मासिक कथावाचन कार्यक्रमको २३ औँ शृङ्खला सम्पन्न

अकबरे
२६ कार्तिक २०८२, बुधबार

काठमाडौँ । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत सञ्चालित मासिक कथा वाचन कार्यक्रमको तेइसौं शृङ्खला २०८२ असोज ३१ गते सम्पन्न भएको छ। हरेक महिनाको अन्तिम शुक्रबार आयोजना हुने यस कार्यक्रमको उद्देश्य कथा विधाप्रति पाठकको रुचि जगाउनु र यसको विकासबारे चिन्तन गर्नु रहेको अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले बताए।

कार्यक्रमको सुरुवातमा दिवंगत स्रष्टा भीमनिधि तिवारीको ‘चखेवा चखेवी’ कथा वाचन गरियो। त्यसपछि नियात्राकार निर्मोही व्यास, स्रष्टा इन्दिरा प्रसाई, कथाकार बाबा न्यौपाने र मानसीले आफ्ना कथा वाचन गरेका थिए।

समीक्षक प्रा. डा. भरतकुमार भट्टराई र प्रमोद प्रधानले वाचित कथाहरूमाथि संक्षिप्त टिप्पणी गरे। अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले पत्रकारिताको अनुभव सुनाउँदै दौलत विक्रम बिष्टको कथा छापेबापत जेल जानुपरेको स्मरण गरे।

उपन्यासकार शुकदेव उपाध्यायले सञ्चालन गरेको यो मासिक कार्यक्रम लोहनीको निवासमा हुँदै आएको छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI