प्रिय नवराज तिम्रो मृत्यु मेरो निधारको कलङ्क हो

प्रिय नवराज,
तिम्रो सहादत प्रेमको मूल्य र मानवीय मान्यता स्थापित गर्न भएको हो । तिमी यो युगको महान प्रेमी हौ l आदर्श प्रेमको उदाहरण हौ l तिमी अब यो संसारमा छैनौं तर तिम्रो रगतले भेरी सधैँ रक्तिम रहनेछ l मानवता विरुद्दको अपराधकोसाक्षी भेरीले जहिल्यै सुसाएर बोल्नेछ l पवित्र भेरीमा मानवताको बलि दिने नरभक्षीलाई भेरी र नेपाल आमाले कहिल्यै माफ गर्ने छैनन् l तिम्रो मृत्यु नै अन्तिम बनोस् जात व्यवस्थाको अत्याचारी कुप्रथाको l
तिम्रो हत्याको कारण र कलङ्क मेरो निधारमा पनि छिटाको रूपमा आएको छ । म आधुनिक सभ्य समाज र समताका हिमायती भनेर नथाक्ने कम्युनिस्ट शासित राज्यमा छुभन्दा लज्जाबोध गर्दछु । मेरोसमुदाय र वर्गको ज्यादतीको हिस्सेदार म पनि हुँ । तिमी मारिँदा पनि झन्डै दुई तिहाई बहुमत सहित यो देशमा कम्युनिस्ट सरकार थियो र आज पनि कम्युनिस्ट सरकार नै छ l थुप्रै समाजवादी लोकतन्त्रवादी भन्ने हरूले देश चलाए तर जातीय विभेद लगायत समाजका खराव प्रवृति र चरित्रलाई अन्त्य गर्न खासै मेहनत गरेनन् l
प्रिय नवराज,
कुन शब्द र भावले श्रद्दान्जली अर्पण गरौं ? स्तब्ध छु l नि:शब्द छु l लज्जित छु l तिम्रो मृत्युको कारणमेरो वर्ग र समुदाय हो भनेर बुझ्दा बुझ्दै पनि म निसंकोच तिमीलाई चिठी लेखिरहेछु l श्रद्दान्जली दिंदैछु l
प्रिय नवीन भाइ,
सबभन्दा पहिले मेरो निधारमा टाँसिएको स्टिकर मान्छे मात्रै हो, केवल म मान्छे हुँ अनि त्यसपछि मात्र मेरो परिचय अरू हो तसर्थ तिम्रो रगत र मेरो रगत त्यहीं हो जुन पृथ्वीका अरबौं मान्छेमा रातो भएर बग्छ l तिमीले स्वास लिएको र मैले स्वाश लिएको धर्ती पनि एउटै हो l यहीको पानीले हामीले प्यास मेटेका छौं । त्यसैले म भिन्न समुदाय र वर्गको कसरी भएँ ? विभेदपूर्ण वर्ग, समुदाय, धर्म पछि कोरिएको कृतिम बार र धर्सो हो जुन आजको आधुनिक दुनियाँमा किमार्थ स्वीकार्य छैन l सभ्य समाज र संस्कृतिको लागि जातीय भेद बाधक छ जसको कारण तिमी मारियौ ।
मान्छे मार्ने रित र कुसंस्कारको सती म मान्छेको हुनुको अर्थमा जान सक्दिन l तिमी अब यो संसारमा छैनौं तर तिम्रो रगतले पवित्र भेरी सधैँ रक्तिम रहनेछ l मानवता विरुद्दको अपराधको साक्षी भेरीले जहिल्यै सुसाएर बोल्नेछ l पवित्र भेरीमा मानवताको बलि दिने नरभक्षीलाई भेरी र नेपाल आमाले कहिल्यै माफ गर्ने छैनन् l यो बर्बरता इतिहासदेखि वर्तमानसम्म कायम छ । अब यसको अन्त्यको लागि तिमीजस्ता युवा कुनै पनि मानेमा कुनै पनि जातको भनेर अनाहकमा मारिनु हुँदैन भनेर म जस्ता धेरै मान्छे बोल्छौं, लागि पर्छौं, सरकारको कान फुट्ने गरि चिच्याउछौं l तर मलाई माफ गरिदेउ प्रिय भाइ, मैले तिमीलाई बचाउन सकिन । समाजमा जातीय भेदभाव र छुवाछुत मेट्न मेरो सानो प्रयास सफल भएको छैन र तिमीजस्ता राष्ट्रका होनहार युवा मारिनु पर्यो l मलाई खेद छ म कति असभ्य र बर्बर समाजमा पीडक वर्ग र समुदायको मान्छेको हारमा उभिएको छु l
