माननीय दीपेन्द्र श्रेष्ठ -व्यक्ति,चित्र र चरित्र

‘पब्लिक सर्भेन्ट’ माननीय दीपेन्द्र श्रेष्ठ ( हाम्रा माननीय स्तम्भ )
नेपाली राजनीतिमा खराबी मात्र छैन l असल र सकारात्मक पक्ष र पाटाहरू छन् l उदाहरणीय पात्रहरू छन् l आफ्नो पार्टीको गर्विलो विरासतलाई धान्दै बसेका राजनीतिकर्मीहरू छन् l समाज र देशको लागि केही गरौं भन्ने हुटहुटी बोकेका मान्छेहरू छन् l मात्रै यिनीहरूलाई एक्पोजरको खाँचो छ l उत्प्रेरणा र स्यावासी सहित निरन्तर मौकाको आवश्यकता छ l akabarey,com ले आफ्नो व्यक्ति चित्र र चरित्र मा माननीय दीपेन्द्र श्रेष्ठलाई छनोट गरेको छ l
राजनीति विशुद्ध सेवाको लागि भन्ने विश्वास बोकेका पात्रहरूको कमी छैन राजनीतिमा, त्यस्तै पात्र मध्ये एक हुन प्रदेश सांसद, पूर्व प्रदेशमन्त्री दीपेन्द्र श्रेष्ठ l सामाजिक काममा अहोरात्र लागिरहने, समाजलाई नै आफ्नो सर्वस्व ठान्ने दीपेन्द्र नेपाली राजनीति र कांग्रेस राजनीतिलाई रक्तसंचार गराउने उदीयमान नेता हुन् l नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं १ प्रदेश सांसदमा २०७४ र २०७९ मा दुई पटक प्रतिनिधित्व गरेका दीपेन्द्र १३ महिना संस्कृति तथा पर्यटन मन्त्री समेत बनेर मन्त्रालय चलाएका व्यक्ति हुन् l दीपेन्द्र आफू संसद मन्त्री पार्टी नेता जे भए पनि जनताको सेवक अर्थात् पब्लिक सर्भेन्ट नै हो भन्छन् l चुनाव लडेर जित्दा आवधिक भरिया बनिन्छ अन्य बेला सदावहार सेवक हौ हामी l त्यसैले म पब्लिक सर्भेन्ट हुँ दीपेन्द्र आफ्नो विनयी स्वभावमा बोल्छन् l
आफ्नो छोटो कार्यकालमा दीपेन्द्रले उल्लेखनीय काम गरेर भावी दिनमा आउने कुनै पनि जिम्वेवारी कुशलतापूर्वक निभाउने छनक दिएका छन् l दीपेन्द्रको एउटा बानी काम र समुदायको माया हो l समाज सेवा नै आफ्नो पहिलो कर्म धर्म र सेवा हो उनी भन्छन् l उनी जुन क्षेत्रबाट प्रतिनिधित्व गर्छन् त्यो क्षेत्रमा दुखमा परेका मान्छेलाई साथ र सान्त्वना दिनको लागि हरबखत पुगेका हुन्छन् l विवहा,ब्रतबन्ध,पास्नी पूजा, भोजलगायतमा समय मिलेमा पुग्ने तर मरौ परौ परेर दुखमा बसेका मान्छेको छेउ एकैछिन भए पनि जसरी नि पुग्नुपर्छ l सुखमा सबै हुन्छन् दुखमा भुल्नु हुँदैन भन्ने दीपेन्द्रको आफ्नो एक सुत्रीय मन्त्र छ l तसर्थ हर दुखमा दीपेन्द्र सान्त्वनाको मलम लिएर पुग्छन् l आफू सो क्षेत्रको प्रतिनिधि र अभिभावक हुनुको महत्व उपस्थिति सान्त्वना र मायाले दर्साउँछन् l दुखमा परेको बेला अविभावक बनेर प्रस्तुत हुने आफ्नो प्रिय साथी, दाजु,भाइ, नेता पाएर काठमाडौँ बासी पक्कै पनि खुशी छन् l
शिक्षा र राजनीतिमा प्रवेश
दोलखाको मेलुङ्मा २०३१ सालमा जन्मिएका दीपेन्द्र सानैमा काठमाडौँमा बुबाआमासँग आए l बानेश्वरको इपिएस स्कुलमा प्रारम्भिक शिक्षा आर्जन गरेका दीपेन्द्र पछि सिद्दार्थ वनस्थलीमा पढन पुगे र त्यहीँ बाट २०४९ मा एस एल सी पास गरे l २०४९ मा शङ्कर देव क्याम्पसमा व्यवस्थापन शास्त्रमा भर्ना भएर त्यहीँबाट स्नातक सकाएका दीपेन्द्र विद्यार्थी राजनीतिमा सक्रिय बन्दै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् l २०४६ को जन आन्दोलनताका दीपेन्द्र मैतीदेवीमा बस्थे त्यतिबेला यिनको सम्पर्क कम्युनिष्ट फेडेरेसनका हरि रोकाहरूसँग थियो l त्यतिबेला फुच्चे दीपेन्द्रलाई कम्युनिस्ट पार्टीका कार्यकर्ताले जनआन्दोलनका पर्चा बोकाएर ठाउँ ठाउँमा पुर्याउन,छर्न र भित्तामा टास्न लगाउथे l राजनीतिको चस्का वामसङ्गतबाट भए पनि सामाजिक रूपमा सक्रिय र कांग्रेस नेताहरूसँग आफ्नी आमाको सङ्गतको कारण दीपेन्द्र अलि राजनीति बुझ्ने भएपछि कांग्रेस राजनीति विशेषत नेपाल विद्यार्थी सङ्घको राजनीतिमा जोडिन थाले l दुर्भाग्य अहिले दीपेन्द्र श्रेष्ठले आफ्नी ममतामयी आमा गुमाएको दुई वर्ष हुन लाग्यो l
शङ्करदेव क्याम्पसको नेविसंघ एकाइ सदस्यको रूपमा २०५०मा औपचारिक राजनीतिक फोरममा प्रवेश गरेर२०५१ स्ववियु सहसचिव, २०५३ स्ववियु उपसभापति,२०५३ नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएर पार्टी प्रवेश l २०५४ स्ववियु परिषद केन्द्रीय सदस्य,२०५७,२०५८,२०६० तीन पटक नेबिसङ्घ काठमाडौँ अध्यक्ष, नेपाली कांग्रेस इकाई सभापति बानेश्वर २०६०, नेबिसङ्घ सहायक महामन्त्री २०६१,नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ उपसभापति २०६३,नेका महाधिवेशन प्रतिनिधि २०६७ आदि दीपेन्द्रले वहन गरेका पार्टीगत जिम्मेवारीहरू हुन् l सामुदायिक सेवा समिति बानेश्वरको अध्यक्ष रहेर पनि राजनीति बाहेक विशुद्द सामाजिक संस्थाको नेतृत्वमा दीपेन्द्रको संलग्नता देखिन्छ l
जेल यात्रा
एउटा राजनीतिकर्मीको लागि पक्राऊ, मुद्दा,जेलनेल,हिरासत, यातना, आक्रमण,भूमिगत जीवन, निर्वासन विगत देखि नै राजनीतिका स्वभाविक कर्म र जोखिम मानिएका छन् l यसैक्रममा दीपेन्द्र श्रेष्ठ अपवाद बन्न सकेका छैनन् l २०६० बानेश्वर चौकीमा ५ दिन हिरासत,२०६१ राजद्रोहको मुद्दा तीन महिना जेल,२०६१ अनामनगर चौकीमा ३ दिन हिरासत र २०६२ सार्वजनिक अपराधमा १८ दिन जेल उनले भुक्तान गरेका कष्टका दिनहरू हुन् l
दीपेन्द्रको अर्थ व्यवस्थापन
राजनीतिकर्मीको लागि खर्च व्यवस्थापनको पक्ष विशेष र पेचिलो हुने गरेको छ l अर्थ आर्जन बिनाको राजनीति कसरी चल्छ ? परिवार कसरी धानिन्छ ? इत्यादि यस मामलामा दीपेन्द्रको पारिवारिक स्थिति पनि प्रासंगिक छ l
दीपेन्द्र काठमाडौँको बानेश्वरका स्थायी वासिन्दा हुन् l उनकी श्रीमती पनि उपप्राध्यापक छन् l काठमाडौँमा दीपेन्द्रलाई गाँस,बास र कपासको लागि समस्या छैन l घरखर्च श्रीमतीले धानिदिएको कारण दीपेन्द्र पारिवारिक अर्थ व्यवस्थापनको उल्झनमा छैनन् तसर्थ उनी समाजसेवा मार्फत राजनीतिमा छन् l आफूले सांसद र मन्त्री हुँदा प्राप्त गर्ने तलब भत्ता सबै सामाजिक सेवाको लागि खर्च गरेर पारदर्शि हिसाब किताब राख्छन् l
