'गोविन्द केसीको पक्षमा लागियो,अहिले रिग्रेट फिल भइरहेको छ'-डा. जीवन क्षेत्री

"गोविन्द केसीको पक्षमा लागियो । अहिले मलाई फिलिङ रिग्रेट भइरहेको छ । नेपाली सीमापार क्षेत्रमा भारतमा नर्सिङ कलेजमा नेपालीको भिड देख्दा त झोँकै चलेको छ । कर्णाली, काठमाण्डौ, पोखरादेखि विराटनगरसम्म मेडिकल पढ्न विदेशी विद्यार्थी आएका छन् । अझै धेरै विश्वस्तरीय मेडिकल कलेज खोलेर नेपाली दाममै विदेशीलाई केही हजार कोटा पढाएमा त्यसले नेपाल विदेश पढ्न जाने ट्रान्जिट मात्रै होइन गन्तव्य नै बन्ने थियो । मेडिकल कलेज खोल्नेलाई उद्यमी भन्दा माफिया जस्तो चित्रित गर्नमा गोविन्न्द केसी र उनको आन्दोलनको योगदान छ । म पनि त्यो आन्दोलनको एक जमानाको हिस्सा भएकोमा खेद प्रकट गर्छु । जय जननी । जय जनता ।"
यो एक युवाको कुरा हो l
पहिलो कुरा, तपाइँ ‘गोविन्द केसीको पक्षमा’ लाग्नुभएछ, त्यहीं गल्ती भयो । यो कसैको पक्ष वा विपक्षको कुरा थिएन । डा. केसी एक सार्वभौम नागरिक हो, तपाइँ अर्को सार्वभौम नागरिक । मेडिकल शिक्षा सुधारको कुरा चित्त बुझेर त्यही एजेण्डामा सामेल हुनु एउटा कुरा हो, मैलेपनि त्यही गरेको हो । डा केसीले स्वविवेकले ज्यान जोखिममा राखेर आन्दोलन गर्नुभयो, मैले स्वविवेकले पेटभर भात खाएर आन्दोलनमा मदत गरें । म कसैको विरुद्धमा डा केसीको पक्षमा कुनै व्यक्तित्वको टकराव वा प्रतिस्पर्धामा एउटा पक्षमा उभिएको हैन ।
यो देशमा सार्वजनिक सरोकारका विषयमा बोल्ने वा अभियानमा लाग्ने डा. केसीको जति जिम्मेवारी, तपाइँको र मेरो पनि उत्ति हो । त्यसैले ‘मैले फलानोको पक्षमा वा उसका लागि यति गरें’ भन्नु मलाई उचित लाग्दैन ।
कुनै एजेण्डामा चित्त बुझुन्जेल लाग्नु, चित्त नबुझेपछि छाड्नु साधारण मानवीय स्वभाव हो । समाजमा काहीं कसैले कसैको ठेक्का लिएर बसेको छैन, हामी जुनसुकै अभियानमा लाग्न, छुट्न वा विरोध गर्न पनि स्वतन्त्र छौं । तपाइँको छनोटको म सम्मान गर्छु । तपाइँको जस्तै भाव बोकेका अरू पनि युवाहरू छन् भन्ने सुनेकाले मैले यता जवाफ दिन उचित ठानेको हो ।
जहाँसम्म डा. केसीले गर्दा नर्सिंग पढ्न नपाएर विद्यार्थी विदेशिए, अनि एमबीबीएसमा संसारभरका विद्यार्थी भित्राएर पढाउन पाइएन भन्ने कुरा छ, यी दुवै अफवाह हुन् । यीमध्ये दोस्रो अफवाहको यथार्थ बुझ्न नेपालको कुनै निजी मेडिकल कलेजमा पढ्दै गरेको विद्यार्थी वा आधा वर्षसम्म तलब नपाएर चरम श्रम शोषणमा परेको कुनै अध्यापकसित बुझ्ने हो भने छिटो हुन्छ । यहाँ मैले पहिलो अफवाह चिर्ने प्रयास गर्नेछु ।