मानवतावादभन्दा ठूलो दर्शन, धर्म र विज्ञान अर्को छैन l अरू सिद्दान्त, दर्शन र नीति केवल मानवीयधर्मका पूरक र परिपूरक हुन् । मान्छेको सबैभन्दा ठूलो दर्शन मानवतावाद हो l अनि जात केवल मान्छेहो l मान्छेको दुई जात हुन्छ- स्त्रिलिंग र पुलिंग । अरू जात केवल पहिचानका लागि हुन्, विभेद र असमानताको लागि किमार्थ होइन । दुर्भाग्य, हामी मानवतावादभन्दा पनि ठूलो अमानवीयजातीवादको पर्खाल जहाँ छुवाछुत र विभेद छ, अन्याय र दलन छ, त्यहीं अभ्यासमा आज पनि छौं l फलस्वरूप जातीय भेद, हिँसा हत्या र निकृष्ट पाखण्डलाई जीवन शैलीमा उतारेर आफू जस्तै अर्कोमानव समुदायप्रति अत्याचारको घन चलाएर हिर्काइ रहेछौं, मारिरहेछौँ l दलनको जाँतोमा पिसिरहेका छौं, अन्यायको ढिकीले कुटिरहेका छौं l
देशको ऐन, कानुन र नियममा समानता र स्वतन्त्रता लेखिएको छ तर हाम्रो व्यवहारिक कानुन र समाजशास्त्रमा विभेदको रेखा र असमान धारा उपधारा प्रयोग भै राखेको छ l जातीय विभेद जस्तै अरू धेरै अमानवीय रङ्महरूमा समाज असभ्य र अशिष्ट छ l हाम्रो समाज जातिभेद, रङ्गभेद, बोक्सी, छाउ, दहेज जस्ता अन्धविश्वास र कुरीतिले समाजमा बर्बर अमानवीयताको अग्लो पर्खाल लगाएको छ l मानवीयपनभन्दा धेरै अजंगको पर्खाल र बार निर्माण भएर आज पर्यन्त ब्याप्त छ l अब त्यो पर्खाल सधैँ सधैंको लागि भत्काउने म प्रण गर्छु । मसँगै प्रण गर्ने हजारौं मानव आत्माहरू छन् ।
तिमी ढुक्क होऊ, तिमीलाई न्याय दिलाई छाड्नेछौं । जिल्ला अदालत रूकुमले सकारात्मक फैसला गरेर अन्यायीहरूलाई दण्ड पनि तोकिसकेको छ l २०८०, मङ्गसिर १९ जातीय छुवाछुतले निम्त्याएको नरसंहारविरुद्ध रुकुम पश्चिम जिल्ला अदालतले ऐतिहासिक फैसला गर्दै २४ जनाविरुद्ध जन्मकैद ठहर गरेको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार नेपालको न्यायिक इतिहासमा यति ठूलो संख्यामा जन्मकैदको फैसला भएको यो पहिलो मुद्दा हो । यसले न्याय मरेको छैन र न्याय मर्न नदिने मान्छेहरू पनि छन् है भन्ने पुष्टि गरेको छ l
प्रिय नवीन,
यो बर्बर, असभ्य, निर्मम कुरीतिको संरक्षक नेपालको सरकार हो l सरकारहरूको निकम्मापन, अंहकारवादी जातीय दम्भ र कानुन परिपालन गराउन देखाएको उदाशिनता नै आज गम्भीर अमानवीयअपराध र ज्यादती जिउँदै रहनुको प्रमाण र कारण हो l समाजमा घटने हर जातीय छुवाछुत, बोक्सी, छाउ, जस्ता घटनाको प्रमुख संरक्षणकर्ता नि:सन्देह सरकार हो भने अरु प्रत्यक्ष संलग्नहुनेहरू निमित्त कारक र कारण हुन् । यसर्थ, यसको मुख्य दोषभागी सरकार हो र अन्य भागीदार देशमा क्रियाशील राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ता हुन् l समाजको एक सचेत नागरिक भएको कारण म पनि मेरो जात र वर्ग समुदायबाट घटित घटना, जातीय भेद, हिंसा, हत्या, अपमान र हुलहुज्जतको हिस्सेदार र भागीदार छु । यसैगरी, आम नागरिक जो उत्पीडनमा प्रत्यक्ष संलग्न नभए पनि पीडक वर्गको नाताले उसको पनि दोष कहीं न कहीं रहेको हुन्छ भने सरकार अछुतो हुने त कुरै छैन । सरकारसँग म प्रश्न गर्छु- तिम्रो गणतन्त्रमा पवित्र प्रेम किन बर्जित छ ? प्रेम गर्दा ज्यान नै जानुपर्ने किन ? प्रेमलाई जातको कारण देखाएर कसैको ज्यान हर्ने मान्छेहरू कसरी कम्युनिष्ट भए ?
जातीय कारण देखाएर हत्या हुनुको प्रमुख कारणहरूको कारण सरकारको लाचारी र निरिहता हो ।कानूनीराजको प्रत्याभूति गर्न नसक्नु सरकारको निकम्मापन हो । जात व्यवस्था आ पर्यन्त कायमराख्न सरकारहरूको असलियत देखिन्छ । हामीले बुझ्नु पर्ने जड कुरो के हो भने जातीय मनोविज्ञानले ग्रस्त हत्याराहरू निमित्त कारकमात्रै हुन्, मूल कारक र प्रेरक सरकार हो । उक्त हत्या राज्य संरक्षितहत्या होभन्दा अतिसयोक्ति हुनेछैन । हत्याको क्षणिक कारण र परिणाम जे पनि हुन सक्छ तर यसको कारण समाजमा व्याप्त कुरिति, कुसंस्कार र कुप्रथा हो, गलत मनोवृत्ति हो जसलाई जीवन्त राख्न नेपालका सरकार र पार्टीहरूको मौनता र लाचारीपनाको हात छ । निरंकुश भनिएका राजा महेन्द्रको गिदीले समेत अस्विकार गरेर २०२० सालमा नै जातीय भेद अन्त्यको कानुन लेखेका थिए । बेहुली लिन जाँदा नवराजहरू ६ जना मारिएको घटनाले कलंकको टीका सरकारको निधारमा लागेको छ l जातीय भेदको भाइरस यति डरलाग्दो र घीनलाग्दो छ जसले प्रेमको बदला मृत्यु उपहार दिन्छ l तिमीले मृत्यू पायौ तर तिम्रो मृत्यूको कारण कहिल्यै क्षम्य हुन सक्दैन ।
प्रिय नवराज,
तिमी जस्तै जातीय पर्खाल भत्काएर चोखो प्रीति लाउँदा यो दशक भित्र मात्रै अजित मिजार, शिवशंकर दास, अस्मिता तोलांगी, संगिता परियार लगायत १ दर्जनभन्दा बढी मान्छे पुरातनवादीराज्यको पृष्ठपोषकहरूद्वारा मारिए । लक्ष्मी परियारहरु, मनिता आले, अम्बा बोहोराहरु जात रबोक्सीको आरोपमा मारिए, मारिदैछन् । कति छाउको कारण मारिएका छन् l अजित मिजारको शवअहिले पनि न्यायको पर्खाईमा त्रिविवि शिक्षण अस्पतालको चिसो बाकसमा सुतेको छ । के अजितले मरे पछि पनि न्याय नपाउने स्थितिको जिम्मेवार सरकार होइन ? लाज सरकार र देश हाँक्ने नेताहरूलाई लाग्नु पर्दैन ? तिम्रो आत्माले सरकारलाई पोल्नु पर्छ नवीन, तिम्रो भूतले सरकारहरूलाई तर्साउनु पर्छ, सरकारको निन्द्रा हराम पारिदिनु पर्छ ताकि अब यस्ता घटना कहिल्यै नघटून् र सरकार जातीय भेद जस्तै बोक्सी छाउ,दहेज र समाजका अनेक घातक अन्धविश्वासको विरुद्ध काम गर्न जागोस् र उठोस् l
प्रिय नवराज,
तिम्रो हत्याको कारण र कलङ्क मेरो निधारमा पनि छिटाको रूपमा आएको छ । म आधुनिक सभ्यसमाज र समताका हिमायती भनेर नथाक्ने कम्युनिस्ट शासित राज्यमा छु भन्दा लज्जाबोध गर्दछु । मेरो समुदाय र वर्गको ज्यादतीको हिस्सेदार म पनि हुँ । म भुइँ मान्छे के नै गर्न सक्छु र ? मेरो देशकापार्टीहरू र सत्ताले जातीय पर्खाल भत्काउन सकेनन् बरु अप्रत्यक्ष मलजल गरेर नै राखे । अत: तिनको मुहारमा पनि जात व्यवस्था कायम राखेको पापको मोसो पोतिएको छ l मानवीय संवेदना गुमाएकाहरू मुहार वीहिन मुहार लिएर मुर्कट्टा हिंडीरहेछन् l यिनीहरू पापी अपराधी र निर्मम छन् जसले मानवता विरुद्धको पर्खाल मानवका विरुद्ध कायम राख्न सहयोग गरे l
प्रिय नवराज,
तिम्रो सहादत प्रेमको मूल्य र मानवीय मान्यता स्थापित गर्न भएको हो । तिमी यो युगको महान प्रेमीहौ l आदर्श प्रेमको उदाहरण हौ l
प्रिय नवराज,
तिम्रो मृत्यू यस्तो ठाउँ र यस्ता मान्छेहरूको राजनीति भएको ठाउँमा भयो त्यहाँ आजपनि यस्तो विकृत मनोविज्ञान भन्दा देश त के विश्व पनि लजाउँछ र अचम्म मान्छ l कारण- तिमीले प्रेमका खातिर मृत्यूवरण गरेको रुकुम जिल्ला माओवादी जनयुद्दको केन्द्र भाग जहाँ जनार्दन शर्माजस्ता माओवादी हस्ती छन् l शक्ति बस्नेत जस्ता बहालवाला मन्त्रीलाई संघीय संसद निर्वाचित गर्नेक्षेत्र l जातीय भेद खत्तम गर्ने नारा लागेर जनता लामवद्द भएको स्थान l जहाँ अन्धविश्वास र कुरीति चिहानमा खोज्दा पनि नभेटिनु पर्ने राजनीतिको उर्वर भूमि l आज त्यहाँ अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्ने तयारी गर्दा मान्छे मारिनु पर्ने ? जुन जिल्ला छुवाछुत मुक्त जिल्ला घोषणा गरिएको जनयुद्दको उदगम स्थल मध्ये एक हो l
जहाँ पूर्व खेलकुद मन्त्री दलजित सेर्पाली, रास्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष मानबहादुर नेपाली, उपेक्षित, उत्पीडित दलित वर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक चन्द्र विश्वकर्मा र वादी विकास बोर्डका पूर्व उपाध्यक्षले आफ्नो सगर्वकर्म भूमि बनाएकाछन् l त्यतिमात्रै कहाँ हो र ? प्रदेश सभामा आर टि सेरपालीको जीतदेखि धेरैस्थानीय निकायमा प्रमुख र उपप्रमुख देखि वार्ड अध्यक्षसम्म दलित प्रतिनिधिको वर्चस्व छ l त्यहाँबाट निर्वाचित हुनुको नाताले स्थानीय सरकारको नेतृत्व गर्नुको अर्थमा यि अगुवाहरूको भूमिका र जिम्मेवारी पनि जातको कारण मान्छे मर्नुमा हुन्छ कि हुन्न ? कृपया दलित प्रतिनिधि र अभियन्ताहरू यो तीतो जात व्यवस्थाको सत्य तपाईहरू को सामु पनि राख्न चाहन्छु l शुरुवात आफैबाट पनि होभन्ने तथ्य नभुल्नु होला l अभियन्ता कमला हेम्चुरीले जात व्यवस्थाबारे दिएको यो सानो उदाहरण स्मरण गराउनु सान्दर्भिक लाग्यो: ‘एउटा कामीले दमाईको छोरी बिहे गरेर भित्र्याउन सक्दैन भने अरूलाई सम्विधान मानेनन् भन्ने अधिकार होला र ? जात व्यवस्था भनेको यही हो l’ त्यस्तै, अर्को ठाउँमा हेमचुरी लेख्नु हुन्छ: ‘बाहुन क्षेत्रीले विभेद गर्नु उनीहरूको धर्म हो जनजातिले जातीय विभेद गर्नु ब्राम्हणवादको गुलामी हो।’ यसको मतलव र अर्थ हो- जो कसैले पनि जातीय भेद गर्नु बेठिक छ चाहे ती दलित भनेर दलितले दलितलाई गरोस या बाहुन क्षेत्री र अरू जनजातिले आफूभन्दा तलको भनेर अरूलाई गरेको विभेद होस् त्यो निन्दनीय अपराध हो, पाप हो l मान्छे भएर मान्छे मान्छे बिचमा जातको लक्ष्मण रेखा कोर्नु, कानुनको उलंघन हो, मानवीय सभ्यताको उपहास र परिहास हो जुन छूटकसैले कसैलाई दिएको छैन कानुनले l अत: कानुन सबैको लागि बराबर हो l चाहे त्यो क्षत्री-ब्राम्हणहोस्, या जनजाति या होस दलित ।
देश गणतान्त्रिक व्यवस्थामा गएपछि विभेदका कुरुपता हेरेर भन्न सक्छु- हामी अझै बर्बर जंगली युगमा छौं l विभिन्न समयका घटना हेरौं:
नवराज विक र टीकाराम नेपाली (जाजरकोट,रुकुम, २०७७, अन्तरजातीय प्रेम, हत्या)
टीकाराम नेपाली (जाजरकोट,रुकुम, २०७७, अन्तरजातीय प्रेममा सहयोग, हत्या)
अंगिरा पासी (रुपन्देही, बलात्कार र हत्या)
माया विक (कैलाली,२०७५, बलात्कार पछि हत्या)
रेश्मा रसाइली (धनुषा, २०७५, बलात्कार पछि हत्या)
रूपमती कुमारी दास (२०७५, मोरंग, बलात्कार हत्या)
मना सार्की (कालिकोट, २०७५, अछुत भन्दै कुटपिट र हत्या)
श्रेया सुनार (कास्की, २०७५, बलात्कार पछि हत्या)
अजित मिजार (काभ्रे, २०७३, अन्तर्जातीय बिबाह पछि हत्या)
लक्ष्मी परियार (काभ्रे, २०७३, बोक्सीको आरोपमा कुटपिट र हत्या)
अस्मिता सार्की (झापा, २०७३, अन्तरजातीय प्रेम असफल, हत्या)
राजेश नेपाली (पर्वत, छुवाछुत, मानवीयभन्दा अग्लो जातीय पर्खाल, हत्या)
संगीता परियार (तनहुँ, २०७०, अन्तरजातीय प्रेम र हत्या)
झुमा विक (ताप्लेजुंग, २०७०, हत्या)
सेते दमाई (दैलेख, २०६८, अन्तरजातीय विवाह)
शिवशंकर दास (सप्तरी, २०६८ , अन्तरजातीय विवाह)
मनविरे सुनार (कालिकोट, २०६८,चुलो छोएको)
प्रिय नवीन भाइ,
म यो समाजका शासक र तिनका प्रतिनिधिलाई सोध्न चाहन्छु: छुवाछुत हत्या कहिलेसम्म कायम गर्ने ? कहिले च्यात्त्ने यो समाजको जात व्यावस्थाको थाङ्ने कानुन ? कहिले पुर्ने असमानता र विभेदकोखाल्डो ? कहिले निर्माण गर्ने समता र मर्यादाको मानक मानवतावादी संस्कार र संस्कृति ? सत्यबोध र यथार्थबोध कहिले गर्छ समाजले ? कहिले बन्छ हाम्रो जनैको धागो सद्भाव र एकताको डोरी ? विष्णुविश्वकर्माको घन र बैकुण्ठ बाजेको गीताको सामाजिक मूल्य कहिले समान बन्छ ? भानुभक्तको कलम र भक्तिवीर दर्जीको सियोको अर्थ र मर्म अनि महत्व कहिले समाजमा बराबरीमा लेनदेनगरिन्छ ? समाजमा जातीय भेद निर्मुल गर्न अब कुन ब्यबस्था र संयन्त्रको खाँचो छ ? समान नियमकानुन, नैतिकता, अनुशासन कर्तव्य र ब्यावहार लागु गर्न सरकारको हात कसले बाँधी दिएको छ ? ए सरकार, रैतीलाई जवाफ देऊ, रैतीलाई न्याय देऊ, अन्याय गर्नेलाई पाता फर्काउ l समाजमा हुने यस्ता जघन्य अपराधको मतियार बन्न छोड सरकार ! असभ्य, बर्बर, आततायी युगको अन्त्य गरेर समाजमा नयाँ समता मर्यादा र न्यायको युगको शुरुवात गर्न जति ढिलो गर्यो उती हाम्रो अनुहारमा कालो पोतिनेर समाज हिंस्रक बन्ने खतरा बढेको बढेकै रहन्छ l समुदाय समुदाय बीच घृणा, प्रतिसोध र बदलाफैलन नदिन सरकारी तदारुकता र क्रियाशीलता जरुरी छ l अन्यथा समाज अर्को चर्को समुदाय जातर धर्मको द्वन्दको चक्रव्युहमा जाकिने निश्चित छ l
प्रिय नवराज,
तिमी अल्लारे युवा थियौ, तिमीसँग जवानीको वेग थियो होला, उल्लास थियो अनगिन्ति सपनाहरूथिए होलान्, केही उत्ताउलो पनि बन्यौ होला तर तिम्रो अपराध तिम्रो ज्यान हरण गर्नु किमार्थ थिएन l जसरी तिमी र तिम्रा साथीहरू वीभत्स तवरले मारियौ, त्यो देख्दा लाग्छ मान्छे भन्ने जन्तुमा माया, दया सकिएछ, ऊ कुनै नरभक्षी जंगली जनावर हो l त्यहीं जंगली जनवारलाई मान्छे बनाउने अभियान अब शुरु हुनेछ l यो युगमा तिम्रो मृत्यू नै अन्तिम बन्नेछ जातीय भेदको l तिम्रो बलिदानी तिमी जस्ता होनहार युवा अकालमा मारिनु पर्दैन भनेर बुझ्ने दिन आउनेछ l तिमी गयौ, तिम्रा साथीहरू पनि गए तर तिमीहरूसँगै यो बर्बरता र क्रुरता सधैँको लागि मेटिनुपर्छ, हराउनु पर्छ l मानवतावाद स्थापित हुनुपर्छ l
प्रिय भाइ,
तिम्रो भौतिक उपस्थितमा पूर्ण विराम लागे पनि मान्छेहरूको मन मनमा आत्मिक र प्रेरक उपस्थिति जीवन्त रहनेछ l यो नर्करुपी पृथ्वीलोकमा हिंस्रकहरूले बाँच्न दिएनन्, छोटो आयु भयो l स्वर्गमा लामो आयु लिएर बस है l हामी मानवताको दियो निभ्न दिने छैनौ l अमानवतालाई चिहानमा पुर्याएर हामी मानवतावादी समाज र संसार निर्माण गर्न लागिरहन्छौं l प्रिय नवराज तिम्रो मृत्यु मेरो निधारको कलङ्क हो l म लज्जाबोध हिनताबोध गर्दै तिमीसँग पीडक वर्गको हुनुको नाताले माफी माग्दछु l
स्मरणीय: पूर्व प्रकाशित आलेख ( २०७७ मै लेखिएको ) नवराजको स्मरण र जातीय नरसंहारको खराब दिन २०७७ जेठ १० को विरुद्ध पुन आज प्रकाशित गरिएको छ, लेखकको अनुमतिमाथोरै संशोधन सहित l फाइल फोटो प्रयोग गरिएको छ akabarey.com सम्पादक
देश जुन अवस्था र परिस्थितिबाट अघि बढिरहेको छ र संकटग्रस्त बन्दै छ यसले संभावित दुर्घटनालाई संकेत भने...
सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो ।
विद्यार्थी आन्दोलन कहिल्यै विसर्जन नहुने प्रवाह र जुनसुकै किसिमको निरङ्कुुशताको अपोजिसन हो– स्ववियु...