राजनीतिज्ञको आधारभूत सर्त सबै किसिमको पारदर्शिता हो l आजको राजनीतिमा पारदर्शिताको अभावको कारण राजनीतिकर्मी विवाद,संशय र आर्थिक,नैतिक, सांस्कृतिक र चारित्रिक हिनामिनामा परेका छन् l तर यी सबबाट विमुख छन् दीपेन्द्र l दीपेन्द्रले आफूलाई चुस्त दुरुस्त राखेका छन् l जाँगरिलो र जनताको घर आँगनमा सँधै भेटिने जनप्रतिनिधिको छवि निर्माण गरेका छन् l दीपेन्द्र सरल छन् तर माफिया,दलाल र घुस खोरी विरुद्द अति कठोर र आक्रामक पनि छन् l भूमाफियाले हडपेका जग्गा सरकारको नाममा ल्याउने काम पनि दीपेन्द्रको अर्को प्रसंशनीय छ l
अतिक्रमित जग्गा फिर्ता
काठमाडौँ महानगरपालिका वडा नं ११ बबरमहलस्थित किंङ्स कलेजसँग जोडिएको ३ रोपनी सरकारी जग्गा व्यापारी दीपक मलहोत्राले हडपेर भाडा लगाइ खाइ आएकोमा सो जग्गालाई डोजर लगाएर सार्वजनिक स्वामित्वमा ल्याइदिए l बुद्द्नगरमा जेएन तन्डुकार लगायतले ओगटेको दुई रोपनी जग्गा आफ्नै खर्चमा मुद्दा लडेर राज्यको स्वामित्वमा ल्याएर आफू वागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री बने पश्चात लालपुर्जा बनाउन सफल भए l
सोही ठाउँमा पार्क बनाउन हालेको २० लाख रूपैया तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले अवरोध गरेको कारण फ्रिज भएकोमा दीपेन्द्र आक्रोशित छन् l मैले सामुदायिक हितको लागि पार्क बनाउन खोजेको थिए तर मेयर साबले निजी घरको तला थप्न लागे झैँ गर्नु भयो l पार्क बनाउने अभियानमा अनावश्यक राजनीति गर्नु भयो l समुदायलाई घात हुने राजनीति नगर्नु भएको भए हुन्थ्यो उनको दुखेसो छ l
धोवी खोला करिडोर बबरमहलमा रहेको एक रोपनी आठ आना दुई पैसा सार्वजनिक जग्गा नेपाल सरकारका पूर्व सचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडा लगाइ अतिक्रमण गरेको जग्गालाई भत्काएर पुन सार्वजनिक जग्गा कायम गराए l
अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले हड्पेको १ रोपनीभन्दा बढी जग्गा देखि देवीनगरका इन्द्रकुमार चामलिंगले कब्जा जमाएको जग्गा फिर्ता ल्याउन सफल भए l थापाथलीको नर्भिक अस्पतालले हस्तक्षेप गरेको डेढ रोपनी जग्गा पनि फिर्ता ल्याउने उनको अभियान जारी छ l सार्वजनिक ढल, बाटो,खानेपानी, विजुली, पार्क, गार्डेन,सामुदायिक भवन, औसधि उपचारजस्ता जनसरोकारका विषयमा दीपेन्द्र जहिल्यै र जतिबेला अग्रभागमा रहेर एक्सनमा उत्रेका भेटिन्छन् l आफ्नो क्षेत्रको समस्या लिएर हरेक सरोकारवाला अफिसमा डेलीगेसन लिएर पुग्ने ध्यान आकर्षण गराउने र कार्यन्वायनको लागि बारम्बार घच्घच्याउने गर्छन l
काठमाडौँको मौलिक सम्पदा,मठमन्दिर, गुठी,पाटीपौवा, जिर्णोदार, ढुंगेधारा संरक्षण, सामुदायिक स्कुल उन्नति, कला र संस्कृतिको जगेर्ना दीपेन्द्रका प्राथमिकताका विषय हुन् l संस्कृति तथा पर्यटनमन्त्री हुँदा मन्त्री श्रेष्ठले पशुपतिमा सुविधा सम्पन्न किरियापुत्री भवन निर्माणको योजना अघि सारेका थिए अहिले टेन्डर प्रक्रियामा गएको छ l भ्युटावर निर्माणको संस्कृतिलाई बन्द गरे l