तपाईले कमेन्टमा प्रमाणका रूपमा पेश गरेको नेपालप्रेसको समाचारमा सिटिइभिटीका अध्यक्ष भन्छन्ः 'हाम्रा हजारौं हजार विद्यार्थी बाहिर पढ्न गएका छन् ।' आधिकारिक आँकडा शून्य छ । उनले किन झुट बोले त ? उनी आफैं झोले पाराको नर्सिंग कलेज चलाउँदा चलाउँदै पार्टी कार्यकर्ता भएकैले स्वार्थको द्वन्द्व हुने गरी सिटिइभीटीको उपाध्यक्ष बनाइएका व्यक्ति हुन् । उनले संंस्थाको गरिमाको धज्जी उडाउँदै व्यक्तिगत लाभका लागि त्यो झुट बोलेका हुन् । रातोपाटीले गरेको अर्को त्यस्तै समाचार थियो जसमा पनि आधिकारिक आँकडा नराखी यस्तै दाबी गर्ने स्वार्थ समूहका मानिसहरूलाई उदधृत गरिएको थियो ।
अर्को नेपालप्रेसकै समाचारमा लेखिएको छः ‘तर, दुर्भाग्य भारतबाट यसरी विनाप्राक्टिकल उत्तीर्ण भएर आएका नर्सहरूलाई नेपाल नर्सिङ काउन्सिलले धमाधम लाइसेन्स दिएको छ ।’ जबकि काउन्सिलले आफूले मान्यता नदिएका कलेजबाट पढ्ने स्टाफ नर्स र एनओसी नलिइ पढ्न गएका स्नातक वा त्योमाथिका नर्सहरूलाई लाइसेन्स नै दिंदैन ।
अहिले तिनै स्वार्थ समुहहरूले संगठित प्रयासबाट भाष्य कस्तो बनाएका छन् भनेः डा. केसीले नर्सिंङ रोके । जबकि नेपालमा नर्सिंङ शिक्षा भद्रगोल भयो भनेर पहिलो संविधान सभाको एउटा समितिबाट २०६५ सालदेखि आवाज उठ्न सुरु भएको हो । सत्तामा पुग्ने दलहरूले भागवण्डाका आधारमा कार्यकर्ताहरूलाई झोला-झोलामा नर्सिंङ कलेज बाँड्ने, सिटिइभिटीमा पनि कार्यकर्ता नै पठाउने र शून्य नियमनसहित अधिकांश कलेजहरुमा नर्सिंङ शिक्षालाई विशुद्ध डिग्री किनबेचमा सीमित गर्ने काम गरेका थिए । त्यसैले २०६८ बाटै सरकारले नर्सिंग कलेजको अनिवार्य आफ्नो अस्पताल हुनुपर्ने व्यवस्था राखेको हो । अन्ततः त्यही व्यवस्थाले नेपालका धेरै नर्सिंङ कलेज बन्द भएका हुन् । त्यो बेला डा.केसीको सत्याग्रह सुरु पनि भएको थिएन । तैपनि मानिसहरू लाजै नमानी भन्छन्ः 'डा. केसीले नर्सिंग कलेज बन्द गराए ।'
२०७२ सालमा माथेमा कार्यदलले १०० बेडको अस्पताल अनिवार्य राख्ने सुझाव दिएपछि त्यो कुरा चिकित्सा शिक्षा ऐनमा गएर २०७७ पछि कार्यान्वयनमा आएको हो ।
यसरी १३ वर्षसम्म अटेरी गरेर बसेपछि मात्रै नेपालका धेरै नर्सिंग कलेज बन्द भएका हुन् । अब भन्नोस्ः यसमा दोष गुणस्तर कायम गर्न खोज्ने विज्ञहरू र ऐनको कसरी भयो ? गुणस्तर कायम गर भन्नु दोष हो ?
