उपरदाङगढीमा टेकमाइण्ड नेटवर्कद्वारा निःशुल्क वाइफाइ सेवा सुरु
रत्ननगर ।
चितवनको ऐतिहासिक र ऐतिहासिक महत्व बोकेको किल्ला उपरदाङगढीमा टेकमाइण्ड नेटवर्क प्रा.लि.ले निःशुल्क (फ्रि) वाइफाइ सेवा सुरु गरेको छ।
गढी अवलोकनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको कम्पनीका पूर्वी चितवन प्रमुख यमन भूषालले जानकारी दिए।
बिहीबार उपरदाङगढीमा आयोजित औपचारिक समारोहमा इच्छाकामना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बमबहादुर थापा मगरले वाइफाइ सेवाको उद्घाटन गरेका थिए।
कार्यक्रममा बोल्दै वडाध्यक्ष थापा मगरले लामो इतिहास बोकेको उपरदाङगढी प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउँदै भने,
“टेकमाइण्ड नेटवर्कले सुरु गरेको यो निःशुल्क वाइफाइ सेवाले गढीको ऐतिहासिक तथा पर्यटकीय महत्त्व उजागर गर्न र यसको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्नेछ।”
कम्पनीका पूर्वी चितवन प्रमुख भूषालले भने,
“संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत हामीले ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल उपरदाङगढीमा निःशुल्क वाइफाइ सेवा सञ्चालन गरेका हौं। यस सेवाबाट पर्यटक, विद्यार्थी, आगन्तुक र स्थानीय बासिन्दाहरूले ‘TechMind_FreeWiFi’ नेटवर्कमार्फत निःशुल्क इन्टरनेट उपभोग गर्न सक्नेछन्।”
उनका अनुसार, टेकमाइण्ड नेटवर्कले सन् २०५८ सालमा भरतपुर, चितवनमा स्थापना भएदेखि नै गुणस्तरीय फाइबर इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। हाल कम्पनीले ७० जिल्लाका करिब १ लाख ५० हजार घरपरिवारमा सेवा विस्तार गरेको जनाएको छ।
भूषालले थपे,
“हाम्रो उद्देश्य केवल प्रविधि पुर्याउने मात्र नभई, इन्टरनेटमार्फत स्थानीय पर्यटन, शिक्षा र सूचना पहुँचमा योगदान पुर्याउनु पनि हो। उपरदाङगढीमा सुरु गरिएको यो सेवा त्यस दिशामा हाम्रो एउटा महत्वपूर्ण कदम हो।”
कार्यक्रममा स्थानीय सरोकारवाला, पत्रकार, पर्यटन व्यवसायी, लालीगुराँस होमस्टेका सञ्चालक दिनेश श्रेष्ठ, र जंगल भिष्टाका सञ्चालक रमेश सिलवाल लगायतको उपस्थिति रहेको थियो।
टेकमाइण्ड नेटवर्कले निकट भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।


अकबरे
प्रतिक्रिया दिनुहोस