वागमती प्रदेशका सवै जिल्लाको स्थलगत अवलोकन भ्रमण गरी पर्यटकीय सम्भावनाका क्षेत्रको विकासको लागि नयाँ खाका तयार गरे l योजना विक्री र कमिशनको खेलमा रोक लगाए l विधुतीय माध्यमबाट पर्यटकीय इजाजत सेवा दिने प्रणालीको सुरूवात, मेडिकल टुरिजम सहितको नयाँ कार्यक्रम पर्या पर्यटन,साहसिक पर्यटन,जस्ता नयाँ विधालाई विकास र विस्तार गर्ने काम गरे l पर्यटनलाई स्वास्थ्य, खेलकुद, मनोरन्जन र वन्यजन्तु अवलोकनसँग जोडे l मकवानपुरदेखि इन्द्र सरोवरलाई केन्द्र बनाइ पालुङ् चित्लाङ्लाई फ्लिम सिटीको विकास र विस्तार गर्ने योजना प्रस्तुत गरे l
संस्कृतिविद् सत्यमोहन जोशीको अन्तिम इच्छा ऐतिहासिक र बहुमूल्य चित्रकला चक्रसंभर पौभा निर्माणमा विशेष भूमिका निर्वाह गरे l नयाँ पर्यटकीय ब्राण्ड क्यानोपी वाक ब्रिज सौराहाको वन्यजन्तु पर्यटन प्रवर्द्दनको कार्यक्रम,हाइ हिमालय नेचुरल वाल क्लाइबिङ् ट्रेनिङ सेन्टर मकवानपुर् गढी वृहत्तर पर्यटन पूर्वाधार, दोलखाको हनुमंतेमा एकीकृत पर्यटन विकास पूर्वाधार, जिरीमा मानव निर्मित ताल,विभिन्न जात जाति सङ्ग्राहालय आदिमा उनले नेतृत्व,निगरानी र निरन्तरताको लागि काम गरेका छन् l
सबै काम प्रक्रिया सम्मत र पारदर्शी गर्नु दीपेन्द्रको विशेष योगदान देखिन्छ l सबै ठुला रकम टेन्डर मार्फत र साना रकम समुदाय मार्फत गरी निरन्तर आफूले छुट्याएको विकासको रकमको पारदर्शिताको लागि दीपेन्द्रको ध्यान जाने गरेको काठमाडौँ महानगर वडा नं २९ का निर्वाचित वडा सदस्य सन्तोष ढुङ्गेलको अनुभव छ l
सार्वजनिक जग्गा राज्यको नाममा फिर्ता ल्याउने क्रममा प्रलोभन देखि दृश्य अदृश्य धम्की समेत आउने गरेको थियो l आफू करोडौको लोभमा फसेको भए राज्यको अरबौ सम्पति व्यक्तिको नाममा पुग्थ्यो त्यसैले जोखिम मोलेर राज्यको जग्गा फिर्ता ल्याउने अभियानमा छु l केही प्रक्रियामा छन् l केही अदालतको स्टे अर्डरको कारण रोकिएको छ l तर म आफूले सुरू गरेको सबै काम फत्ते गरेर नै छाड्छु दीपेन्द्र आफ्नो अठोट व्यक्त गर्छन् l
विश्वव्यापी कोरोनाको प्रभाव नेपालमा पनि व्यापक रूपमा देखियो l कोरोना संक्रमितको व्यवस्थापन र उपचारमा नेपाल सरकार गम्भीर देखिएन बरू चरम लापरवाही र कोरोना सामग्री खरिदमा भ्रष्टचार गरेको कुरा बेस्सरी आयो l त्यस्तो बेला सबैजना डराएर घर भित्र बसेका हुन्थे तर एक जनप्रतिनिधिलाई आफू बचेर मात्रै बस्ने छुट थिएन,जनता बचाउने र जनतालाई सहयोग गर्ने अभिभारा थियो त्यसैले औसधि बोकेर घर घर पुग्ने काम सांसद दीपेन्द्र श्रेष्ठले गरे l लक डाउन घोषणा गरेको कारण जनजीवन अस्त व्यस्त थियो l
मान्छेहरू बाटोमा अलपत्र परेका हुन्थे तिनै मान्छेको उद्दार गर्न स्कुटरमा हालेर गन्तव्यसम्म पुर्याईदिने काम सांसद श्रेष्ठको हुन्थ्यो l खानेपानी व्यवस्थापनको लागि बानेश्वर, बुद्द्नगर, मिनभवनलगायत टोल टोलमा दीपेन्द्र आफै पुग्थे l कोरोनको डेल्टा भेरिएन्टले ल्याएको दोस्रो लहरले नेपालको हेल्थ सिस्टम झन्डै कोल्याप्सको स्थितिमा पुगेको थियो l अस्पतालमा विरामी भर्ना पाउने स्थिति एकतिर थिएन भने भर्ना भैहालेमा पनि अक्सिजनको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था थियो l
कोरोना संक्रमितले उपचार नपाएर ज्यान गुमाउने क्रम बढ्दो थियो l यही बेला दीपेन्द्र श्रेष्ठले नयाँ बानेश्वरको रत्नराज्य स्कुलमा अक्सिजन सहितिको कोरोना आइसोलेसन सेन्टर खोलेर संघीय सरकार र महानगरले गर्न नसकेको काम गरे l ‘तत्कालीन काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले दीपेन्द्रलाई असहयोग गरे तर दीपेन्द्रले जोखिम मोलेर गरेको त्यो कार्य त्यतिबेलाको लागि समानान्तर सरकारको जस्तै थियो’ शान्तिनगर निवासी कांग्रेस नेता केसबराज कार्की सुनाउँछन् l रत्नराज्यको फ्री कोरोना आइसोलेसनमा संक्रमितको चाप बढेपछि बुद्द नगरको हस्पिटलमा सुशील कोइराला आइसोलेसन सेन्टर खोलेर उनले राहत उद्दार र सहयोगको काम गरे l
समाजमा परेको अप्ठयारामा आफ्नो जीवनको पर्वाह नगरी सामाजिक काममा निरन्तर खटेको देखेर दीपेन्द्रलाई काठमाडौँ बासीले असल जनप्रतिनिधिको रूपमा सम्मान गर्दै दोस्रोपटक पनि सहजै चुनाव जिताएर अभिनन्दन गरेका छन् l दीपेन्द्रलाई भने पछि कुनै पनि काम पार लाग्छ भन्ने विश्वास हामीलाई छ एक स्थानीय सुनाउँछन् l दीपेन्द्र श्रेष्ठलाई समाजको वौद्दिक र प्राज्ञिक वर्गले पनि नियालिरहेको छ l
दीपेन्द्रमा रहेको सम्भावना प्रस्फुटित गर्न समाजका हरेक तह र तप्काका मान्छेको सहयोग स्वीकृति र साथ चाहिन्छ जुन श्रेष्ठले प्राप्त गरिरहेका छन् l नेताको विश्वसनीय आधार भनेको भोट मात्र होइन सामाजिक स्वीकृति पनि हो l सामाजिक स्वीकृति दीपेन्द्रको हकमा क्रमशः प्राप्त भैरहेको देखिन्छ l वरिष्ठ कलाकार एवं गत स्थानीय चुनावमा राप्रपाबाट काठमाडौँ महानगरको मेयरका प्रत्याशी मदनदास श्रेष्ठ दीपेन्द्रलाई ‘आग्रहपूर्वाग्रह मुक्त विकास प्रेमी मिलनसार,पारदर्शी राजनीतिको उज्वल नक्षत्र भनेर प्रशंशा गर्छन l समुदायको विकास निर्माण र सहयोगको लागि निरन्तर समुदायको बिचमा रहने नेता’ भनेर चिनाउँछन् l श्रेष्ठ पर्यटनमन्त्री हुँदा सो मन्त्रालयका सचिव मदन कोइराला ‘इनर्जेटिक र काम गरेर देखाउने हुटहुटी भएका कर्मचारीसँग मित्रवत व्यवहार गर्ने, कुनै राजनीतिक हस्तक्षेप नगर्ने समझदार मन्त्रीको रूपमा आफूले पाएको’ मुल्याङ्कन गर्छन् l
सांसद श्रेष्ठको पहल र सक्रियतामा नयाँ बानेश्वरस्थित सिभिल हस्पिटललाई करिब डेढ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण भएको थियो l जसलाई च्याइस ह्युमनिटेरियन नेपालले कोरोना भाइरस संक्रमित विरामीको उपचारको लागि उपलब्ध गराएको अत्यावश्यक भेन्टिलेटर,प्रोटेवल युएसजी, इमर्जेन्सीट्रली अक्सिजन सिलिन्डर, पीपीईलगायत सामाग्री सिभिल हस्पिटलका कार्यकारी निर्देशक प्राडा विधाननिधि पौडेललाई हस्तान्तरण गरेका थिए l जबकि प्रदेश सरकारले जम्मा दुई करोड रूपैया मात्र सिभिल अस्पताललाई दिने घोषणा गरेको थियो l
अनियमितता गर्ने विरुद्ध अख्तियार
सिन्धुपाल्चोक भोटेकोसी किनारमा वागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाले निर्माण गरेको स्विमिंङ्मा १० करोड भन्दा बढी सुरक्षा खर्च लाग्ने प्राविधिकहरूको भनाईलाई आधार मानेर अख्तियारको ध्यानाकर्षण गराए l त्रिभुवन पार्कमा रहेको ५० रोपनी जग्गाको ठेक्कामा भएको अनियमिततालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएका छन् l
दोलखाको शैलुङ् गाउँ पालिकामा प्रदेश सरकारको दुई करोड ५३ लाखमा निर्माण गरिएको गोल घर भाडा लगाउने क्रममा स्वार्थ बाझिने गरि घरभाडा लिने र दिने काममा अनियमिता भएको आशंका गरी छानबिनको लागि अख्तियार पठाउने काममा अग्रसरता लिए l हालै मात्र बाबुआमा गुमाएका अनाथ बालकहरूलाई पढ्ने व्यवस्थाको लागि पनि दीपेन्द्र श्रेष्ठ लागिपरेकै छन् l रिदम र रिजम तन्डूकारलाई दीपेन्द्र श्रेष्ठले सम्बन्धित स्कुल र केही सहयोगी हातहरूको साथ लिएर स्कुल फिस तिरिदिने काम गरेका छन् l
यी र यस्तै उदाहरणीय कामको कारण दीपेन्द्र श्रेष्ठ गत चुनावमा विगतमा जितेका र ठुला ठुला प्रदेश सभाका हस्तीहरू सभामुख मन्त्री र सांसदहरू पराजित हुँदा पनि दीपेन्द्रले सहज जित निकाल्न सफल भएका छन् l दीपेन्द्र श्रेष्ठजस्ता सांसदको कारण नै गणतन्त्रको साख जोगिएको छ l निष्ठाको वजन कायम गर्न पारदर्शी ऐनाको आवश्यकता हुन्छ जुन ऐना बोकेर दीपेन्द्र राजनीतिमा सक्रिय छन् l हर सांसद र नेता दीपेन्द्र जत्तिको भइ दिए गणतन्त्रप्रतिको आक्रोश स्वत:कम हुन्थ्यो l
दीपेन्द्र श्रेष्ठ जनताका काम लिएर निरन्न्तर अड्डा अदालत धाइरहेका हुन्छन् l विभिन्न क्लबहरू पुगिरहेका हुन्छन् l नागरिक र शुभेच्छुकहरूको स्वास्थ्यको ख्याल गर्न अस्पताल धाइरहेका हुन्छन् l मरौ परौमा सान्त्वना, सहानुभूति र समवेदना लिएर भेट्नन गैरहेका हुन्छन् l आफ्नो क्षेत्रको काम बारे सोध खोज, निगरानी,दौडधुप, फ्यासिलेटेड र खबरदारीको लागि जनताको घर दैलो र गल्ली गल्लीमा डुलिरहेका भेटिन्छन् l
फोटो : दीपेन्द्र श्रेष्ठले उपलब्ध गराएका हुन् l
नले दार्जिलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा र त्यही...
आफ्ना विचारहरू अत्यन्तै शिष्ट,सन्तुलित सौम्य,मर्यादित,बौद्धिक र तार्किक ढङ्गले व्यक्त गर्ने सुन्दरसँ...
विश्वमा मान्छेको अधिकतम आयु १५० वर्ष भएको अनुसन्धानको निस्कर्ष छ l हाम्रै देसमा पनि सुनसरीका वीरनारा...