दलितको घर भत्काएको घटना

साउन ११ गते बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ७, स्यालढुङ्गामा स्थानीय पुट्के ओखेडाको घर भत्काइयो । त्यस यता उत्पन्न विवादले बित्थडचिर गाउँपालिका अशान्त बनेको छ ।
एक थरीले सार्वजनिक जग्गा खाली गराउने क्रममा पुट्के ओखेडाको घर भत्काइएको दाबी गरेका छन् भने अर्को पक्षले दलित भएकै कारण ओखेडाको घर भत्काएको दाबी गरेका छन् ।
ओखेडाको वडा नम्बर–७ मा जमिन छ । आफ्ना बुबाले २०५७ सालमै सो जमिन किनेको ओखेडा बताउँछन् । आफ्नो जमिनमा घर बनाउँदा ३०/४० जना गाउँले आएर भत्काएको उनको भनाइ छ ।
उनले भने, ‘सार्वजनिक जमिन हो, तेरो होइन भनेर घर पनि भत्काए । लगाएको बाली (मकै) काटेर आफ्ना गाईभैंसीलाई खुवाए । मलाई दलित, के गर्न सक्छस् र भने ।’
निर्माणाधीन घर भत्काइएपछि पुट्के ओखेडाको निवेदनका आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको भन्दै धामी गाउँका कृष्ण जोशी, भवानी जोशी र नन्दलाल जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित पुड्के ओखेडाले आफूले लालपुर्जा भएको जमिनमै घर बनाएको भन्दै निर्माणाधीन घर भत्काउनेहरू विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
घटनाबारे एक पाटो
स्थानीयका अनुसार ओखेडाले संरचना बनाएको स्थानमा स्थानीय कृष्ण जोशी र गणेश जोशीका बुबाहरूले पनि करिब २० वर्ष अगाडि घर बनाउँदा स्थानीयले भत्काएका थिए ।
सार्वजनिक गौचरनमा घर बनाएको भन्दै केही गाउँलेले त्यतिबेला घर भत्काएको स्थानीय मुकुन्द जोशी बताउँछन् ।
गाउँलेले ओखेडाको खेतीपाती नै नस्ट गरेकोले दोषीलाई कारवाहीका साथै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने कृष्ण ओखेडाको भनाइ छ ।
स्यालढुङ्गामा २ परिवार दलितको मात्रै घर छ । करिब २०/२५ वर्ष अगाडि बित्थडचिर गाउँपालिकाको वडा नम्बर ६ को दल्लीबाट पुट्के ओखेडाको परिवार स्यालढुङ्गामा बस्न आएको वडा सदस्य मुकुन्द जोशीको भनाइ छ ।
स्यालढुङ्गाबाट करिब २ किलोमिटरको दुरीमा मात्रै गैरदलितहरूको बस्ती छ । धामीगाउँ, सुवाकोट र लगुणासा गैरदलितका बस्ती हुन् । सुवाकोटमा दलित र गैरदलितको बस्ती नजिकै छ । स्यालढुङ्गाभन्दा करिब ५ सय मिटरको दुरीमा रहेको चौडीखोलामा ४ परिवार विश्वकर्मा र त्यति नै दुरीमा रहेको सालिधारमा पनि ४ परिवार विश्वकर्मा छन् ।
वडामा स्थानीयले उजुरी गरेका थिए
एकथरीका अनुसार पुट्के ओखेडाले सार्वजनिक जग्गामा घर बनाउन लाग्दा धामी गाउँ, सालिधार र चौडीखोलाका स्थानीय ३२ परिवारले गत मंसिरमा वडा कार्यालयमा पुट्के ओखेडा र कृष्ण ओखेडाविरुद्ध उजुरी गरेका थिए ।
कृष्ण ओखेडाका अनुसार सार्वजनिक गौचरन जग्गा नछोडेको र वडा कार्यालयमा गरिएको सहमति विपरीत घर बनाउन थालेपछि स्थानीयले गएर घर भत्काएको र ऐलानी भनिएको जग्गामा लगाइएको मकै भटमास नस्ट गरिएको छ । उनले भने, ‘कानुनअनुसार जग्गा खाली हुनुपर्नेमा व्यक्तिहरूले घर भत्काउनु र बाली नास गर्नु गलत छ । त्यसको क्षतिपूर्ति दिनुपर्छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घटनाबारे अनुसन्धान जारी रहेको बताए ।
दलित समुदायले भोग्दै आएको शोषण, दमन, र जातीय विभेदको ऐतिहासिक दस्तावेजीकरण गर्नु रहेको छ ।
सुर्खेत वीरेन्द्रनगरमा राष्ट्रिय दलित गोलमेच सम्मेलनको कर्णाली प्रदेश स्तरीय अन्तरक्रिया तथा भेला का...
अब एक पटक दलित समुदायलाई सत्तामा पुर्याउन जरुरी छ । शक्ति के हो भनेर देखाउन जरुरी छ ।