यसमा सिद्धान्ततः ‘डिग्री किनबेच नगर, गुणस्तर कायम गर’ भन्नेबाहेक डा केसीको दूरदूरसम्मको कुनै साइनो छैन । कुन मापदण्ड, कति कलेज, कति सिट, यी कुरा नियामक निकायले गर्ने हुन् व्यक्तिले हैन ।
‘मलाई अहिले गोविन्द केसी ठिक लाग्दैनन्, त्यसैले उनको आन्दोलनप्रति खेद छ’ भन्नु सजिलो काम हो । तर हामीले त्यति भनेर छुट पाउँदैनौं । डा. केसी सत्तरी वर्ष हाराहारीको नागरिक हो भने हामी २५, ३० वा ४० वर्ष हुन सकौंला । डा केसीले उठाइरहेका मुद्दा के हुन् ? ती हिजो कहाँ थिए, आज कहाँ छन् ? हाम्रो स्वविवेकले हामीलाई तिनको सापेक्षमा कहाँ राख्छ ? हाम्रा लागि यी प्रश्नले अर्थ राख्नुपर्छ ।
के हामीलाई साँच्चिकै नर्सिंङमा गुणस्तर नभएर संख्या मात्रै चाहिएको हो त ? कि १३ वर्षभन्दा पनि लामो समयसम्म राज्यले एउटा मापदण्ड भन्ने, व्यवसायीले त्यसलाई नटेरिरहने अवस्था अझै अर्को दश वर्ष कायम राख्नु ठिक हुन्थ्यो ? पार्टीहरूले सिटिइभिटीमा कार्यकर्ता पठाएर झोला झोलामा नर्सिंङ कलेजको लाइसेन्स बाँड्ने थिति के ठिक थियो त ? थियो भने खुलेर त्यसै भनौं, मुद्दालाई डा केसीको पक्ष वा विपक्ष भनेर बाँड्ने अप्राकृतिक र असान्दर्भिक अभ्यास नगरौं ।
थिएन भने, विवेकपूर्ण सार्वभौम नागरिकका हिसाबले हामीले त्यसलाई बदल्न के गर्यौं त ?
यी हुन् कठिन तर आवश्यक प्रश्नहरू । यस्ता प्रश्न हरेक युवाले आफुलाई सोध्न आवश्यक छ । किनकि यो देशमा हाम्रो अधिकार जति छ, कर्तव्य पनि उत्ति छ ।
डा. केसी मात्रै किन, कुनै पनि सार्वजनिक जीवनमा हुने व्यक्तिलाई देव वा दानव बनाएर आफ्नो जीवनका सारा बन्दुकहरू उसको काँधबाट पड्काउने प्रवृत्तिबाट पनि हामी मुक्त हुनुपर्छ ।
र सबैभन्दा महत्वपूर्ण कुरा, प्रायोजित सामाग्रीको पनि शीर्षक वा भिडियोको थम्बनेल हेरेर धारणा बनाइहाल्ने, कतै कुनै प्रश्न नगर्ने, अनि त्यसका आधारमा पहिले निष्कर्षमा पुगेर त्यस अनुकुलका तर्क खोज्दै हिंड्ने प्रवृत्तिबाट पनि हामी मुक्त हुनुपर्छ ।
डा. क्षेत्री गोविन्द केसी अभियानका मूख्य अभियन्ता हुन् l उनको फेसबुक वालबाट akabarey.comले यो सामग्री र उनको फोटो साभार गरेर राखेको छ l - सम्पादक
तपाईहरूलाई जस्तै मलाई पनि मनपर्ने नेतृ हुन् - सुमना ।
देश जुन अवस्था र परिस्थितिबाट अघि बढिरहेको छ र संकटग्रस्त बन्दै छ यसले संभावित दुर्घटनालाई संकेत भने...
सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो ।