विभागद्वारा निगमसँग ग्याससम्बन्धी विस्तृत विवरण माग
काठमाडौं – बजारमा दुई महिनादेखि ग्यास अभाव बढ्दै गएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग ग्याससम्बन्धी विस्तृत विवरण मागेको छ।
मंगलबार विभागले ग्यासको माग, आपूर्ति, उद्योग संख्या र अभावको कारणबारे जानकारी पेश गर्न निगमलाई अनुरोध गरेको हो।
विभागका निर्देशक तथा सूचना अधिकारी नरहरि तिवारीका अनुसार अभाव समाधानका लागि मंगलबार विभागमा विभिन्न चरणमा बैठक बसेको थियो। बैठकपछि निगमसँग गत एक वर्षको मासिक माग र आपूर्तिको विवरण माग गरिएको छ।
तिवारी भन्छन्, “हामीले उद्योगको संख्या, उनीहरूलाई दिइएको पीडीओ, काठमाडौंको माग–आपूर्ति विवरण र मासिक आपूर्तिको तथ्यांक मागेका छौं।”
उनी थप्छन् कि बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित बैठक बस्नेछ। बैठकमा हालको संकट समाधानका लागि ठोस कार्ययोजना सहित निगमलाई उपस्थित हुन भनिएको छ। निगमलाई विशेष रूपमा संकट व्यवस्थापन योजना पेश गर्न निर्देशन दिइएको छ।
यसैबीच ग्यासको कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्न विभागले अनुगमन कडा बनाएको छ। तिवारीले भने, “विभाग र आयल निगम दुवैको टोली अनुगमनमा खटाइएको छ। बढी मूल्य लिनेविरुद्ध कारबाही गर्न टोली परिचालित भइसकेका छन्।”
उनका अनुसार निगमले बजारमा आपूर्तिमा समस्या नरहेको बताएको भए पनि अनुगमनबाट अभाव देखिएको छ। उपभोक्ताबाट ग्यास नपाएको गुनासो बढेपछि विभागले सक्रियता बढाएको हो।


अकबरे
प्रतिक्रिया दिनुहोस