आउनुस्, योगेश भट्टराईलाई यसरी चिनौं

ईश्वर पोखरेल समूहलाई सक्रिय रूपमा परिचालन उपमहासचिवमा निर्वाचित योगेश भट्टराईले नै गरेका थिए ।

अकबरे
३ पुष २०८२, बिहिवार

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा ओलीको टिमलाई चुनौती दिने दुई नेता गोकर्ण विष्ट र योगेश भट्टराई विजयी भए । विष्ट उपाध्यक्षमा र भट्टराई उपमहासचिवमा निर्वाचित भएका हुन् ।

पार्टीभित्रको विपक्षी टिम अर्थात् ईश्वर पोखरेल प्यानलबाट पदाधिकारीमा जित हासिल गर्ने यिनै दुई नेताले एमालेभित्रको फरक मत र प्रतिपक्षी साखलाई जोगाउन सफल भएका छन् ।

महाधिवेशनको सबैभन्दा चर्चा र अर्थपूर्ण नतिजा उपमहासचिव पदमा देखियो । किनकी ईश्वर पोखरेल समूहलाई सक्रिय रूपमा परिचालन उपमहासचिवमा निर्वाचित योगेश भट्टराईले नै गरेका थिए ।

अध्यक्ष ओलीका राजनीतिक सल्लाहकार एवं ‘किचन क्याबिनेट’का सबैभन्दा शक्तिशाली मानिने विष्णु रिमाललाई पछाडि पार्दै योगेश भट्टराई उपमहासचिवमा निर्वाचित भए ।

१०औँ महाधिवेशनबाट सचिव बनेका भट्टराईले यसपटक उपमहासचिवमा १ हजार ३ सय ४८ मत ल्याएर जित हासिल गरे । अनेरास्ववियुको पृष्ठभूमिबाट उदाएका भट्टराईले यो जितसँगै आफू नेतृत्वको आशीर्वादले नभई कार्यकर्ताको मायाले स्थापित भएको सन्देश दिएका छन् ।

अब आउनस् योगेश भट्टराईलाई अझै नजिकबाट चिनौं ।
२०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (हाल मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिएका योगेशमा बाल्यकालदेखि नै विद्रोही स्वभाव थियो । गाउँकै नारायणी निमाविमा ७ कक्षासम्म पढेपछि उनी माध्यमिक शिक्षाका लागि संखुवासभाको मादी मावि पुगे ।

समय २०३६ सालतिर देशमा विद्यार्थी आन्दोलनको रापताप बढ्दै थियो । त्यही रापले किशोरावस्थाका भट्टराईलाई पनि छोयो । २०३७ चैत १४ गते पञ्चायती व्यवस्थाविरुद्ध अनेरास्ववियुले गरेको नेपालकै पहिलो ऐतिहासिक आमहडताल सफल पार्न उनी होमिए । त्यही बिन्दुबाट उनको संगठित राजनीतिक यात्राको श्रीगणेश भयो ।

एसएलसीपछि २०४० सालमा उच्च शिक्षाका लागि काठमाडौँ छिरेका योगेश महेन्द्ररत्न क्याम्पस ताहाचलमा भर्ना भए । पञ्चायती व्यवस्थाको क्रूर समयमा राजनीति गर्नु चानचुने कुरा थिएन । कलिलो उमेरमै राज्यसत्ताको आँखामा परेका उनी १८ वर्षकै उमेरमा काठमाडौँको केन्द्रीय कारागारमा थुनिए । तर, जेल पर्खालले उनको हौसला तोड्न सकेन ।

उल्टै २०४१ सालमा उनी महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा अत्यधिक मतले सभापति निर्वाचित भए । आन्दोलनको मोर्चा सम्हाल्दा सम्हाल्दै उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तरसमेत पूरा गरे ।

२०४६ सालको जनआन्दोलनमा योगेश अग्रमोर्चामा थिए । आन्दोलनको तयारी चलिरहँदा फागुन ६ गते राति उनी पक्राउ परे । त्यतिबेलासम्म उनी अखिलको केन्द्रीय सदस्य भइसकेका थिए । संगठनभित्र उनको छलाङ लोभलाग्दो रह्यो । केन्द्रीय सदस्य, कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव, महासचिव हुँदै उनी २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको अध्यक्ष बनेर विद्यार्थी आन्दोलनको नेतृत्व गरे ।

योगेश भट्टराईलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने अर्को महत्त्वपूर्ण मोड २०५५ सालको ‘काठमाडौँ–कालापानी मार्च’ हो । भारतीय सीमा अतिक्रमणविरुद्ध उनले काठमाडौँदेखि दार्चुलाको कालापानीसम्मको ऐतिहासिक मार्चपासको नेतृत्व गरे ।

पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हुँदै कालापानीसम्मको सीमा सुरक्षा अभियानको अगुवाइ गरेर उनले आफ्नो राष्ट्रवादी छविलाई झन् अग्लो बनाए । एमाले २०५४ सालमा फागुन २१ गते विभाजन भएर बामदेव गौतमको नेतृत्वमा माले पार्टी बन्दा उनी विभाजनकै पक्षमा लागेका थिए । २०५८ सालमा एमाले र माले एकतापछि उनी फेरि एमाले बने । माले बन्दाताका पनि भट्टराई माधव नेपाल, केपी शर्मा ओलीको आलोचक नै थिए ।

२०६२/६३ को जनआन्दोलनमा एमालेको काठमाडौँ उपत्यका कमिटी सचिवका रूपमा उनले आन्दोलनको संयोजन र परिचालनमा ‘कमान्डर’को भूमिका निर्वाह गरे । त्यसको कदरस्वरूप २०६५ फागुनमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भए ।

संसदीय राजनीतिमा भने उनले सुरुमा धक्का खाए । काठमाडौँ क्षेत्र नम्बर ६ बाट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा उनी पराजित भए । तर २०७४ सालको आम निर्वाचनमा गृहजिल्ला ताप्लेजुङ फर्किएर उनले सानदार जित हासिल गरे । त्यसपछि २०७६ साउनमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न सफल भए ।

पुनः २०७९ मंसिर ४ को आम निर्वाचनमा ताप्लेजुङबाटै निर्वाचित भएर उनले आफूलाई जनताको नेताका रूपमा प्रमाणित गरेका छन् ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI