एसियन गेम्स, एलए ओलम्पिक र वर्ल्ड युथ गेम्सका खेलाडीलाई छात्रवृत्ति
स्कलरसिपअन्तर्गत प्रत्येक खेलाडीले १,१२५ अमेरिकी डलर प्राप्त गर्ने बताइएको छ ।
काठमाडौं । नेपाल ओलम्पिक कमिटीले ओलम्पिक २०२८, एसियन गेम्स २०२६ तथा डकार वल्र्ड युथ गेम्स २०२६ मा सहभागी हुने नेपाली खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै छात्रवृत्ति प्रदान गरेको नेपाल क्लाईम्बिङ स्पोर्ट एसोशिएसनका महासचिव सन्तोष मादेनले जानकारी दिए ।

अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८ का लागि ओलम्पिक स्कलरसिप पाउने खेलाडीहरूमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता प्रधान श्रेष्ठ, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिभाली गुरुङ, स्पोट्र्स क्लाइम्बिङका तेन्जिङ राई र स्वीमिङका अर्विन श्रेष्ठ र छन् ।
तेन्जिन राई संघको बार्षिक हुने राष्ट्रिय प्रतियोगिताका नेशनल पोडियम होल्डर समेत हुन् । उक्त स्कलरसिपअन्तर्गत प्रत्येक खेलाडीले १,१२५ अमेरिकी डलर प्राप्त गर्ने बताइएको छ ।
यस्तै जापानको आयची नागोयामा हुने एसियन गेम्सका लागि आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुष्मिता तामाङलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ ।

सेनेगलमा हुने डकार वल्र्ड युथ गेम्स २०२६ का लागि उसुकी रश्मी तामाङलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ ।
नेपाल ओलम्पिक कमिटी, स्कलरसिप पाउने खेलाडी तथा सम्बन्धित संघका अध्यक्ष-महासचिवबीच ओलम्पिक स्कलरसिप सम्झौतामा हस्ताक्षर भएको छ ।
ओलम्पिक सोलिडारिटी अन्तर्गत प्रदान गरिएको यो स्कलरसिप २०२५ सेप्टेम्बर १ देखि लागू हुनेछ र सम्बन्धित प्रतियोगिताको तयारीका लागि प्रयोग गरिनेछ ।



अकबरे
प्रतिक्रिया दिनुहोस