वाम एकताले जेनजी आन्दोलनको भावनालाई सम्बोधन गर्न सक्नु पर्छ
वामपन्थी एकताको चर्चा मात्र होइन, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका वाम दलहरूबिच भएको पार्टी एकता गर्ने सहमतिले नेपालको कम्युनिस्ट आन्दोलनलाई थप उचाइ प्रदान गरेको छ । वामपन्थीहरूको एकता केवल दलहरूको चुनावी सङ्कट प्रतिरोध गर्न वा व्यक्ति विशेषलाई शक्तिशाली बनाउन भन्दा पनि पार्टी र सरकारसँग चरम वितृष्णामा रहेको जेनजी आन्दोलनको भावना र आकाङ्क्षालाई सम्बोधन गर्न सके नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र जेनजी आन्दोलनको न्याय हुने कुरामा कुनै शङ्का छैन ।
नेपालको वामपन्थी इतिहास फुट र एकताको अनन्त चक्रले भरिएको छ । वि.सं. २००६ सालमा कम्युनिस्ट आन्दोलनको बीज रोपिएदेखि हरेक पुस्तामा विचारको भिन्नता, नेतृत्वको वर्चस्व र स्वार्थको टकराबले वाम आन्दोलनलाई कमजोर र क्षयीकरण गरेको कुरा इतिहास साक्षी छ । माले, मसाल, एमाले र माओवादीबिचको विभाजन र पुनःएकताको क्रमले जनतामा आशा जगायो, तर हरेक पटक त्यो आशा सत्ताको सौदाबाजीमा टुङ्गियो ।
वाम आन्दोलनको मूल उद्देश्य समाज रूपान्तरण र समानताको जग बसाल्ने थियो । भ्रष्टाचारको अन्त्य र समुन्नत राष्ट्र निर्माण गर्नु थियो तर यो यात्रामा नेतृत्व र नेताहरूले विचारभन्दा स्वार्थ र पारिवारिक नातालाई प्राथमिकता दिए । परिणामस्वरूप नेपालको कम्युनिस्ट आन्दोलन नै पतनको दिशामा पुग्यो ।
पछिल्लो घटना क्रमलाई हेर्ने हो भने विशेषगरी केपी शर्मा ओली नेतृत्वको सरकारले सत्ताको दुरुपयोग गर्नाले कम्युनिस्ट आन्दोलनको लोकप्रियता मात्र घटाएन यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विसर्जनको मुखसम्म पुर्याई दियो । अघिल्लो पटकको संसद् विघटन होस् वा पटक–पटक संवैधानिक विवाद, न्यायिक स्वतन्त्रतामा हस्तक्षेप, पार्टीभित्रको सत्तासम्बन्धी निर्णयले अन्ततः जनतामा असन्तोष नै बढायो । जुन जेनजी आन्दोलनको बीउ बन्यो ।
जब वाम आन्दोलन जनभावनासँग जोडिन्छ, तब परिवर्तन सम्भव हुन्छ । तर जब वाम शक्ति सत्ताको संरचनाभित्र हराउँछ, त्यो अन्ततः पतन उन्मुख हुन्छ ।
अन्तर्राष्ट्रिय स्तरमा पनि वाम आन्दोलन सोभियत सङ्घको पतनसँगै सकिने अवस्थामा पुग्यो तर ल्याटिन अमेरिकामा ‘पिङ्क टाइड’ ले पुनः समाजवादी लहर सिर्जना गर्दा संसारभरि उत्साह सिर्जना गर्यो । क्युबाको आत्मनिर्भरता, बोलिभिया र चिलीको जनकेन्द्रित वाम पुनरागमनले विश्वलाई नयाँ ठाउँमा ध्रुवीकरण गर्यो ।
जब वाम आन्दोलन जनभावनासँग जोडिन्छ, तब परिवर्तन सम्भव हुन्छ । तर जब वाम शक्ति सत्ताको संरचनाभित्र हराउँछ, त्यो अन्ततः पतन उन्मुख हुन्छ ।
नेपालको सन्दर्भमा अहिले उठेको जेनजी आन्दोलन त्यही चेतनाको नयाँ स्वरूप हो । यो आन्दोलनलाई केवल सामाजिक सञ्जाल र सरकारप्रतिको आक्रोशका रूपमा मात्रै बुझ्न मिल्दैन । यो पुरानो राजनीतिक चरित्रप्रति उठेको विद्रोह पनि हो । अहिलेको पुस्ता नारा होइन, परिणाम चाहन्छ । पारदर्शिता, जवाफदेहिता र अवसरको माग गर्दै सडकमा उत्रिएका हुन् उनीहरू ।
उनीहरूलाई दलका घोषणापत्र होइन, व्यवहारको अपेक्षा छ । त्यसकारण वाम दलहरूले यो पुस्ताको भावना बुझ्न सकेनन् भने आन्दोलन इतिहासको अवसानतिर धकेलिने निश्चित छ । वर्तमान वाम एकताले इतिहासका गल्तीहरूबाट सिक्नुपर्छ । यो एकता केवल निर्वाचनको तयारी हो भने यसको अर्थ शून्य हुनेछ ।
वाम आन्दोलन केवल राजनीतिक अभियान होइन, यो समानता, न्याय र स्वतन्त्रताको दर्शन हो । यही दर्शनलाई व्यवहारमा उतार्ने क्षमताले नै वाम एकताको भविष्य तय गर्नेछ ।
तर यसले समाज रूपान्तरणको लक्ष्यलाई पुनर्जीवित गर्दै, नयाँ पुस्ताको भावनालाई आत्मसात् गर्न सक्यो भने नेपालमा नयाँ वाम युगको सुरुवात हुन सक्छ । अब वाम दलहरूले जनताको आँखा छल्ने होइन, जनताको आँखामा बिझाउने, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने र प्रविधि तथा सीपमा आधारित सफलताको सम्भावना खोजी गर्ने दिशामा अघि बढ्नुपर्छ ।
वाम आन्दोलन केवल राजनीतिक अभियान होइन, यो समानता, न्याय र स्वतन्त्रताको दर्शन हो । यही दर्शनलाई व्यवहारमा उतार्ने क्षमताले नै वाम एकताको भविष्य तय गर्नेछ ।
यो एकताले जेनजी आन्दोलनको मूल भावनालाई आत्मसात् गर्दै नयाँ सामाजिक दिशा दिन सक्यो भने वास्तविक परिवर्तनको सुरुवात हुनेछ । अन्यथा विगतका अनेकौँ फुट र सम्झौता जस्तै, इतिहासको अर्को क्षणिक अध्यायमा वाम एकता सीमित भएर हराउनेछ ।


अकबरे

प्रतिक्रिया दिनुहोस