रित्तिएर बजार भरिएको छ अब बजार पनि रित्तिएर देश रित्तिने तरखरमा छ l गरी खाने र गर्न सक्ने जनशक्ति बलका दृष्टिले विद्या र सीपका दृष्टिले देशभित्र कम हुनु र बाहिर धेरै जानुले देश खोक्रो बन्दै गरेको थाहा हुन्छ l देशभित्रै गरी खाने वातावरण बनाउने सरकार र पार्टीहरू उदासिन छन् बरू बिना ढेउवा के विदेश भन्छन् र विदेशमा रोजगारीको लागि गरेको सम्झौता गर्व साथ कहन्छन् l स्वदेशमा युवा टिकाउने सरकार आफू टिक्ने ध्याउन्नमा समय व्यतीत गर्छन l देशको नीति निर्माण तहमा बसेका दल, नेता उच्च पदस्तलाई रोजगारी र शिक्षा भन्दै विदेश जाने लर्को देखेर जबसम्म कटक्क मन खाँदैन तव सम्म देश दुखिरहन्छ l उजाड बनिरहन्छ l बलिया पाखुरीको अभाव खट्किरहन्छ l युवा विहीन हुँदै तागत विहीन बन्न जान्छ देश l समाजशास्त्रीय अध्ययनले युग चेतनाको अध्ययन गरेर निस्कर्ष निकाल्न बिलम्ब गर्नु हुँदैन l गरिबी छल्न उडेका छोराहरू रातो बाकसमा फर्किने नियति बदल्नु पर्छ l आफ्नै पौरखी हातले आफ्नै खोरिया खन्नु पर्छ l विदेशी भूमिमा बगाउने पसिनाले यही माटो भिजाउनु पर्छ l सरकारले गुणस्तरीय शिक्षा र स्वास्थ्यको ग्यारन्टी गरोस् रोजगारी खोज्न जाने ७५ प्रतिशत भन्दा बढी शक्ति तुरुन्तै स्वदेश फर्कने वातावरण निर्माण हुन्छ l
एउटा १२ कक्षाको विद्यार्थीको खाडी पस्ने मनोदशा ऊ स्वयंको निर्मिति होइन, देशले अवलम्बन गरेको शिक्षा नीति र सरकारको दूरदर्शिताको प्रमाण हो l यहाँ बस्न सकिएन अब 'खाडीमा भेटौला'कारुणिक यथार्थलाई सम्बोधन गर्ने नयाँ शिक्षा नीति आवश्यक छ l नयाँ शिक्षा मन्त्री आउनु भएको छ केही गर्ने हुटहुटी छ यस्तो बेला यो सन्दर्भ पक्कै पनि विवेचना गर्ने विषय बन्छ l
स्मरणीय: गत वर्ष अन्नपूर्ण पोष्टमा प्रकाशित यो लेख केही संशोधन सहित पुन लेखकको अनुमतिमा यहाँ प्रकाशित गरिएको हो l हाम्रो परिस्थति आज नि उस्तै छ, जस्तो हिजो थियो l नवनियुक्त शिक्षा मन्त्रीसम्म यो कुरा पुगोस भन्ने हेतुले akabarey.com ले यो विचारलाई स्थान दिएको छ l akabarey.com ( सम्पादकीय टिम ) फोटो सार्वजनिक संजालबाट साभार l
तपाईहरूलाई जस्तै मलाई पनि मनपर्ने नेतृ हुन् - सुमना ।
देश जुन अवस्था र परिस्थितिबाट अघि बढिरहेको छ र संकटग्रस्त बन्दै छ यसले संभावित दुर्घटनालाई संकेत भने...
सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो ।