ताप्लेजुङमा एमालेका २ नेता पार्टीबाट निलम्बन, जिम्मेवारीबाट मुक्त
निलम्बन र कारबाहीमा परेका उनीहरूलाई पार्टीले यसअघि पनि कारबाही गरेको थियो ।
ताप्लेजुङ । नेकपा एमाले ११औं राष्ट्रिय महाधिवेशनमा होमिएको छ । देश भरी एकैसाथ गत शनिवार प्रतिनिधि छनौट सम्पन्न गरी आउँदो मंसिर २७ देखि २९ गते सम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारीमा पार्टी जुटेको हो । अधिकांश ठाउँमा प्रतिनिधि छनौट सर्वसम्मत भएका छन् भने केही ठाउँमा निर्वाचनबाट नै प्रतिनिधि निर्वाचित बनेका छन् ।
उता नेकपा एमाले ताप्लेजुङले पनि प्रतिनिधि छनौट सर्वसम्मत रूपमा छनौट सम्पन्न गरेता पनि २ नेतालाई कारबाही गरेको छ ।
कोशी प्रदेश कमिटीले कोसी प्रदेश सल्लाहकार परिषद् सदस्य बलबहादुर साम्सोहाङ र कोसी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमुलाई पार्टीबाट निलम्बन गरेको हो । साथै उनीहरूलाई जिम्मेवारीबाट पनि मुक्त गरेको परिपत्र गरिएको छ ।
निलम्बन गरिएको पत्रमा भनिएको छ, ‘ताप्लेजुङ जिल्ला कमिटीको मिति २०८२ मंसिर ६ गतेको पत्र अनुसार ११औ महाधिवेशन प्रतिनिधि छनौटको निर्वाचन प्रक्रियाको क्रममा कोसी प्रदेश कमिटी सदस्यता तथा निर्वाचन कमिटी संयोजक क. राजकुमार चुडालमाथि गरेको साङ्घातिक हमला र निर्वाचन प्रक्रियामा अबरोध खडा गर्ने काम गर्नु भएको हुनाले सम्बन्धित जिल्ला कमिटीबाट कारबाहीको सिफारिस भई आएको हुँदा तपाईँलाई प्रदेश पर्यटन विभागको सचिव पदबाट मुक्त गर्दै १५ दिन भित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन गरिएको छ । उक्त अवधि सम्मको लागि तपाईँको सदस्यता समेत निलम्बन गरिएको छ ।’
परिपत्रमा अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेका छन् । निलम्बन र कारबाहीमा परेका उनीहरूलाई पार्टीले यसअघि पनि कारबाही गरेको थियो ।



प्रतिक्रिया दिनुहोस